सुर्खेतका प्रकाश मल्ल काठमाडौँबाट प्रहरी सेवामा प्रवेश गरे । २०५८ सालमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका मल्ल पदोन्नतिहुँदै २०७७ साल वैशाखदेखि प्रहरी उपरीक्षकका रुपमा कार्यरत छन् । भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा उनी सेवारत छन् । शान्ति कायम गर्न संयुक्त राष्ट्रसंघीय प्रहरी मिसनमा हाइटी, पूर्वी टिमोर र दक्षिणी सुडानमा समेत खटिएका मल्लको पुस्तक पढ्ने सोख छ । उनी विशेषगरी अंग्रेजी र नेपाली भाषामा लेखिएका गैरआख्यान पुस्तक पढ्छन् । बेलामौकामा आख्यान पनि पढ्न रुचाउँछन् । प्रस्तुत छ, प्रहरी उपरीक्षक मल्लसँग कायाकैरनका लागि लेखराम सापकोटाले गरेको पुस्तक वार्ता :
तपाई अत्यन्तै धेरै किताब पढ्नुहुन्छ । किताब पढ्न केले प्रेरित गर्यो ?
हामीकहाँ पठन संस्कृतिको खडेरी छ । त्यही कारणले तपाईंले मलाई धेरै किताब पढ्ने लेबल लगाईदिनु भयो । हैन भने औसतमा १ महिनामा ३ वटा किताब पढेर भ्याउनु खासमा धेरै किताब पढ्नु हो जस्तो मलाई लाग्दैन । म ठिकठाक किताब पढ्ने व्यक्ति मात्र हुँ । पढ्नलाई प्रेरित गर्ने पहिलो कामचाहिँ मेरो पिताजीबाट भयो । उहाँ मेरो अगाडि धेरैजसो अध्यात्म र अन्य विधाका गरी थुप्रै किताब पढ्ने गर्नुहुन्थ्यो । बच्चा हुँदा त्यसको प्रभाव मलाई पर्न गयो । पछि कलेज पढ्दाको समयमा विश्व परिवेश, राजनैतिक दर्शन र भूराजनैतिक स्थितिले यसबारेको अध्ययनतर्फ आकर्षित गर्यो । अर्काे मैले छुटाउनै नै नहुने कुराचाँहि मेरा अत्यन्तै अध्ययनशील साथीसंगतिको सान्निध्य पनि हो ।
तपाईंको विचारमा किताब पढ्नु भनेको के हो ?
पढ्नु भनेको मलाई लाग्छ हामी को हौँ भन्नेबारे समग्रमा बुझ्नु र मनन गर्नु हो । हाम्रो अस्तित्व कहाँबाट कसरी आयो, हामीसँगै अरु कुनै सजीव वा निर्जीव वस्तुको अवस्था र यसमाथि हाम्रो परनिर्भरता कस्तो छ भन्नेर बुझ्नु हो । यसलाई अझ व्यक्तिवादी भएर भन्ने हो भने हामी को बाट, किन र कसरी शासित छौँ र यो शासन प्रणालीमा मेरो स्वतन्त्रता, अधिकार र जिम्मेवारी के हो भन्ने बुझ्नको लागि पढ्न जरुरी छ जस्तो लाग्छ ।
तपाईंलाई गैरआख्यान पढेको मात्रै देखिन्छ । के कुराले त्यता मोहित हुनुहुन्छ ?
