कायाकैरन दैनिकको उमेर १६ वर्ष पूरा भएको छ ।
ठीक १६ वर्षअघि २०६३ साल असोज ७ गते घटस्थापनाको दिन कायाकैरनको पहिलो अंक प्रकाशन भएको थियो । त्यस हिसाबले आजबाट हाम्रो यात्रा १७ औँ वर्षमा प्रवेश गरेको छ । निरन्तर संघर्ष र सफलताको बराबरी अनुभव हामीसँग छ । हामीलाई यो पनि पूर्ण जानकारी छ कि बदलिँदो प्रविधिको प्रयोगका माझ कागजमा आधारित यो सञ्चारमाध्यम चलाउन निकै चुनौतीपूर्ण छ ।
तैपनि, हामी उत्तिकै दत्तचित्त छौँ यसको निरन्तर यात्रामा ।
कुनै पनि सञ्चारमाध्यम १६ वर्षसम्म अविच्छिन्न सेवामा रहिरहन सजिलो छैन । नेपालको जस्तो दरिलो बजार नभएको वातावरणमा झनै यो सामान्य कुरा हुनै सक्दैन । डिजिटल युगको हस्तक्षेपकारी भूमिकामाझ शतकौँ पुरानो कागजी सञ्चारमाध्यम प्रभावकारी ढंगले कसरी सञ्चालन गर्ने भन्ने प्रश्न जहिले पनि जटिल बनेर रहेको हुन्छ । यो प्रश्न झन्भन्दा झन् बलियो बनेर खडा भइरहेको छ ।
बितेको करिब तीन वर्षमा त झनै धेरै खालका समस्या हामीले बेहोर्नुप¥यो । अन्तर्राष्ट्रियरूपमा फैलिएको कोभिड महामारी हाम्रो जीवनकालको सबैभन्दा ठूलो समस्या हो । जुन अहिलेसम्म पनि हामी भोगिरहेका छौँ । यसले दैनिक जीवनमा पारेको अभूतपूर्व प्रभावसँगै सञ्चारमाध्यमले पनि समस्या बेहोरिरहेको छ । २०७६ चैतको ११ गतेदेखि कोभिड महामारीका कारण मुलुकले लकडाउन बेहो¥यो । सबै क्षेत्र ठप्प भए । आर्थिकरूपमा व्यक्ति, संस्था र राष्ट्र नै संकटमा फस्यो । लकडाउनकै कारण विभिन्न सञ्चारमाध्यमका नियमित सेवा स्थगित गरिए । हामीले पनि कैयौँ अंक प्रकाशन गर्न सकेनौँ । त्यसको प्रभाव यसपालिसम्म पनि परिरहेको छ । कोभिडकालले बिगारेको विज्ञापन बजार अहिलेसम्म सुध्रिएको छैन ।
सञ्चारमाध्यम टिकिरहन विज्ञापन बजार मजबुत हुनुपर्छ । सञ्चारमाध्यमका लागि विज्ञापन बजारको आवश्यकता मानवजीवनका लागि अक्सिजनको जत्तिकै हुन्छ । सुस्ताएको विज्ञापन बजारले देशभरिका सञ्चारमाध्यमको अवस्था दयनीय बनाएको छ । हाम्रो जस्तो स्थानीय बजारमा बढी आधारित सञ्चारमाध्यमलाई झनै टिकिरहन निक गाह्रो भएको छ ।
तैपनि, सूचना प्रवाह हाम्रो जिम्मेबारी सम्झिएर हामी निरन्तर प्रकाशनमा छौँ । बढ्दो कागजको मूल्य, बढ्दो सञ्चालन खर्च धान्न अहिलेको अवस्थामा मुस्किल छ । बजार प्रवद्र्धन गर्न सञ्चारमाध्यमले भूमिका निर्वाह गर्छ । त्यसलाई विज्ञापन तथा समाचार सामग्रीमार्फत जनतासमक्ष लैजानु सञ्चारमाध्यमको धर्म हो । तर, बजार प्रवद्र्धनका लागि व्यापारिक प्रतिष्ठानले खर्च गर्नका लागि बजार राम्रो चलेको हुनुपर्छ ।
