गैँडाकोट, ८ माघ
श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रमले कोटिहोमस्थल गैंडाकोट–१०, पितौजीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ गर्दैछ । आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेशी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागिएको हो ।
माघ २३ गतेदेखि फागुन १ गतेसम्म कोटिहोम आश्रमको प्रागणमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रमुखवाचकत्वमा महायज्ञ हुने आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कण्डेल (राजु) ले जानकारी दिए ।
वैदिक सनातन धर्म संस्कार, संस्कृति र सभ्यताका अनुसन्धाता ब्रह्मलीन योगी नरहरिनाथले विश्वशान्ति हेतु वि.सं. २०४५ सालमा कोटिहोम महायज्ञ लगाएको यस पवित्र स्थलमा महायज्ञ गर्न लागिएको आश्रमका पीठाधीश योगी खेचरनाथले बताए । उनले महोत्सवमा ५ करोडसम्म आम्दानी र ८० लाख खर्चको अनुमान गरिएको बताए ।
कोटिहोम आश्रमस्थल, धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय, ऐतिहासिक एवं संस्कृत शिक्षामैत्री सामाजिक सम्भावनाले भरिपूर्ण रहेको बताउँदै आयोजक समितिका महासचिव नरहरि सापकोटाले त्यसका लागि सबै जुट्नुपर्ने बताए । सप्ताह ज्ञानमयज्ञको महिमा र आश्रमको सङ्कल्प पूरा गर्न सबैलाई सहयोग गर्न प्रचार–प्रसार उपसमितिका संयोजक देविदत्त कण्डेलले आग्रह गरे ।
पत्रकार सम्मेलनमा उपस्थित पूर्व प्रतिनिधि सभा सदस्य सत्यनारायण खनालले २०५५ सालमा आफू सुकुम्बासी आयोगको जिल्ला अध्यक्ष हुँदा धार्मिक वन बनाउन सफल भएको स्मरण गराएका थिए । गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसीले विगत सम्झँदै कोटिहोमले गुरुकुल सञ्चालन लगायतका कार्यमा फड्को मारेको बताए ।
पत्रकार सम्मेलनमा गैँडाकोटका नगर प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, गैँडाकोट ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदी, १२ का वडा अध्यक्ष चक्रपाणी कँडेल लगायतको उपस्थिति रहेको थियो ।
करिब १० बिघा क्षेत्रफलमा फैलिएको धार्मिक वन क्षेत्रमा कोटिहोम रहेको छ । यहाँ रहेको श्री योगी नरहरिनाथ आध्यात्म विज्ञान गीता पाठशाला (योगी नरहरिनाथ संस्कृत विद्यापिठम्) मा समावेशी २४ जना बटुक आश्रित छन् । आवासीय रूपमा उनीहरुलाई संस्कृत शिक्षा र आधुनिक शिक्षाको समन्वयात्मक शिक्षा निःशुल्क रूपमा प्रदान गरिएको छ ।
कक्षा ६ र ७ मा अध्ययनरत उनीहरुको शिक्षादीक्षा समेत समाजबाट उठेक सिदा वा उत्सवमा आउने भोजनबाट भरणपोषण चल्दै आएको छ । यहाँ ६ जना शिल्पकारसहित मगर, चेपाङ, तामाङ, माझी, ठकुरी, क्षेत्री समुदायका रहेका छन् । श्री सिद्धिदात्री दुर्गामन्दिर कोटिहोम आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठनपाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको छ ।
यहाँ धेरै अगाडिदेखि सञ्चालनमा रहँदै आएको दुर्गाभगवती, गणेश, शिव आदि आराध्य देवदेवीहरूको पूजाअर्चना हुँदै आएको छ । यहाँ करिब डेढ अर्ब लागतको गुरु योजना निर्माण गरिएको छ । स्थानीय, प्रदेश र संघीय सरकार समक्ष आश्रमले सहयोगका लागि योजना समेत पेश गरेको छ ।
