भरतपुर, १९ माघ ।
वसन्त पराजुली र आनन्द पोखरेल सम्मानित भएका छन् । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान ४०० औँ हप्ता पुगेको अवसरमा एक कार्यक्रम गरी पराजुली र पोखरेललाई सम्मान गरेको हो ।
समाचारका माध्यमबाट वातावरणीय सुधार र नदी सरसफाइका क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै पराजुली र पोखरेललाई सम्मान गरिएको हो । कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पराजुली र पोखरेललाई सम्मान गरेका हुन् ।
पराजुली गोरखापत्र दैनिकमा लामो समयदेखि समाचारदाताको रूपमा काम गर्दै आएका छन् भने पोखरेल राष्ट्रिय समाचार समितिका स्थानीय संवाददाता हुन् ।
चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको राप्ती नदी सरसफाइमा अभियानले चार सय हप्ता पूरा गरेको छ । यो अवधिमा अभियानले नदी सरसफाइ गर्दै जलचरको संरक्षणमा विशेष पहल गरेको अभियानका अध्यक्ष अपिल घिमिरेले जानकारी दिए ।
सो अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले नदी तथा सिमसार क्षेत्रले जैविक विविधता र वन्यजन्तुको संरक्षणमा ठूलो टेवा पुगेको बताए ।