सञ्चारमाध्यमको बदलिँदो स्वरुप निकै नै क्रान्तिकारी ढंगले अघि बढिरहेको छ । इन्टरनेटको सहज पहुँच, सामाजिक सञ्जालको बलियो प्रभाव, आधुनिक सञ्चारमाध्यमको सहज उपलब्धता अहिलेको यथार्थ हो । अब सञ्चारमाध्यम हिजोको जस्तो युगमा रहेन । समाज नयाँ ढंगले अघि बढिरहेको छ । त्यही ढंगले बढेका छन् नयाँ सञ्चारमाध्यम पनि । हातहातमा मोबाइल, हातहातमै इन्टरनेट । घरघरै पत्रकार, घरघरमै मिडिया । अझै पछिल्लो समय युट्युबमा आउने सूचनामूलक सामग्रीले त झनै आमजनताको समाचारमा पहुँच ह्वात्तै बढाइदिएको छ । यी विषय पनि हाम्रो लागि निकै चुनौतीपूर्ण छन् ।
देश चुनावको नजिक छ । आगामी मंसिर ४ गते आमनिर्वाचनको मिति तोकिएको छ । राजनीतिक दलहरू त्यसको आन्तरिक तयारीमा छन् । लोकतन्त्रको बलियो खम्बा आवधिक निर्वाचन हो । तर, चुनावको मिति नजिकिँदै जाँदा देशमा संवैधानिक संकट आउने हो कि भन्ने चिन्ता पनि बढेको छ ।
सार्वभौम संसद्ले दुई–दुई पटक पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यलाई संवैधानिक संकटतर्फ डो¥याएकी छन् । राष्ट्रपति संविधानको रक्षक हुन्छन् । उसले संविधानको पूर्ण पालना र रक्षा गर्दै लोकतन्त्र बलियो बनाउन विशेष भूमिका निर्वाह गर्नुपर्छ । तर, अहिलेका राष्ट्रपतिले संविधानको खिलाफमा हुने गरी विधेयक निष्क्रिय पारिदिएपछि देशमा राजनीतिक विचलन आउने हो कि भन्ने भय बढेको छ । यो अवस्थामा जनतामा देखिएको विभाजन र अन्यौल चिर्न सञ्चारमाध्यमको भूमिका अत्यन्तै ठूलो हुन्छ । यो संवेदनशील विषयमा सञ्चारमाध्यमले तथ्यगत प्रस्तुति बलियो गरी पेश गर्नुपर्ने हुन्छ ।
यो भूमिकामा कायाकैरन संवेदनशील र जिम्मेबार भएर उभिने छ । शान्ति, लोकतन्त्र, मानव विकास जस्ता कुरामा हामी कहिल्यै सम्झौता गर्दैनौँ । के समाचार हो र के होइन ? कुन समाचारलाई कस्तो महत्त्व दिनुपर्ने हो भन्नेमा हामी सचेत र सतर्क छौँ । यही नै हाम्रो अहिलेसम्मको विश्वासका मूल आधार हुन् ।
तपाईं आम पाठक वर्ग, विज्ञापनदाता, शुभचिन्तकको निरन्तरको साथले गर्दा कायाकैरनको लोकप्रियता उस्तै छ । हामी यसैमा गर्व गर्छौँ । सबैको यही दरिलो साथका कारण नै हामी सत्रौँ वर्ष प्रवेशको यो घडीमा आइपुग्दा अब्बल बन्न सकेका छौँ ।
बितेको सोह्र वर्षमा एक निष्पक्ष र स्वतन्त्र सञ्चारमाध्यमका रूपमा हामी निरन्तर अघि बढिरह्यौँ । बढिरहेका छौँ । बढिरहने छौँ । निरन्तर । उस्तै । अझ बलियो भएर । निर्भीक भएर ।