हो, अहिलेको समयमा मेरो अध्ययनको क्षेत्र र रुचि गैरआख्यान भएको कुरा सत्य हो तर यसको मतलब म आख्यान पढ्दै पढ्दिन भन्नेचाहिँ पक्कै होइन । मैले मेरो औपचारिक शिक्षा लिने क्रममा थुप्रै आख्यान, कथा र कविताका थाकका थाक किताब पढेको छु । अहिले पनि कहिलेकाहीँ पढ्ने गर्छु । मैले पछिल्लोपटक पढेको आख्यानतर्फ चन्द्रप्रकाश बानियाँको उपन्यास महारानी र रामलाल जोशीको कथासंग्रह ऐना हो ।
यसबाहेक सुजीत मैनालीको सती, युग पाठकको माङ्गेना, कृष्ण पौडेलको विश्व आर्थिक क्रान्ति र चितवनका लेखक सूर्यप्रकाश कँडेलको उपन्यास ‘मोसो’, वसन्त पराजुलीको कथासंग्रह ‘मोम्चो’, विनोदबाबु रिजालको लकडाउन दैनिकी ‘एकान्तवास’, एलबी क्षेत्रीको कथासंग्रह ‘ब्रतभंग’ हालसालै पढेका नेपाली किताबहरु हुन् ।
अंग्रेजी साहित्यतर्फ सिद्धार्थ र एनिमल फार्म पढेको थिएँ । अब कुरा गरौँ गैरआख्यान किताबको । यसले समस्त मानव सभ्यताको, ब्रह्माण्डको, विज्ञानको अनि आधुनिक समयका राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि विषयका सूचना र ज्ञान संप्रेषण गर्छ, जसले हामी को हौँ, के गर्दैछौँ र किन गर्दैछौँ भन्ने कुराबारे तपाईं हामीलाई स्पष्ट पार्दछ । यदि यसलाई स्पष्ट बुझ्न सकिएन भने हामी हाम्रो विवेकले काम गर्न सक्दैनौँ । स्थिति भयावह हुन सक्दछ ।
तपाईंको छनोटमा अंग्रेजी किताब मात्रै देखिन्छ । गैरआख्यानका नेपाली किताब छैनन् र ?
किताब पढ्नु भनेको ज्ञान आर्जन गर्नु हो । यसमा कुनै भूगोल, भाषा र राष्ट्रियता जोडिनु हुँदैन जस्तो लाग्छ । किनभने ज्ञान विज्ञानले कसैप्रति भेदभाव र पक्षपात गर्दैन । जुनसुकै भाषामा लेखिएको लिटरेचरमा किन नहोस्, यदि उपयोगी र अधिकतम ज्ञान भण्डारले भरिपूर्ण छ भने त्यही नै पढ्ने हो । हामीले सरसर्ती हेर्यौँ भने के देखिन्छ भने अंग्रेजी भाषामा तुलनात्मक रुपमा अत्यन्तै गहन, वास्तविक र प्रामाणिक तथ्य भएका किताब पाइन्छन् । त्यसकारणले अंग्रेजी भाषामा लेखिएका किताबहरु मेरो छनौटमा परेका हुन् । यसको मतलब मैले नेपाली किताब नै पढ्दिन भन्नेचाहिँ कदापी होइन । मैले भर्खर मात्र पढेको अन्तिम दोस्रो र चौथो किताब क्रमश प्राडा विद्यानाथ कोइरालाको शिक्षामा सोचानान्तरण र योगेशराजको नेपाली इतिहासमा संक्रमणवाद हुन् । यसका अलावा अन्य थुप्रै नेपाली गैरआख्यान र आख्यानका किताबहरु पढ्ने गर्दछु ।
कस्ता किताब तपाईंको रुचिमा पर्दछन् ?
मेरो किताबको रुचि समय अनुसार बदलिँदै आएका छन् । स्कुल कलेज जीवनमा नेपाली कथा, कविता र आख्यानका थुप्रै किताब पढेँ । अहिले आएर मानव इतिहास, राजनैतिक अर्थशास्त्र र राजनीतिक दर्शनशास्त्र आदि विषयका किताब मेरो छनौटमा पर्ने गर्दछन् ।
कुनै किताब दोहोर्याएर पढ्नुभएको छ ? किन दोहोर्याउनु हुन्छ, राम्रो लागेर कि नबुझेर ?
दोहोर्याएर मात्र हैन धेरै किताब तेहेर्याएर पनि पढ्ने गरेको छु । किनभने अलि गह्रौँ वजनका किताबहरुको एकसरो पढाईमा धेरै महत्वपूर्ण र उपयोगी तथ्यहरु छुटिरहेका हुन्छन् ।
किताबको छनोट कसरी गर्नुहुन्छ ?
