भरतपुर, जेठ १ गते ।
चितवनका ६ वटा स्थानीय तहमा मतगणना कार्य करिव ११ बजेबाट सुरु गर्ने तयारी छ । ६ वटै स्थानीय तहमा सर्वदलिय बैठक बसिरहेको छ । सर्वदलिय बैठक सकिए लगत्तै मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । भरतपुर महानगरपालिकाको कवर्ड हल भरतपुरमा, इच्छाकामना गाउँपालिकामा सोही कार्यालय भवनमा, माडी नगरपालिकाको माडी क्याम्पसमा, खैरहनी नगरपालिकाको नगरपालिका भवनमा, रत्ननगर नगरपालिकाको रत्ननगरपालिकाको सभाहलमा, राप्ती नगरपालिकाको भण्डारा मावीमा मतगणना हुनेछ ।
भरतपुर महानगरमा मेयर पदमा १४ जना, उपमेयर पदमा ११ जना छन् । इच्छाकामना गाउँपालिका प्रमुखमा ५ जना, उपप्रमुखमा ३ जना छन् । यस्तै माडी नगरपालिकाको मेयरमा ८ जना, उपमेयरमा ६ जना, खैरहनी नगरपालिकामा ११ जना मेयरमा, ९ जना उपमेयरमा छन् । यस्तै रत्ननगर नगरपालिकामा १२ जना मेयरमा, १० जना उपमेयरमा, राप्तीमा नगरपालिकामा १० जना मेयरमा, ७ जना उपमेयरमा उम्मेद्वारी दिएका छन् ।
कालिका नगरपालिकामा भने जेठ २ गतेपछि मात्र मतगणना सुरु हुनेछ । कालिका नगरपालिका ११ मा वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएपछि सो वडामा २ गते मतदान हुदैछ । चितवनमा ३ लाख १३ हजार २ मतदाता छन् । चितवनमा ७७ प्रतिशत मत खसेको छ ।