भरतपुर, २४ माघ
राष्ट्रगुरु योगी नरहरिनाथका उत्तराधिकारी एवम् गोरक्षपीठका पिठाधीस श्रीषनाथले नारायणी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञलाई १३०औँ शृङ्खलाको महायज्ञको मान्यता दिएका छन् । नरहरिनाथले १२९औँ शृङखलासम्मको कोटिहोम गरेका थिए । उनको देहावसान भएको १९ वर्षपछि भएको कोटिहोम महायज्ञलाई नरहरिनाथकै १३०औँ शृङ्खलाको महायज्ञको मान्यता दिइएको हो ।
माघ १२ गतेदेखि भएको कोटिहोम महायज्ञको तेस्रो पटक निरीक्षणपछि महायज्ञको संरक्षकसमेत रहेका श्रीषनाथले उक्त मान्यता दिएका हुन् । मान्यता दिनुअघि उनले महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेय, महायज्ञको संकल्पकर्ता प्रेमनिधि भारद्वाज, यज्ञाचार्य नारायणप्रसाद पोख्रेललगायतसँग अन्तर्वार्ता लिएका थिए ।
‘योगी नरहरिनाथले १२९औँ शृङ्खलामा पुगेको महायज्ञलाई अगाडि बढाउने संकल्प लिनुभएको थियो । उहाँको उत्तराधिकारी श्रीषनाथ गुरुजीको घोषणापछि कोटिहोम महायज्ञको १३०औँ शृङ्खलाको मान्यता पाएको छ’, कथा वाचक परशुराम पाण्डेयले भने । बाँकी शृङ्खलाको आयोजना गर्न पनि श्रीषनाथ गुरुजीले प्रेमनिधि भारद्वाजलाई जिम्मा दिएका छन् ।
महायज्ञमा मंगलबार महायज्ञका संरक्षक एवम् व्यासाचार्य किशोरकुमार गौतमले प्रवचन दिएका थिए भने पण्डित चन्द्रमणि कँडेल, चेतराज कँडेल, वक्ता रामानुजदास सन्तोषजीलगायतले महायज्ञको निरीक्षण गरेका थिए । महायज्ञका प्रमुख संरक्षक एवम् सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले बुधबार महायज्ञको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । चर्चित गायक सशान कँडेलले प्रस्तुति दिने बताइएको छ ।
महायज्ञ फागुन १२ गते सम्पन्न हुनेछ । महायज्ञको अन्तिम दिन एक करोड ४९ लाख ८५ हजार बत्ती प्रज्ज्वलन गरिने महायज्ञ संयोजक एवम् श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाजले जानकारी दिए ।