२०,कात्तिक,बर्दिवास । महोत्तरी जिल्लाको क्षेत्र नं १ को ‘क’ प्रदेशसभा क्षेत्रमा रोचक भिडन्त हुने भएको छ । वाम गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी नेकपा एमाले नेत्री शारदा थापा र नेपाली कांग्रेसबाट उम्मेदवारी दत्र्ता गराएका प्रल्हाद क्षेत्रीबिचको चुनावी प्रतिस्पर्धालाई आम मतदाताले रोचक हुने प्रतिक्रिया दिएका हुन् ।
नेत्री थापा र क्षेत्री साख्खै फुपू–भदा हुन । बर्दिवास–१ कै बासिन्दा दुवैको घरको दूरी पनि १०० मिटर मात्र छ । दुवै परिवार मात्र नभएर फुपू–भदाबिच पनि अत्यन्त न्यानो र आत्मीय सम्बन्ध रहेको दुवैजनाले स्वीकार गरे। आसन्न चुनावमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले आइतबार विधिवत उम्मेदवारी फिर्ता लिएपछि नेत्री थापा वाम गठन्धनको साझा उम्मेदवार बनेका हुन ।
गएको असोज २ गते सम्पन्न स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट प्रमुख पदका प्रत्याशी रहेका क्षेत्रीसँग अत्यन्त न्यानो पारिवारिक सम्बन्ध रहेकैले एमालेको जिल्ला कमिटी सचिवालय सदस्य रहनुभएकी नेत्री थापाप्रति कतिले भदालाई सहयोग गरेकी टिप्पणी पनि गरेका थिए । यद्यपि नेत्री थापाले आफू विचार र संगठनप्रति प्रतिबद्ध कार्यकर्ता भएकाले त्यस्ता बाहिरी टिप्पणी कुनै अर्थका नभएका टिप्पणी गरेका छन् ।