भरतपुर, १४ कात्तिक।
वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसको समर्थनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “मलाई कांग्रेसले सपोर्ट गर्नुभएको छ, समर्थन गर्नुभएको छ, म ३ नम्बरबाट चुनाव लड्दै छु ।”
तत्कालिन चितवन क्षेत्र नम्बर ५ बाट दोस्रो संविधासभा सदस्य निर्वाचनमा जितेका हुन् । उनले जितेको तत्कालिन चुनाव क्षेत्र माडी र हाल भरतपुरका पश्चिम वडामा अन्य केहि वडा थपिएर क्षेत्र नम्बर ३ कायम भएको छ । माडीका ९ र भरतपुरका १९ वडा यो क्षेत्रमा पर्छन् । माडीमा राप्रपा (प्रजातान्त्रिक) को पक्षमा राम्रै जनमत रहेपनि भरतपुरका अधिकांस वडामा संगठन निकै कमजोर छ । तर, चुनावी तालमेल अनुसार भरतपुरका वडामा कांग्रेस पकड राम्रै मानिन्छ । “सबै कांग्रेसले पनि मलाई भोट हाल्नुहन्छ भन्नेमा विश्वस्त छु”, उनले भने, “यो क्षेत्रको विकासको नेतृत्व गर्दै देशकै नेतृत्व गर्ने अवसर फेरी पाउनेमा आशावादी छु ।” उनले विगतमा आँफु सांसद तथा मन्त्री भएर गरेका कामको उच्च मूल्याङकन गर्दै जनताको विश्वास जित्ने दावी गरे । “मैले गरेकै कामका आधारमा चुनाव जित्छु भन्नेमा ढुक्क छु”, पाण्डेले भने, “जनताको पक्षमा अझबढी काम गरेर देखाउँछु भन्ने सोच लिएर फेरी आएको हुँ ।”
उनी कैयन पटक चुनाव हारेपनि निरन्तर एउटै चुनाव क्षेत्रबाटै चुनाव लड्दै आएका थिए । “यो क्षेत्रबाट उम्मेदवार धेरै छन्, कुनै एक वा दुई व्यक्तिमात्रै होइनन्”, आसन्न निर्वाचनलाई ईङिगित गर्दै भने, “म पनि चुनाव लड्दैछु, निर्वाचन क्षेत्र फेरिहने म होइन, यहाँका जनतासँग वर्षौसम्म घुलमिल भएको छु, नेतृत्व पाउनेमा विश्वस्त छु ।” उनले चितवन राष्ट्रिय निकुञ्जभित्रको सुविधाप्राप्त बाटोलाई सहज बनाउने काम सुरु भैसकेको बताए । “झण्डै २० वटा अवरोध पु¥याएका रुख हटाइएका छन्”, उनले भने, “विगतमा टाँचा लगाइएका झण्डै ३५ वटा रुख हटाइनेछ ।” माडीवासीलाई निकुञ्जप्रवेश निःशुल्क गर्ने प्रक्रिया अन्तिमचरणमा पुगेको बताए ।
“बाँदरझुलावस्ती स्थानान्तरणका लागि आवश्यक सबै प्रक्रिया टुङगाइसकेको हो”, उनले भने, “जग्गा समेत खोजि भएको थियो, तर किन रोकियो योबारे बुझ्नै बाँकी छ, त्यहाँका जनतालाई सँधै अल्मल्याउने काम राम्रो होइन ।” उनले राप्ती पुलदेखि ठोरीसम्मको हुलाकी सडकलाई फराकिलो पार्न टेण्डर गरिसकेको बताउँदै चाँडै माडीमा फराकिलो सडक निर्माण हुने दावी गरे । उनी माडीका सबै गाउँवस्तीलाई सडकसञ्जालले जोड्ने गरी चक्रपथ निर्माणको काम समेत प्रक्रियामै रहेको बताए । राप्रपा(प्रजातान्त्रिक) का उपाध्यक्ष पाण्डलाई भरतपुर विमानस्थलमा पञ्चैबाजासहित स्वागत गरिएको थियो ।