विनोदबाबु रिजाल
फेरि एकपटक चुनाव आएको छ । हे, नेताले हात जोडेको जोडेकै गर्ने दिन आएको छ । ऊबेला नेता भेट्न सुन्धारामा होटल बुक गर्नुपर्नेमा अहिले त नेता यहीं, हाम्रै आँगनमा आएका छन् ।
चुनाव आउनुको अर्थ गाउँमा विकासको लहर आउने तयारी हुनुपर्ने हो । अब विकासको मूल फुटाउने व्यक्तिलाई चुनेर पठाउने हुनुपर्ने हो । चुनावले त ‘बेस्ट अफ दी बेस्ट’ छान्नुपर्ने हो । तर, यहाँ त चुनाव भनेको रणनीतिहरुको जुधान भएको छ । ऊबेला लिगलिगमा राजा छान्दा दौड प्रतियोगिता गरिन्थ्यो रे । अहिले षडयन्त्रको दौड हुन्छ । यहाँ विचार, सिद्धान्त, अडान, आश्वासन, अजेण्डा सबै मागी खाने भाँडा झै छन् ।
दलका घोषणापत्र हेर्दा लाग्छ, यिनलाई जिताए त स्वर्ग टपक्क टिपेर धर्तीमा ल्याइहाल्छन् । थालमा हालेको भात पनि आफै खानु पर्दैन, यिनैले ख्वाइदिन्छन् । स्कूल धाउनै पर्दैन, घरमै पढाइदिन्छन् । काम किन गर्नुप¥यो, घरमै आउँछ पैसा । आदि आदि भने झै लाग्छ । तर, यिनको काम गर्ने शैली, यिनको गति, यिनको मती सबै भ्रष्ट !
चुनाव आएको बेला गाली गर्नु यो लेखको उद्देश्य होइन । चुनावको बेला देखिएका केही दृश्यले उदेक लागेको कुरा व्यक्त गर्नुचाहिं हो ।
प्रदेश र प्रतिनिधि सभा चुनावको मिति नजिकिदै गर्दा सबैलाई यसको तातोले छोएको छ । मौसम चिसिदै गएपनि राजनीति तातिदै गएकोले केही न्यानो भएको होला मान्नेलाई । संविधान घोषणापछिको चुनाव भएकोले अब स्थायी सरकार र संविधानलाई बलियो बनाउने कयौं कानून निर्माण गर्ने भएकाले अबको संसद् विशेष छ । हामीले जिताउने सांसद्बाटै सरकार बन्ने हो र त्यही संसद्ले नै संविधान कार्यान्वयन गर्ने हो । त्यसकारण कसलाई जिताउने ? किन जिताउने ? भन्ने कुरामा सोचविचार गर्न जरुरी छ ।
माओवादी प्रवेश गरेपछि प्रचण्डसँगै हात उठाएर अभिभावन गर्दै बद्री तिमिल्सिना । फोटो : फेसबुकमा भेटिएको
चुनाव आएपछि अनेक दृश्य देखिन्छन् । दशैंताका माओवादी र एमालेले सबै जनतालाई ‘बम्पर सरप्राइज’ त दिइ नै हाले । मंसिर १० र २१ आउनेबेलासम्म त्यस्तै सरप्राइज अरु कयौं हुनसक्लान् । त्यसका लागि हामी मानसिकरुपमा तयार भएर बस्नुपर्ने हुन्छ । चितवनका दुई नेताको पाराले यहाँका जनतालाई सरप्राइज, तनाव, घृणा, ग्लानी सबै एकैचोटि थुपारिएको छ । यसमा पहिलो नम्बरमा देवी ज्ञवाली र अर्को कट्टर हिन्दूवादी नेता बद्री तिमिल्सिना छन् ।
शनिबार एक कार्यक्रममा पत्रकार दिपेन्द्र अधिकारीले बद्री तिमिल्सिना माओवादीमा प्रवेश गर्दै छन् अरे नि भने । सुन्नासाथै ‘हावा कुरा’ भनें । उनले स्रोतको बल लगाएर मलाई पुष्टि गर्न खोजे, “माडीमा आज प्रचण्डको सभा छ, त्यहीं प्रवेश गर्ने रे ।” तुरुन्तै माडीको सभामै रहेका सहकर्मी विप्लव काफ्लेलाई फोन गरें । उनले पनि ‘हो भन्ने कुरा आएको छ, अहिलेसम्म यहाँ सार्वजनिक गरिएको छैन’ भने । नभन्दै त्यसको २ घण्टापछि पत्रकार रमेशकुमार पौडेलले सभास्थलबाटै फोन गरेर बद्रीले गरिरहेको भाषण सुनाइदिए । उफ !
