भरतपुर, ५ पुस ।
बागमती प्रदेशका सांसद उत्तम जोशीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीसँग भेटघाट गरेका छन् । जोशीले मंगलबार दिउँसो प्राधिकरणको कार्यालयमै पुगेर अधिकारीसँग भेट गरेका हुन् ।
भेटका क्रममा जोशीले भरतपुर विमानस्थलसँगै जोडिएको भरतपुर १० स्थित युनिक टोल विकास संस्थाका केही जग्गामा देखिएको समस्या समाधान गर्न अधिकारीको ध्यानाकर्षण गराएका थिए । सांसद जोशीले जग्गा विमानस्थलको धावनमार्गमा पर्छ भन्दै धितो मूल्यांकन रोक्दा स्थानीय ठूलो समस्या परेकोले तत्काल समाधान गर्न माग गरेका थिए । उनले प्रदेश सांसदको हिसाबले आवश्यक समन्वय गर्न तयार रहेको भन्दै छिटोभन्दा छिटो निकास दिन महानिर्देशकको ध्यानाकर्षण गराए ।
त्यस क्षेत्रमा केही जग्गा विमानस्थलको धावनमार्गमा पर्ने भन्दै धितो मूल्यांकन रोकिएको छ । स्थानीय ध्रुव सुवेदीका अनुसार त्यस क्षेत्रको जग्गाको धितो मूल्यांकन रोकिँदा जग्गा राखेर बैंकबाट ऋृण लिन नपाउने, खाली जग्गामा घर बनाउन नपाउने, बनाएकाले थप्न नपाउने जस्ता समस्या रहेको छ ।
सांसद जोशीले यसरी जनता समस्यामा परेको भन्दै समाधानमा ढिलासुस्ती नगर्न आग्रह गरेका थिए । जवाफमा महानिर्देशक अधिकारीले स्थानीय तह र प्रशासनले आवश्यक सहजीकरण गरे छिट्टै समस्या समाधान हुने बताए । सांसद जोशीसँगै भेटघाटमा रहेका भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगर आवश्यक सहयोग र समन्वयका लागि तयार रहेको बताएका थिए ।