सप्ताह ज्ञानमहायज्ञका उद्देश्यहरु
१. श्रीमद्भागवत सप्ताह ज्ञानमहाज्ञको आयोजना गरी वैदिक सनातन धर्म, संस्कार र संस्कृतिप्रति समाजमा सचेतना जगाउने किसिमले भागवत ज्ञानको प्रवाह गर्ने ।
२. पूर्वाधारविहिनमा सञ्चालन हुँदै आएको समावेसी गुरू संस्कृत विद्यापीठ सञ्चालनको लागि आवास भवन तथा विद्यापीठ भवन निर्माण गर्दै सञ्चालनमा ल्याउने ।
३. आवश्यक सुविधायुक्त अतिथि गृह (धर्मशाला) भवन निर्माण गरी सेवा सुविधा प्रदान गर्ने ।
४. गौ संरक्षण हेतु आधुनिक गौशालाको व्यवस्थापन गर्ने ।
५. गुरु गोरखनाथको मन्दिर भवन निर्माण गर्ने ।
६. सम्भव भएसम्म गुरुयोजनाका अन्य संरचना योग तथा प्राकृतिक चिकित्सालय भवन योग साधना केन्द्र आदिको निर्माण गर्दै जाने ।
यज्ञ सञ्चालन सम्बन्धी दैनिक कार्यक्रम
बिहान ४ः३० देखि ६ः०० बजेसम्म स्नानादि नित्यकर्म तथा योगाभ्यास
बिहान ६ः०० देखि ७ः०० बजेसम्म देवार्चन, आरती, पुष्पाञ्जली आदि
बिहान ७ः०० देखि ८ः०० बजेसम्म जलपान एवं विविध तयारी
बिहान ८ः०० देखि ११ः०० बजेसम्म श्रीमद्भागवत पाठपारायण
दिउँसो १२ः०० मध्यान हरिनामसंकीर्तन
दिउँसो १ः०० बजेदेखि ४ः३० बजेसम्म संगीतमय भागवत कथाप्रवचन
अपराह्न ४ः३० बजेदेखि ५ः३० बजेसम्म आरती, पुष्पाञ्जली एवं प्रसाद वितरण
सायं ५.३० बजेदेखि ७ः०० बजेसम्म भोजन प्रसाद ग्रहण
सायं ७ः०० बजेदेखि ९ः०० बजेसम्म भजन कीर्तन
दातृ सम्मान क्रम
१. रु.१ देखि रु.५०० सम्मको दान दानपेटिकामा राख्ने
२. रु.५०१ देखि रु.५,००० सम्मका दातालाई नगदी रसिद प्रदान गर्ने
३. रु.५,००१ देखि रु.१०,००० सम्मका दातालाई धर्मपट प्रदानपूर्वक यज्ञ स्मारिकामा नाम प्रकाशन गर्ने
४. रु.१०,००१ देखि रु.१५,००० सम्मका दातालाई गुरुचित्राङ्कित उपहार, सम्मानपत्र तथा यज्ञआयोजक मूल समितिको सदस्यता प्रदानपूर्वक माथिका सम्मान प्रदान गर्ने
५. रु.१५,००१ देखि रु.२५,००० सम्मका दातालाई फ्रेमयुक्त सम्मानपत्रसहित माथिका सम्मान प्रदान गर्ने
६. रु.२५,००१ देखि रु.५०,००० सम्मका दाताको यज्ञ स्मारिकामा दुईपुस्ते नाम प्रकाशनपूर्वक माथिका सम्मान प्रदान गर्ने
७. रु.५०,००१ देखि रु.१ लाखसम्मका दाताको फोटो र तीनपुस्ते नाम यज्ञ स्मारिकामा प्रकाशनपूर्वक अक्षमालासहित माथिका सम्मान प्रदान गर्ने
८. रु.१ लाख १ देखि रु. २ लाखसम्मका दाताको दम्पतीको फोटो प्रकाशनपूर्वक माथिका सम्मानसहित सभानायकत्व प्रदान गर्ने ।
९. रु.२ लाख १ देखि रु. ५ लाखसम्मका दातालाई उक्त सम्मानसहित दाताको संक्षिप्त जीवनी प्रकाशन गर्ने ।
१०. रु. ५ लाख १ देखि रु.१० लाखसम्मका दातालाई उक्त सम्मानसहित दाताले दिएका पारिवारिक सदस्यहरूका फोटाहरू प्रकाशन गर्ने ।
११. रु.१० लाख १ देखि रु. २५ लाखसम्मका दातालाई उक्त सम्मानसहित दाताको अर्धपेजको जीवनी प्रकाशन गर्ने ।
१२. रु.५० लाखसम्मका दातालाई उक्त सम्मानसहित दाताको १ पृष्ठभरिको जीवनी प्रकाशन गर्ने ।
१३. रु.५० लाख भन्दा माथिका दातालाई समितिको तात्कालिक निर्णयानुसार विशेष सम्मान प्रदान गर्दै २ पृष्ठभरिको जीवनी प्रकाशन गर्ने ।