चितवनका जिल्लास्तरीय नेताहरुमा आफ्नो पार्टीको नीति, सिद्धान्त विचारमा सबैभन्दा बढी अडान भएको नेताका रुपमा मैले उनलाई चिन्थें । राप्रपा नेपालले लिएको हिन्दू धर्मको कट्टर धारमा उनी कत्ति पनि डगमगाएनन् । नेपालमा गणतन्त्रसँगै सेलाएको हिन्दू राष्ट्रको वकालत गर्ने ज्युँदो पार्टीका उनी ज्युँदो नेता थिए । यहाँ धर्म निरपेक्षताको चर्को नारा लाग्दा कयौं मान्छेको हुल जम्मा गरेर उनले हिन्दू राष्ट्र जिन्दावाद ! र राजा आऊ देश बचाऊ ! को स्पीकर घन्काउँथे । कयौं सभा, भेला, ¥यालीमा गेरु भिरेर उनले हिन्दू राष्ट्रको वकालत गरे । २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल चितवनको तेस्रो अध्यक्ष बनेका थिए । बहुदल आएपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा बसेर सुरुमै पार्टी संगठन बनाउने कामको नेतृत्वदायी भूमिका निर्वाह गरे । राप्रपा विभाजनपछि उनी राप्रपा नेपाल चितवनको अध्यक्ष बने । पार्टी एकीकरणपछि उनी राप्रपा चितवनको अध्यक्ष बने । फेरि पार्टी विभाजन भएपनि राप्रपा प्रजातान्त्रिकतिर अध्यक्ष बने । गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा उनी राप्रपाका तर्फबाट भरतपुर महानगरपालिकाको मेयरामा चुनाव लडे । त्यसमा ८ हजारभन्दा बढी मत प्राप्त गरे । पछिल्लोपटक पार्टी विभाजनपछि पार्टी उपाध्यक्ष विक्रम पाण्डेसँग नजिक रहेका उनी यो चुनावमा पाण्डेका सबैभन्दा ठूला चुनाव प्रचारक बने । पार्टी अध्यक्षका हिसाबले पनि उनीमाथि त्यो जिम्मेवारी थियो ।
तर, यी सबै अडान, विचारको कट्टरता, उनको भूमिका, इतिहास, स्वभाव सबै–सबै बाहिर देखिने खोल मात्रै रहेछन् । उनी त यी सबै कुरा छोडेर उनले लिएको सिद्धान्तसँग कुनैपनि सम्बन्ध नराख्ने, कहीं पनि भेट नहुने माओवादीमा छिरे । केहीबेरअघिको हिन्दूवादी, राजाको नजिक–नजिक रहेका उनी त एकैछिनमा महान् गणतन्त्रवादी, धर्म निरपेक्षतावादी भएर पो निस्किए । संविधानसभा र त्यसपछिको गणतन्त्रको सिर्जनाकर्ता मानिने प्रचण्डसँग एकचोटि हात मिलाउँदैमा उनको शरीरमा यस्तो हर्मोन सञ्चार भयो कि उनी त तुरुन्तै कमरेड बनिगए । तुरुन्तै महान् गणतन्त्रवादी बनिगए । माक्र्सको ठूलो समर्थक बनिगए । भलै भाषणको अन्तिममा उनले जय हिन्दू राष्ट्र नेपाल भनेनन् ।
अब आजैदेखि उनले नेपालमा हिन्दू राष्ट्रको देहावसानबारे, राजतन्त्रको अन्त्यबारे, राष्ट्रवादको दुर्लभताबारे के भन्ने हुन् ? अनि प्रचण्डपथबारे, माक्र्सवादबारे, माडीको बाँदरमुढे घटनाबारे, जनयुद्धबारे के भन्ने हुन् ? रोचक विषय त त्यो पो छ ।
