भरतपुर, २४ फागुन
बहत्तर, बारपाक र विपद् विस्मृतिमा बिलाउँदैनन् । कारण २०७२ साल वैशाख १२ गते बिहान ११ः५६ बजे देशै हल्लाउने गरी आएको भूकम्पको केन्द्रबिन्दु हो बारपाक । त्यही बारपाकमा मंगलबार बिहान विपद्माथि विमर्श गरिएको छ ।
भरतपुर महानगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ चितवन शाखाकोे संयोजनमा भएको कार्यक्रममा अग्रज पत्रकार दीपक आचार्यले विपद्बाट जोगिने उपायका बारे बोलेका थिए । आचार्यले विपद्का बेला पत्रकारहरुबाट रिपोर्टिङ राम्रैसँग हुने गरे पनि विपद्पूर्व र विपद्पछि भने यथेष्ट रिपोर्टिङ हुन नसकेको बताए । स्थानीय पर्यटन व्यवसायी जीतबहादुर घलेले भूकम्पले पारेको असर र पर्यटनबारे जानकारी गराएका थिए ।
६ दिनमा ३ भ्रमण
नेपाल पत्रकार महासंघ चितवन शाखाले ६ दिनको अवधिमा तीन वटा भ्रमणसँगै सात वटा कार्यक्रम सम्पन्न गरेको छ । महासंघका सदस्यका लागि काठमाण्डौं, पोखरा र गोरखा भ्रमणका क्रममा सात वटा कार्यक्रम गरिएको हो ।
महासंघले फागुन १८ र १९ गते काठमाण्डौं र धुलिखेलमा युवा पत्रकारहरुका लागि भ्रमणसँगै अन्तक्र्रिया कार्यक्रम गरेको थियो । फागुन १९ र २० गते महिला पत्रकारका लागि पोखरा र कास्कीको धम्पुसमा भ्रमणसँगै अन्तक्र्रिया कार्यक्रम भयो । जिल्लाका अग्रज पत्रकारहरुका लागि गोरखाको बारपाक, भच्चेक, अजिरकोट, लिगलिगकोट लगायतका क्षेत्रमा भ्रमण एवं अन्तक्र्रिया गरियो ।
युवा पत्रकारहरुको संयोजन गरेका महासंघका सचिव दीपेन्द्र अधिकारीका अनुसार काठमाण्डौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी सहितको उपस्थितिमा महानगरपालिकामा विकास र सञ्चार सम्बन्धी अन्तरक्रिया गरिएको थियो ।
सोही टोलीले धुलिखेलमा पत्रकार आचारसंहिता सम्बन्धी अन्तक्र्रिया गरेको छ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, महासंघ काभ्रे शाखा अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा चितवन र काभ्रेका पत्रकारसँग अन्तरक्रिया गरिएको हो ।
सचिव अधिकारीका अनुसार पत्रकारको टोलीले राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नागरिक दैनिकको कार्यालय अवलोकन गरी प्रकाशन र प्रसारण प्रक्रियाका बारेमा जानकारी लिएको थियो । टोलीमा ३२ जना क्रियाशील पत्रकार सहभागी थिए ।
कास्कीमा महिला टोली
पत्रकार महिलाहरुको भ्रमण संयोजक महासंघकी उपाध्यक्ष प्रमिता ढकालका अनुसार टोलीले पोखरा महानगरपालिकाको अवलोकन र अध्ययन गरेको थियो । महासंघको कास्की शाखाको आतिथ्यमा प्रविधिमैत्री सञ्चारमा महिलाको भूमिका विषयक कार्यक्रममा सहभागी भएको थियो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री हरिबहादुर चुमानको उपस्थितिमा कास्की शाखा अध्यक्ष विमला भण्डारी, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।
टोलीले माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधिसँग पर्यटन सम्बन्धी अन्तरक्रिया समेत सम्पन्न गरेको उपाध्यक्ष ढकालले जानकारी दिइन् । यससँगै कास्की जिल्लाका पर्यटकीय गन्तव्यहरुमा महासंघको टोलीले अध्ययन अवलोकन गरेको थियो । टोलीमा २९ जना सहभागी थिए ।
भेटेरान टोली बारपाकतिर
अग्रज पत्रकारहरुको भ्रमण संयोजन गरेका महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीका अनुसार फागुनको २२ र २३ गते गोरखाका विभिन्न पर्यटकीय गन्तव्यहरुको अवलोकन र अन्तक्र्रिया गरिएको छ । उनका अनुसार सुलिकोट बारपाक गाउँपालिकासँग त्यहाँको पर्यटन सम्बन्धी अन्तक्र्रिया गरिएको छ । पालिकाको कार्यालयमा आयोजित अन्तरक्रियामा पालिका अध्यक्ष विष्णु भट्टले त्यहाँको पर्यटकीय, ऐतिहासिकसँगै विकासका बारेमा जानकारी गराएका थिए ।
टोलीले अजिरकोट गाउँपालिकाको भच्चेकमा पर्यटकीय गतिविधिबारे अन्तरक्रिया गरेको थियो । पालिका अध्यक्ष दीपक देवकोटाले त्यहाँको पर्यटकीय महत्व र पालिकाले गरेका कार्यहरुका बारेमा प्रकाश पारेका थिए । यससँगै ऐतिहासिक लिगलिगकोटको अवलोकन समेत गरिएको उपाध्यक्ष ज्ञवालीले जानकारी दिए ।
गोरखाको अध्ययन कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले सहजीकरण गरेका थिए । भ्रमणमा महासंघ चितवनका पूर्वअध्यक्षहरुसहित अग्रज पत्रकारको उपस्थिति रहेको थियो ।
महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर कार्यक्रम गरिएको बताए । काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, कास्कीको माछापुच्छ्रे गाउँपालिका, गोरखाको सुलिकोट बारपाक गाउँपालिका, अजिरकोट गाउँपालिका र चितवनको ईच्छाकामना गाउँपालिकाले पनि सहयोग गरेको उनले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ केन्द्र, काभ्रे शाखा, कास्की शाखा र गोरखा शाखाले पनि यो अध्ययन अवलोकन कार्यक्रममा सहकार्य गरेको अधिकारीले बताए । अध्यक्ष अधिकारीका अनुसार शाखाका सबै सदस्यका लागि पहिलोपटक यस किसिमको कार्यक्रम गरिएको हो । यसले पत्रकारहरुलाई क्षमता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।