मैले किताब छनौट गर्ने थुप्रै तरिकाहरु छन् । जसमध्ये एउटा लिटरेचर पढ्दै जाँदा त्यहाँ आउने रिफरेन्स किताबलाई छनौट गर्छु । अर्काे तरिकाचाहिँ अध्येताहरुको सर्कलमा छलफल हुँदा आउने निष्कर्ष हो भने अर्काे गुगलमा पाठकहरुले गरेको समीक्षाको आधारमा छनौट गर्दछु ।
तपाईंले कस्तो बेलामा किताब पढ्नुहुन्छ ?
कतिबेला पढ्ने भन्ने तालिका नै हुँदैन । जतिबेला फुर्सद पाउँछु पहिलो काम नै पुस्तक अध्ययन हुन्छ । यसरी हेर्दा अहिलेको समयमा भने बिहान र साँझको समय बढी अध्ययन गर्ने मौका पाइरहेको छु ।
किताब कहाँबाट किन्नुहुन्छ ? साथीहरूसँग मागेर किताब पढ्ने बानी छ कि छैन ?
किताब किन्ने पनि मेरो कुनै निश्चित ठाउँ छैन । काठमाडौँमा रहँदा एजुकेशनल बुक हाउस, मन्डला बुक पोईन्ट, बज्र बुक्सबाट किन्ने गर्दछु । अहिले म आफू भरतपुरमा रहेको हुँदा यहाँको सम्पूर्ण किताबबाट किन्ने वा मगाउने गर्दछु । नयाँ ठाउँ जहाँ जान्छु त्यहाँबाट किताब किन्नु एकदमै आनन्द महसुस हुन्छ । साथीहरुसँग मागेर पढ्ने काम अलि कम गर्दछु । किनभने पढेको किताब संग्रह गर्नु पर्दछ भन्ने मेरो धारणा छ । त्यसैले मागेर पढ्दा त्यति सहज लाग्दैन ।
तपाईंलाई उपहारमा किताब आउँछन् कि नाइँ ? आफूले उपहारस्वरूप किताब दिने गर्नुभएको छ ?
टन्नै पाउँछु । साथीभाइबाट, प्रहरी कर्मचारीबाट, देशविदेशमा रहने आफन्तबाट र हुँदाहुँदै श्रीमतीजीको साथीहरुबाट पनि उपहारमा किताब पाउने गर्दछु । यस मानेमा म भाग्यशाली ठान्दछु आफूलाई । मैले पनि उपहारमा किताब दिने गर्दछु । विशेषगरी आफ्ना प्रहरी सहकर्मीहरु, जो सरुवा भएर अन्यत्र कार्यालयमा जाने गर्नुहुन्छ, उहाँहरुलाई र आफूलाई किताब उपहार दिने साथीभाइहरुलाई किताब उपहार दिने गरेको छु । कहिलेकाहीँ आफूले मान्ने गरेका साथै अध्ययनशील व्यक्तित्वहरू जो हुनुहुन्छ, उहाँलाई पनि उपहारमा किताब दिने गरेको छु ।
हाम्रो देशको पठन संस्कृति बारेमा तपाईंको धारणा के छ ?
हाम्रो देशमा पठन संस्कृतिको स्थिति नाजुक छ । स्वअध्ययनलाई कसैले महत्व दिएको पाइँदैन । न विद्यार्थीले, न आविभावकले, न त शिक्षकले नै, जुन चिन्ताजनक स्थिति हो । यो स्थितिबाट पार पाउन राज्य र पालिकाले व्यापक पहल गर्न जरुरी छ । यति बुझ्न जरुरी छ कि जुनजुन देशहरुले विकास गरे, समृद्धि हासिल गरे, नयाँनयाँ खोज तथा आविष्कार गरे अनि आफ्ना नागरिकलाई सुखसुविधा दिए । यो सबै उक्त देशको शिक्षा प्रणाली, अध्ययन संस्कार र नागरिक चेतनाको परिणाम हो । तसर्थ पढौँ र पढ्नेतर्फ सबैलाई उत्प्रेरित गरी पठन संस्कृतिको विकास गर्नमा सबैले योगदान दिऊँ । यत्ति नै भन्न चाहन्छु ।