महान् राष्ट्रवादी बद्रीको माओवाद धारणबारे सुनेपछि नारायणगढका एक व्यवसायीले भने, “ठूलै मुठा (पैसा)को चलखेल भएछ, होइन भने यतिधेरै कट्टर नेताको यो ढंगको स्खलन तुरुन्तै सम्भव छैन ।” म के जानु त्यसको बारेमा ? तर, अनुमान त सबैले गरेकै छन् कि यति लामो समयको कट्टरता तुरुन्तै पग्लिन सम्भव छैन । बद्रीको आगामी दिन के होला ? जेसुकै होला, त्यो हाम्रो चासोको विषय भएन । तर, उनले फेरेको यो ट्रेनबाट हामी के बुझ्न सक्छौं भने विचार र सिद्धान्तका कुरा गर्ने नेताहरु कुनै वस्तु उत्पादन गर्ने कम्पनीका मार्केटिङ म्यानेजरजस्तै हुन् । बजारमा बिकिरहुञ्जेल उनीहरु आफ्नो सामानलाई एकसे एक भन्छन् । त्योभन्दा अर्को कम्पनीमा केही अवसर पायो कि फुत्त जान्छन् र तुरुन्तै त्यही कम्पनीको वस्तुको वकालत गर्न थाल्छन् । यो उनीहरुको धर्म हो । तर, राजनीतिमा धर्म भन्नेचाहिं हुँदैन ? बद्रीको माओवाद यात्राले विक्रम पाण्डेलाई नोक्सान भयो कि भएन, त्यो विक्रमले नै हिसाब गरुन् । तर, बद्री र बद्रीका सिद्धान्त भनेर मरिमेटेर लाग्नेहरुमाथि भने उनले घात गरे ।
यहाँ चर्चा गर्न खोजिएका अर्को व्यक्ति देवी ज्ञवाली हुन् । गत स्थानीय तह निर्वाचनमा बद्रीका प्रतिद्वन्द्वी थिए देवी । उनले त गनेका थिएनन् होला बद्रीलाई । जे होस् ८ हजारभन्दा बढी भोट ल्याएका बद्री प्रतिद्वन्द्वी होइनन् भन्न कसैले सक्दैन । विषय त्यो होइन । देवीको असली प्रतिद्वन्द्वी थिइन् रेनु दाहाल । योभन्दा बढी त चुनावमा के–के भयो भन्ने सबैलाई थाहा छ यहाँ उल्लेख गर्नुपरेन । मपच्या (मतपत्र च्यात्ने) काण्डपछि देवी ज्ञवालीले पत्रकार सम्मेलन गरे । आँसु पिलपिल झारेर भने, “ममाथि अन्याय गरियो, मतपत्र च्यातेर, न्यायाधीश किनेर मेयर पद लगे ।” अझै अर्को एक भाषणमा त उनले जेठ १४ गतेको घटनापछि १९ नम्बर वडामा मतदातालाई सुनको सिक्री बाँडेर भोट तानियोसम्म भने । प्रचण्डलाई उनले महाभारतको धृतराष्ट्रसँग तुलना गरे । धृतराष्ट्रकै भूलका कारण, घमण्डका कारण महाभारत युद्ध भएको भन्दै प्रचण्ड पनि त्यस्तै हुन् भने । के–के भने–भने । मुखमा आएजत्ति भने ।
मतपत्र च्यातेको घटनाका आरोपी माओवादी नेता द्रोण सिवाकोटी देवी ज्ञवालीलाई अंगालो हाल्दै । फोटोः द्रोण सिवकोटीको फेसबुकबाट
तर, चुनाव फेरि नजिकियो । पहिले स्थानीय चुनाव, अहिले प्रदेश र प्रतिनिधि सभा चुनाव । माहोल अन्तै गयो । देवी अथवा सिंगो एमालेकै शब्दमा ‘मतपत्र च्यातेर मेयर पद पड्काउने’ माओवादी त एमालेसँगै मिलेर चुनाव लड्ने भयो । त्यतिमात्रै हो र भरतपुरमै, त्यही एमालेले उसकै ठम्याइमा मपच्या काण्डका नाइके प्रचण्डलाई भोट हाल्नुपर्ने भयो । त्यतिसम्म त ठीकै थियो, तिनै देवी ज्ञवाली प्रचण्ड जिताउने अभियानको कमाण्डर बन्नुपर्ने भयो । फेरि तयार ! यो अर्को आश्चर्य भयो ।
