भरतपुर, १० जेठ ।
भरतपुर महानगरको उपमेयरमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । एमालेसँगको गठबन्धन रहेको राप्रपाकी हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले हराउँदै अधिकारी विजयी भएका हुन् ।
भरतपुरमा सत्ता गठबन्धनकविरुद्ध राप्रपा र एमालेले तालमेल गरेका थिए । मतगणनाको सुरुवाती अवस्थादेखिनै हिमलासँग मतान्तर बढाउँदै लगेका अधिकारीले भारी मतका साथ निवर्तमान वडाअध्यक्षबाट उपमेयरमा ‘इन्ट्री’ मारेका छन् ।
अधिकारीले ५२८०३ मत ल्याए भने गुरुङले ३०६१२ मत ल्याए ।
उपमेयरमा निर्वाचित अधिकारी भरतपुर महानगरका नेपाली काँग्रेसका नगरसभापति समेत हुन् ।
चितवन काँग्रेसका सभापति राजेश्वर खनाल निकट मानिने अधिकारीले सभापति देउवालाई फकाएर टिकट हातमा पारेका थिए । जिल्लामा गठबन्धनको किचलो चलिरहँदा उनले माहोल ठीक पार्ने आश्वसन दिँदै देउवालाई फकाएर टिकट ल्याउन सफल भए र भारी मतका साथ महानगरको उपमेयरको ‘उपहार’ हात पारेका छन् ।
राजनीतिक यात्रा
बीस २०२४ साल जेठ १ गते भरतपुर- २९ पार्वतीपुरमा जन्मेका अधिकारी २०३८ सालबाट राजनैतिक यात्रामा होमिएका थिए । अधिकारी २०४२ सालको सत्याग्रहमा सहभागी भएर नेतृत्व गरेका थिए । २०४६ सालको जनआन्दोलनमा हिरासतमा लामो समय आफ्नो जीवन बिताएका अधिकारी पार्टीका सबै कार्यक्रमहरुमा अग्रपंक्तिमा रहेर नेतृत्व गर्दै आइरहेका छन् । अधिकारीले राजनीतिशास्त्रमा स्नातक सम्मको अध्ययन गरेका छन् ।
नेपाली काङ्ग्रेसको ११औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि, १२औँ महाधिवेशनमा क्षेत्रीय सदस्य हुँदै राजनीतिक यात्रा अगाडि बढाएका अधिकारी पार्टीको १३औँ महाधिवेशनमा जिल्ला सदस्य हुँदै १४औँ महाधिवेशनमा आएर भरतपुर महानगरको सभापति बनेका थिए ।
२०७४ सालको स्थानीय निर्वाचनमा भरतपुर- २१ को वडा अध्यक्षमा निर्वाचित भएका उनको कार्यकाल भने विवादरहित रहेन ।वडाअध्यक्षमा हुँदै गर्दा उनीमाथि आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन समेत गरेको थियो ।
वैशाख ३० गते सम्पन्न निर्वाचनबाट अधिकारी भरतपुर महानगरपालिकाको उपमेयर पदमा जिल्लामा निर्वाचित जनप्रतिनिधिमध्ये सबैभन्दा धेरै मतका साथ विजयी भएका हुन् ।