भरतपुर, २३ मंसिर ।
त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । २०७८ असार १ देखि गत जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका ६२ हजार २३७ विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन भने करिब १० हजार विद्यार्थीको मात्रै फारम भरेका थिए ।
ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा सम्पन्न समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, लगायत सहभागी थिए । कार्यक्रमको प्रमुख अतिथि भारतको सेन्टर युनिभर्सिटी अफ पञ्जाबका पूर्वउपकूलपति राघवेन्द्र पी तिवारी थिए ।
समारोहमा एमफिल, स्नातकोत्तर तथा स्नातक तहमा सर्वाेत्कृष्ट अंक ल्याएका २८ जना विद्यार्थीहरूलाई पदक वितरण गरिएको थियो । यस्तै विद्यावारिधि उपाधि पाएका उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गरियो ।