विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२२ कात्तिक ।
चितवन ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका गठबन्धनका उम्मेद्वारबीच ‘वाकयुद्ध’ सुरु भएको छ । यो क्षेत्र वर्तमान वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको चुनावी मैदान हो । केही दिनअघि पाण्डेलाई ‘अराजनीतिक व्यक्ति’ भन्दै ठेक्कापट्टा छोड्न वा राजनीति छाड्न चुनावीसभाबाटै चुनौती दिएका प्रचण्डलाई पाण्डेले कडा जवाफ दिएका छन् ।
मंगलपुर बजारमा नेपाल तरुण दल र राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक) युवक संघको संयुक्त चुनाव प्रचार–प्रसार समितिको कार्यालय उद्घाटन गर्दै पाण्डेले जवाफ दिए, “तपाईं ढाँट्न छोडिदिनुस्, मैले ठेक्का गर्न छोडेको १० वर्ष भयो ।” उनले प्रचण्डलाई चेपारे भाषण र छेपारे नीति त्याग्नसमेत अपिल गरे । “पूर्वप्रधानमन्त्री ज्यू चेपारो चरित्र र छेपारो नीतिको धनी हुनुहुन्छ”, व्यंग्य गर्दै भने, “हुनै नसक्ने काम पनि गर्छु भन्नुहुन्छ ।” उनले चुनाव जितेपनि हारेपनि चुनाव क्षेत्र सर्दै ‘टुरिष्ट’ नेताका रुपमा प्रचण्ड चिनिएको आरोपसमेत लगाए । “विगतमा उनले जितेका चुनाव क्षेत्रको विकास कस्तो छ चितवनका जनता हेर्न चाहन्छन्, हामी पनि हेर्न चाहन्छौँ”, उनले भने, “हामी राजनीति गर्न आएको होइन, विकास गर्न आएका हौँ ।”
उनले आफू निरन्तर २० वर्षदेखि एकै निर्वाचन क्षेत्रमा रहेर विकास निर्माणका काममा जनतालाई सहयोग गरेको दावी गरे । “महानगरको मेयरमा उहाँकै पुत्री हुनुहुन्छ”, उनले भने, “साँच्चै चितवनको विकास चाहनुभएको छ भने मेयरमार्फत गराउँदा पनि हुन्छ, चुनाव लड्ने क्षेत्र अरु पनि छन् ।” उनले चितवनका जनतासँग खेलवाड नगर्न आग्रह गरे । उनले शहिदका रगतको सम्मान गर्दै खेलवाडको राजनीति नगर्न सुझाव दिए । आँफु भूमिसुधार मन्त्री हुँदा चितवनमा तीन स्थानमा मालपोत तथा नापी कार्यालय विस्तार गरेको स्मरण गर्दै भने, “विकास गर्ने नेतालाई जिताउने वा नजिताउने जनताले फैसला गर्नेछन् ।” उनले पटक पटक सत्तामा पुग्दा समेत माओवादी केन्द्रले चितवनको विकास गर्न नसकेको आरोप लगाए । उनले चितवन ३ नम्बर क्षेत्रमा अत्याधुनिक प्रविधिसहितको भरतपुर महानगरपालिकाको मुख्य कार्यालय स्थापना गर्न पहल गरिने बताए ।
सोही कार्यक्रममा बोल्दै प्रदेश सभातर्फ चितवन ३ (क)का उम्मेद्वार दिनेश कोइरालाले भरतपुर महानगरको हालको कार्यालयले गोलाघाटदेखि कविलाससम्मको क्षेत्रलाई समेट्न गर्ने गरी मुख्य कार्यालय सार्नुपर्ने बताए । “सबै सरकारी कार्यालय एकै वडामा राख्नु राम्रो होइन”, उनले भने, “सबै जनताले सहजरुपमा सेवा पाउने गरी स्थापना गरिनुपर्छ ।” चितवन ३ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेद्वार साजनकुमार महतोले स्थानीय तहको निर्वाचनमा महानगरमा पाएको धोकाको बदला यसपालि जनताले तिर्ने बताएका छन् । “बहुमत ल्याएर संविधानका मौलिक विषय नै परिवर्तन गर्ने, एकदलीय शासन ल्याउने चलखेल बढेको छ”, उनले भने, “नयाँ संविधानलाई कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धनलाई जनताले मत दिनेछन् ।”
कांग्रेस चितवनका सचिव राजिव न्यौपानेले संविधान कार्यान्वयन गर्न नदिने खतरा बढेकाले जनतालाई घर–घरमा पुगेर बुझाउनुपर्ने अवस्था आएको बताए । उनले एकदलीय शासन व्यवस्था कुनैपनि हालतमा कार्यान्वयन नगर्न दिन खबरदारी आवश्यक रहेको बताए । सो अवसरमा कांग्रेसका पूर्वसांसद् रामकृष्ण घिमिरे, पूर्व जिल्ला सभापति पृथ्वीमान गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल तरुण दल चितवनका उपाध्यक्ष निरञ्जन सुवेदीले झुटा आश्वासन र चुनाव क्षेत्र सरिरहने नेतालाई चितवनका जनताले स्वीकार नगर्ने बताए । उनले युवा जमातले विकासप्रेमी नेताको पक्षमा खुलेर मत माग्ने बताए । राप्रपा(प्रजातान्त्रिक) का क्षेत्रीय समिति संयोजक सुनिलकुमार क्षेत्रीले वाम गठबन्धन निहित स्वार्थबाट बनेकाले धेरै नटिक्ने जिकिर गरे । उनले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई जिताउन लागिपर्ने बताए ।
तीव्र वाकयुद्धमा प्रचण्ड–विक्रम
तीव्र वाकयुद्धमा प्रचण्ड–विक्रम

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस