देवचुली, ११ मंसिर ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका-९ मा रहेको घुमाउरी सामुदायिक वन क्षेत्र वनभोजका लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ । शुक्रबार र शनिबार दैनिक ४० भन्दा बढि समूह यहाँ वनभोजका लागि आएको वन समितिले बताएको छ । घुमाउरीमा अन्य दिनमा पनि १५ भन्दा बढी समूह वनभोजका लागि आउने गरेको वन समितिले जनाएको छ ।
`जिल्लाबाट मात्रै नभई छिमेकी जिल्लाबाट समेत धेरै समूहहरू वनभोजका लागि आउने गरेका छन्´, घुमाउरी सामुदायिक वनका अध्यक्ष दीपक भट्टराईले भने- `यो समय वनभोजको लागि उपयुक्त भएकोले अबका केहि महिना वनभोज खान आउने समूहको संख्या दैनिकरूपमा बढ्दै जानेछ ।´ घुमाउरी वनभोज स्थल धेरैको रोजाईमा पर्न थालेकोले यस क्षेत्रको आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने भट्टराईले बताए । घुमाउरी वनभोज स्थल महेन्द्र राजमार्गको दलदले तथा प्रगतिनगरबाट ४ किलोमिटर उत्तरतर्फ रहेको छ ।
वनभोज स्थलसम्म आउनका लागि सहज सडक, पर्याप्त पिउने पानी, विद्युत, दाउरा, भाँडाकुँडा, इन्टरनेट र स्टलको समेत सहज व्यवस्था भएकाले सबैको गन्तव्य घुमाउरी बन्दै गएको स्थानीय चन्द्रबहादुर थापाले बताए ।
२३४ हेक्टर वन क्षेत्र रहेको घुमाउरी सामुदायिक वनको ७ हेक्टरमा फैलिएको घुमाउरी वनभोज स्थललाई ३३.७७ हेक्टरमा फैलाउने गरि कार्ययोजना तयार पारेको अध्यक्ष भट्टराईले बताए । `यस क्षेत्रको विकासको लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसँग अनुरोध गरि प्रत्येक वर्ष केही न केही नयाँ योजनाहरू सम्पन्न गर्दै आएका छौँ´, भट्टराईले भने -`यस वर्ष वनभोज स्थल नजिक रहेको पोखरीलाई विस्तार गरी उक्त पोखरीको बीचमा मन्दिर बनाइने योजना रहेको छ ।´ वनभोज खान आउँदा रमाईलो मात्र नभई हरियाली प्राकृतिक सौन्दर्यको साथ घुम्न मिल्ने गरि थप वनस्पति सहितको फूलबारी निर्माण गरिने र घुमाउरीलाई अध्ययन केन्द्र बनाइने भट्टराईले बताए ।
घुमाउरी सामुदायिक वन अन्तर्गतको सानो क्षेत्रमा रहेको वनभोज स्थल प्राकृतिक र शान्त वातावरणको भएकाले धेरै समूहहरू रमाइलो गर्न, घुम्नका लागि आउने गरेका छन् । गत वर्ष घुमाउरी वनभोज स्थलले वार्षिक करिब आठ लाख रुपैयाँ आम्दानी गरेको व्यवस्थापक उमा घर्तीले बताइन् । नि:शुल्क प्रवेश गर्न पाईने घुमाउरी वनभोज स्थलमा स्टलको लागि न्यूनतम सेवाशुल्क लिने गरेको र सो शुल्कबाट वनभोज स्थलको व्यवस्थापन तथा सरसफाईका लागि खर्च गर्ने गरेको घर्तीले बताइन् ।