पार्टी स्थापना गरेको ६ महिना नपुग्दै निर्वाचनमा सहभागी भएर अकल्पनीय नतिजा हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलनमा अभिव्यक्त गरेका केही कुरा विशेषगरी मिडियामाथिको विषवमन आपत्तिजनक छ ।
सञ्चारमाध्यममा आएका समाचार भ्रामक र असत्य भए सम्बन्धित समाचारमाध्यममा नै खण्डन पठाउन सकिने, खण्डनको सम्बोधन नभए प्रेस काउन्सिलमा उजुरी दिन सकिने र त्यस्तो उजुरीमाथि चित्तबुझ्दो कामकारवाही नभए अदालत पुग्न सकिने नियमसंगत बाटाहरु हुँदाहुँदै धम्कीको भाषा बोल्नु देशको एक राष्ट्रिय पार्टीका शीर्ष नेतालाई सुहाउने कुरा पटक्कै होइन । आफूविरुद्ध प्रमाण नै नपुर्याई समाचार छापे हुल लिएर मिडिया घेर्न आउँछु भनेर दिइएको धम्की संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति हो । रास्वपा अध्यक्ष रविले आफ्नो त्यस्तो अभिव्यक्ति तुरुन्त फिर्ता लिई सच्याउनु पर्छ ।
हिजो टेलिभिजन क्यामेराअघि उभिएर ‘नाकको डाँडी भाँचिने गरी किक हान्छु’ भन्नेले आज ‘देश चलाउने मिडियाले होइन, नेताले हो’ भनेको सुहाएन । अमेरिकी पासपोर्ट नत्याग्दै नेपाली पासपोर्ट लिएको तथ्य आफैँले स्वीकारेपछि मिडियामा आएको कुन समाचारचाहिँ तथ्यहीन भयो ? गोलमटोल तरिकाले उत्तेजित अभिव्यक्ति दिन अब रविलाई सुहाउँदैन । मिडियामा खोक्रो फुलाएर कराएजस्तो होइन राजनीति गर्नु । राजनीति गर्नेले संयमित हुन सक्नुपर्छ । आफ्नै कमजोरीका कारण कानुनी अधिकार नरहेको नागरिकता बोकेर चुनाव जिती आर्जेको सांसद पदसमेत खारेज भएर छोड्न बाध्य गृहमन्त्री पदमा कैयौं विवादको निरुपण नहुँदै गैह्रसांसदकै रूपमा आफैँ जान मरिहत्ते गर्ने अनि नपाएपछि सरकार छोड्ने मान्छेविरुद्ध कुन समाचार तथ्यहीन भयो ? रविले संयमित भएर यसको जवाफ दिनुपर्छ ।
रास्वपा सभापति रविमाथि अरु पनि प्रश्न तेर्सिएका छन् । हिजो सञ्चारकर्मी हुँदा सबै आरोपको छिनोफानो टेलिभिजनबाटै तुरुन्तै गर्ने मान्छेलाई आजै मिडिया यति गलत र पूर्वाग्रही किन लाग्यो ? आफू सञ्चारकर्मी नै भइरहेको बेला कुनै नेता अदालतको आदेशबाट यति पाताल पुगेको भए र राहदानी दुरुपयोगको गम्भीर आरोपको घेरामा भएको भए टेलिभिजनको पर्दामा रवि कति धेरै उफ्रिन्थे होलान् ? हिजो चुनावको बेला ‘रविलाई एकचोटि हेरौँ, काम गर्ने अवसर दिऔँ’ भन्ने धेरैलाई लागेको हो । त्यसैले त उनले सानदार जित हासिल गरे । तर, रवि र रविहरूले देशको हितमा केही काम गर्लान् भन्ने आशाबाट यति छिट्टै निराश हुनुपर्ला भन्ने मतदातालाई लागेको थिएन । यिनीहरू सरकारमा जानु नै गलत थियो । अहिले पनि ‘गलत रहेछ’ भन्ने लागेर सरकारबाट फिर्ता भएका होइनन्, खोजेको भाग नपाएर हो ।