पोखरा, १७ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।
आइतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री दाहालले विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतको उपस्थिति रहेको थियो ।
उद्घाटनअघि विमानस्थल क्षेत्रमा हेलिकप्टरमार्फत पुष्प वृष्टि गरिएको थियो । समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति रहेको छ ।
नेपालका लागि चिनियाँ कार्यबाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको बताएका छन् ।
पोखरामा आइतबार विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको सपना रहेको पनि बताए ।
चिनिया डिजाइनमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काएको उनको भनाइ छ ।
पोखरा विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतीक पनि रहेको भन्दै उनले भने, ‘ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको सपना हो । यो विमानस्थल चिनियाँ मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको छ, जसले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काउँछ र नेपालको राष्ट्रिय गौरवको प्रतीक पनि हो ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीन र नेपालका नेताहरूले उच्च मान्यतामा राखेको बताएका उनले नयाँ विमानस्थल साझा विकास र समृद्धि हासिल गर्न मिलेर काम गर्ने शैलीको जीवन्त अभ्यास र सशक्त साक्षी बन्ने विश्वास व्यक्त गरे ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा उपस्थित हुन पाउँदा गौरवान्वित भएको बताएका कार्यबाहक राजदूत सिनले परियोजनामा सहयोगको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सरकारलाई विशेष धन्यवाद तथा उत्कृष्ट योगदानका लागि चिनियाँ र नेपाली इन्जिनियरहरू र प्राविधिककर्मीहरूलाई पनि धन्यवाद दिए ।