होला, भन्ने ठाउँ छ कि देवी ज्ञवाली पार्टीका एक जिम्मेवार सिपाही हुन् । पार्टीले खटाएको काम खुरुखुरु गर्नु उनका लागि धर्म हो । ल ठीकै छ । तर, अस्ति भर्खरै त्यति ठूलो षडयन्त्रले आफैलाई हराउने मान्छेलाई काँधैमा हालेर जिन्दावाद भन्न कोही व्यक्ति तुरुन्तै तयार कसरी हुनसक्छ ? के उनले पार्टीमा एक शब्द पनि अडान राख्न सके कि ममाथि षडयन्त्र गर्नेलाई काँध हाल्न सकिन्न भनेर ? खै भित्र राखेका भए म जान्दिनँ । तर, त्यस्तो कुनै कुरा बाहिर आएन । यसमा पनि देवीलाई ठूलो लाभ भएको वा लाभको आश्वासन प्राप्त भएको लख काट्नेहरु धेरै छन् । तर, केही सार्वजनिक तथ्य छैन । यो पनि गर्भकै कुरा भयो ।
देवी रातारात परिवर्तन भए । हिजोका धृतराष्ट्र पनि आजै अर्जुन भए । हिजोका महान् षडयन्त्रकारीका नाइके, न्यायाधीश किन्ने, सुनको सिक्री बाँडेर भोट किन्ने प्रचण्ड आजै ‘राजनेता’ कहलिए । व्यक्तिगतरुपमा मलाई यो कुराको कुनै प्रवाह छैन । राजनीतिकरुपले मेरो कुनै साइनो न उनीहरुको यो चकचकप्रति छ, न तिनका विरुद्धसँग नै । तैपनि एक सचेत नागरिकको रुपले हेर्दा लाग्छ राजनीतिमा नैतिकता, अडान, सिद्धान्त देखाउने दाँत नै रहेछन् । अनि जनता नि ! जनतापनि तिनका जन्ती रहेछन् । अपवादबाहेकका जनता वा कार्यकर्ता कसलेचाहिं विरोध गरे त यो प्रकरणको ? खै म त देख्दिनँ ।
यी दुवै घटना बुझिसकेपछि निर्धक्क भएर भन्न सकिन्छ कि नेपालको राजनीतिमा इमान र नैतिकताको कुनै गुञ्जायस छैन । यहाँ त अवसर र अनुकूलता कुरेर बस्दारहेछन् सबैजना । कतैबाट कुनै अनुकूलताको घण्टी ट्वाङ्ग बज्यो कि त बुर्कुसी मारिहाल्न । अनि हामी जनताचाहिं चटकेको आज्ञाकारी वानरजस्तै । तिनले बजाएको डमरुको तालमा नाचिदिने ।
यी दुई पात्र सतहमा जस्तो देखिएपनि, उनीहरुको विचलन जुनरुपमा देखिएपनि दुवैजनालाई नेपाली राजनीतिका धुरन्धर खेलाडी प्रचण्डले सिकार गरेकै हुन् । हिजो छोरी जिताउनु थियो, प्रचण्डले अनेक गरेर देवीको सिकार गरे । आज आफै जित्नु छ, देवीलाई फेरि सिकार गरे, नपुगेर बद्रीमाथि प्रहार गरे र सिकार गरेरै छोडे । देवी वा बद्रीले व्यक्तिगत लाभ लिए÷लिएनन् वा उनीहरुले भविष्यमा यसको औचित्य पुष्टि गर्लान्÷नगर्लान् देखिदै जालान् । तर, यति भन्न सकिन्छ कि प्रचण्ड आफ्नो रणनीतिमा सफल हुँदै गएका छन् । भोलि चुनाव जित्लान्÷नजित्लान् मतगणनापछि नै थाहा होला ।
हो, यहींनेर सोच्नेबेला आएको छ अब । लामो समयलाई हेरौं, यिनले के भने ? के गरे ? यिनले आज के भनिरहेका छन् ? भोलि के गर्नेवाला छ ? चोक, चौतारो, चौरमा आज यिनले खोकिरहेका कुरा पूरा गर्ने सामथ्र्य यिनमा छ त ? यिनले गरिरहेको चकचकप्रति हामी विश्वस्त हुने ठाउँ छ त ? छ भने आँखा चिम्लेर यिनको चिह्नमा ड्याम्मै छाप हानौं । होइन भने विकल्प खोजौं । आखिर मताधिकार त सबैका लागि नितान्त व्यक्तिगत र गोप्य अधिकार छदैछ ।