भरतपुर, १९ पुस ।
१४औँ चितवन महोत्सवको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले गर्ने भएका छन् । महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले मंगलबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुस २५ गते अर्थमन्त्री पौडेलबाट महोत्सवको उद्घाटन हुने जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको पहिचान, यहाँको बहुआयामिक विविधता, पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट गन्तव्य चितवन हो भन्ने विषयमा महोत्सव केन्द्रित रहने जानकारी दिए । माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पोल्ट्री तथा उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुने श्रेष्ठले जानकारी दिए ।
यसवर्षको महोत्सवमा सात वटा विशेष स्टल, डोम, र कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४५० वटा स्टलहरु रहने श्रेष्ठको भनाइ छ । महोत्सवमा राखिने सम्पूर्ण स्टलहरुको बीमा गरिएको उनको भनाइ छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिहरुको भेषभूषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपजको प्रर्दशनी रहने श्रेष्ठले बताए ।
पुस २५ गतेदेखि माघ ४ गतेसम्म संचालन हुने चितवन महोत्सव अन्तर्गत परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले पुस २८ गतेदेखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबलको आयोजना हुनेछ । पुस २९ गतेदेखि माघ ३ गतेसम्म कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिने श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा फन पार्क सञ्चालन गरिने भन्दै श्रेष्ठले महोत्सव परिसरमा हुन सक्ने दुर्घटना तथा विपद्लाई मध्यनजर गर्दै महोत्सव अवधिभर एम्बुलेन्सको व्यवस्था, उद्धार टोलीको व्यवस्था, प्राथमिक उपचार केन्द्र, निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रम हुने बताए । यसपटकको महोत्सवमा मौरी र तोरीलाई प्रवद्र्धन गर्ने उद्देश्यले मौरीको प्रतिमासहित तोरीबारीको निर्माण गरी कृषि कर्मतर्फ आकर्षित गर्न लागेको श्रेष्ठको भनाइ छ । चितवन महोत्सव २०७९ मा कलात्मक प्रवेशद्वारका साथै कलात्मक आकृतिहरु निर्माण गरिने श्रेष्ठले बताए । स्थानीय प्रशासनको सहकार्यमा सुरक्षा व्यवस्था मजबुत पारिनुका साथै महोत्सवस्थलमा सिसिटिभी क्यामेराबाट २४ सै घण्टा निगरानी गरिने उनले बताए ।
महोत्सव अवलोकनका लागि अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिलालाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई रु ६० तथा विद्यार्थीका लागि रु ३० को टिकटको व्यवस्था गरिएको छ ।
यस वर्षको चितवन महोत्सव उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनको मुख्य प्रवद्र्धनमा हुन गइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटक सहित करिब पाँच लाखले महोत्सवको अवलोकन गर्ने अपेक्षा राखेको आयोजक उवा संघले महोत्सव अवधिभर करिब रु २५ करोडको कारोबार हुने अनुमान गरेको छ ।
आयोजक संस्था उवा संघ चितवनका अनुसार प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा जैविक विविधताले भरिपूर्ण चितवन पर्यटकीय दृष्टिकोणले नेपालको तेस्रो गन्तब्यको रुपमा रहेको छ । नेपाल आउने बाह्य पर्यटकको रोजाईमा चितवन निरन्तर पर्दै आइरहेको छ ।
भौगोलिक दृष्टिकोणले नेपालको केन्द्रमा रहेको चितवन उद्योग तथा व्यवसाय संचालन गर्नेहरुको लागि उर्वर भूमि मानिन्छ । शैक्षिक गन्तब्यको रुपमा चितवन काठमाडौँपछि दोस्रो गन्तब्यको रुपमा विकसित भएको छ । कृषि र पोल्ट्रीको क्षेत्रमा चितवन सदैव अग्रस्थानमा रहेको छ । उत्पादनका हिसाबले चितवनमा गरिएको कुखुरापालनले राष्ट्रिय मागको ६५ प्रतिशतभन्दा बढी आपूर्ति हुँदै आएको छ ।