भरतपुर, २८ फागुन ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को जापान सरकारलाई निम्तो दिएकी छन् । भरतपुर महानगरपालिका र जापानको योकोसुका सहरबीच भगिनी सम्बन्ध स्थापना कार्यक्रमसहित सप्ताहव्यापी जापान भ्रमणमा रहेकी प्रमुख दाहालले यो अभियानमा सहभागी हुन गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानमार्फत जापान सरकारलाई निम्तो दिएकी हुन् ।
जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेको रात्रीभोज कार्यक्रममा भरतपुर भ्रमण वर्षबारे प्रमुख दाहालले प्रकाश पारेकी थिइन् ।
भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ अभियान घोषणा गरेको छ । ‘संरक्षणको लागि पर्यटन, पर्यटनको लागि भरतपुर’ भन्ने नारासाथ आयोजना गरिने कार्यक्रममा एनआरएनए जापान र अन्य राष्ट्रमा रहेका नेपाली र गैरनेपालीलाई सहभागिता तथा पर्यटकहरुलाई भ्रमण वर्षको प्रवद्र्धन गर्न मेयर दाहालले आह्वान गरिन् ।
भरतपुर महानगरपालिका अनुपम प्राकृतिक सौन्दर्यले सम्पन्न, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण मध्यनेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको बताउँदै प्रमुख दाहालले अभियानलाई सफल बनाउन आवश्यक प्रचारप्रसार, समन्वय र सहकार्यका लागि अपिल समेत गरिन् ।
भरतपुर महानगरपालिकामा विमानस्थल, रिङरोड, लिङ्करोड, हुलाकीमार्ग, पूर्वपश्चिम राजमार्ग, सिटीहल, होटल र रिसोर्टहरु स्तरोन्ति भइरहेको छ ।
महानगरमा पर्यापर्यटन, वन्यजन्तु पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, सभा–सम्मेलन पर्यटन आदिको विकास भइरहेको छ । पर्यटनमा महानगरपालिकालाई प्रमुख ७ गन्तव्यसहित ३० वटा पर्यटकीय गन्तव्यहरु छनोट गरिएको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ मा दुई लाख जना बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । कार्यक्रममा नेपाल सरकारका ५ वटा मन्त्रालयका कर्मचारी र नेपालका अन्य स्थानीय तहका प्रमुख तथा राजनैतिक प्रतिनिधिसँग भ्रमण वर्षलाई सफल बनाउनेबारे छलफल गरिएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, वाईसिएल नेपालका ईन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य अर्जुन पाठकको उपस्थिति रहेको थियो ।