भरतपुर, १७ जेठ।
अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको रोल्पा कारागारमा भएको मृत्यु प्रकरणको घटनामा छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्दै मंगलबार भरतपुरमा विरोध प्रदर्शन गरिएको छ ।
जात व्यवस्था उन्मूलन मोर्चा वाग्मती प्रदेशले गत जेठ ४ गते रोल्पा कारगारमा मृत भेटिएका सुन्दर हरिजनको न्यायको माग गर्दै भरतपुरको चौबिसकोठीमा विरोध प्रदर्शन गरेको हो ।
मंगलबार भएको कार्यक्रममा दलित अधिकारकर्मीहरुका साथै विभिन्न राजनैतिक र सामाजिक व्यक्तिहरु प्लेकार्डसहित विरोध प्रदर्शनमा उत्रेका थिए ।‘कारगार हो कि बधशाला अझै कतिको ज्यान जाला, मलाई विभेद स्विकार्य छैन, राज्य संरक्षित अपराधका विरुद्ध उठौ ,सुन्दर हरिजनका हत्यारालाई कारबाही गर, षणयन्त्रकारी प्रहरी प्रशासन –मुर्दावाद राज्य संरक्षित अपराध विरुद्ध डटौ , षणयन्त्रकारी न्याधिसलाई बर्खास्ता गर’ लगायतका नारा लेखेका प्लेकार्ड प्रर्दशन गर्दै नारा समेत सहभागिहरुले लगाएका थिए ।
हातहतियार र फिरौतीको आरोपमा तीन पटक जेल परिसकेका विजयविक्रम शाहलाई बाहिर निकालेर उनको नाममा जेलमा राखिएका नाबालक हरिजन रोल्पा कारागारमा मृत भेटिएका थिए । यो घटनाको न्यायिक छानबिन गरेर दोषी देखिने हरेकलाई कारबाही हुनु पर्ने कार्यक्रममा सहभागि वक्ताहरुले माग गरे ।
सो कार्यक्रममा बोल्दै जात व्यवस्था उन्मुलन मोर्चाका वाग्मती प्रदेश संयोजक महाविर विश्वकर्माले हरिजनको मृत्यु प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिती गठन गर्न माग गरे । सबै सरोकारवालाको प्रतिनिधीत्वमा उच्चस्तरीय छानबिन समिती गठन गरी सत्य तथ्य बाहिर ल्याइनुपर्ने उनको माग थियो । उनले भने ‘प्रहरीदेखि न्यायाधीससम्म शंकाको घेरमा छन् । त्यसैले उच्चस्तरीय समिती गठन गरि राम्रोसँग छानबिन हुनु पर्दछ,’।
रामपुर चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको दलित विद्यार्थी समाजका शोभा पासवानले हरिजनका परिवारलाई न्याय दिलाउन सम्पूर्ण न्यायप्रेमी एकजुट हुन् आह्रवन गरिन् ।
उनले भनिन्, ‘नवराज विकको स्मृति दिवस मनाएको १० दिन बित्न नहुँदै फेरि अर्को घटना भएको छ । यस्तो घटना पटक–पटक हुनु चिन्ताको विषय हो । दलितलाई मान्छे ठान्न नसक्ने मानसिकताले यस्तो भइरहेको छ,’ पासवानले भनिन् ।
कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल चितवनका सचिव रमेश रसाइलीले घटना गम्भीर खाले मानवीय अपराध भएका कारण यसको छानबिन र कारबाही प्रक्रिया राज्यस्तरबाट तुरुन्त हुनु पर्ने माग गरे । कार्यक्रममा परि विक्रम र सुप्रदीप्ती भण्डारीले कविता वाचन गरेका थिए ।