विप्लव काफ्ले
भरतपुर, जेठ १ गते ।
बढी चासोको साथ लिइएको भरतपुर महानगरपालिकाको मतगणना सुरु हुन अझै केहि घण्टा लाग्ने देखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अहिले ८ बजे सर्वदलिय बैठक डाकेको छ । बैठक सकिए लगत्तै मतगणनाको प्रक्रिया सुरु हुनेछ । भरतपुर महानगरपालिकामा कुल १ लाख ५० हजार २ सय ७४ मतदाता मध्ये १ लाख १२ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले कायाकैरनलाई जानकारी दिए । पुरा नजिता नतिजा आउन केहि दिन लाग्ने उनले बताए ।
हिजो (आइतबार) राती अवेरसम्म मतदान स्थलबाट ल्याइएका मतमपेटिकलाई उच्च सुरक्षा दिएर मतगणना स्थल जिल्ला समन्वय समिति कार्यालय भवन नजिक रहेको कवर्ड हलमा राखिएको उनले बताए । महानगरका ६५ मतदान स्थलमा १ सय ७९ केन्द्र थिए । महानगरमा ३ सय ५८ मतपेटिका मतपत्र राख्न पठाइएको थियो ।
भरतपुर महानगरपालिकामा १ सय ४७ पदका लागि ६ सय ८४ जना चुनावी मैदानमा छन् । महानगरमा ३ महिला सहित १४ जना मेयरमा, २ पुरुष सहित ११ जना उपमेयरमा मैदानमा छन् । यस्तै २९ वडाध्यक्षका लागि १४ महिला सहित १ सय ५९ जना उम्मेद्वार छन् । वडा सदस्य पदमा महानगरबाट २ सय ५५ जना, महिला सदस्यमा १ सय २९ जना, दलित महिला सदस्यमा १ सय १६ जना मैदानमा छन् ।
चितवनमा ७७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । कांग्रेस माओवादी केन्द्रको गठबन्धनबाट उम्मेद्वारी दिएकी रेणु दाहाल र एमाले उम्मेद्वार देवी ज्ञवाली बीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उपमेयरमा कांग्रेस माओवादी केन्द्र गठबन्धनबाट उम्मेद्वारी दिएकी पार्वती शाह र एमाले उम्मेद्वार दिव्य शर्मा बीचनै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।