सौराहा, ३० पुस ।
थारु समुदायले मनाउने माघीको अवसरमा सौराहा थारु भिलेजमा विशेष सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ । सौराहाको चरा चोकमा रहेको थारु गाउँमा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् । पर्यटकीय आकर्षणका लागि संचालित थारु गाउँमा थारु संस्कृतिका सामग्री र खानाको परिकार पाइन्छ । थारुको पर्वलाई विशेष कार्यक्रम गरी मनाउन लागिएको थारु गाउँका संचालक मधु सिलवालले बताए ।
झण्डै तीन विगाहा क्षेत्रफलमा उनले थारु भिलेज बनाएका छन् । थारुको पोशाक, थारु जातिले प्रयोग गर्ने सामान, घरलगायत थारु संस्कृतिका सामग्री राखिएको छ ।
माघे संक्रान्तिको दिन कार्यक्रममा गायक हिमाल सागर, अनु चौधरी, मिलन लामा, अस्मिता डल्लाकोटी, रविन लामिछाने, रोहित सिंह चौधरी, सिम्रन कुँवरको प्रस्तुति रहने सिलवालले बताए । एक हजारको टिकटमा थारु सांस्कृतिक कार्यक्रम र खानाको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । माघीलाई लक्षित गर्न पर्यटक आकषर्णको लागि कार्यक्रम गरिएको सिलवालले बताए ।