२२ कात्तिक।जिल्ला प्रशासन कार्यालयले निर्वाचनमा हतियारको प्रयोग हुनसक्ने भन्दै वैध वा अवैधरूपमा राखिएका सबै हतियार बुझाउन निर्देश गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अवैध हतियार बुझाउने म्याद यही कात्तिक मसान्तसम्मलाई दिइएको भन्दै त्यसपछि हतियार फेला पारे कडा कारबाही गरिने चेतावनी दिनुभयो । जिल्लामा १८७ वटा हतियार दर्ता भएपनि दर्ता नगरी र नवीकरण नगरी हतियार राखिएको भए तत्काल बुझाउन आग्रह गरिएको र अटेर गरेमा हतियार खोजीमा प्रहरी टोली पचिालन गरिने प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
स्थानीय निर्वाचनका बेला चितवनमा २९ वटा हतियार फिर्ता भएकामा दर्ता नभएका भरुवा बन्दुक पाँचवटा थियो । वैध हतिायार फिर्ता गराइएको र अहिलेको निर्वाचनलाई ध्यानमा राखेर पुनः हतियार बुझाउन आह्वान गरिएको थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले जिल्लामा घरेलु मदिरा नियन्त्रण अभियान, गुण्डा नियन्त्रण अभियान र नाका क्षेत्रमा कडा निगरानी थालिएको छ । जिल्लामा १६१ मतदानस्थलमा ४०८ मतदान केन्द्र तोकिएको छ । हरेक स्थलमा अवस्था हेरेर ११ देखि ४९ जनासम्म प्रहरी परिचालन हुने प्रहरीले जनाइएको छ । जसका लागि एक हजार ७०० भन्दा बढी म्यादी प्रहरी र झण्डै तीन हजार ३०० जनपद प्रहरी परिचालन हुनेछन् । नेपाली सेना र सशस्त्र प्रहरी आवश्यकताअनुसार परिचालन हुने प्रहरीले जनाएको छ ।