भरतपुर, १० जेठ ।
भरतपुरको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल पुन: निर्वाचित भएकी छिन् ।
२०७४ सालको स्थानीय चुनाव जितेर भरतपुरको प्रमुखमा एक कार्यकाल बिताइसकेकी दाहाल नै अनन्त: अबको पाँच वर्षको लागि पुनः मेयरमा निर्वाचित भएकी हुन् ।
दाहालले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई भारी मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी उनले ५२०३० मत ल्याइन् भने राप्रपासँगको तालमेलबाट उम्मेदवार बनेका सुवेदीले ३९५८१ मत ल्याए ।
यता सत्ता गठबन्धनबाट असन्तुष्ट बनेर बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले १४७२८ मत ल्याए ।
भरतपुरको मेयरमा दलगत र स्वतन्त्र गरेर २७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यी उम्मेदवारमध्ये दाहालको निकटमा प्रतिस्पर्धी भने सुवेदी थिए ।
भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । भरतपुरमा रहेका २९ वडा मध्ये सुरुवातमा विजय र रेनु दाहालबीच मतान्तर खोसाखोस भए पनि वडा नम्बर ४ को गणनापछि भने दाहालले आफ्नो मतान्तर बढाउँदै गइन् ।
वडा नम्बर २, ३ र १२ मा सुवेदीले लिड गरेपनि अन्य वडामा दाहालले मतान्तर बढाउँदै जाँदा सुवेदीलाई भारी मतले हराउँदै अन्तत: उनै दाहाल विजयी भएकी छिन् ।
सत्ता गठबन्धनको विरुद्धमा काँग्रेसका बागी भुँइकटहर चिन्ह लिएर चुनावमा होमिएका जगन्नाथ पौडेल उठ्दा रेनुलाई काँग्रेसको धेरै मत काटिने र अप्ठ्यारो पर्ने आँकलन गरिएपनि त्यस्तो हुन भने नसकेको मतपरिणामले देखाएको छ । सत्ता गठबन्धनसँग असन्तुष्ट काँग्रेस बाहेक एमालेकै भोट समेत रेनुलाई आएको मतगणनाको परिणामले देखाएको छ । एमालेले राप्रपासँग चुनावी तालमेल गरेपनि सत्ता गठबन्धनसँग फराकिलो मतले पराजय भोगेको छ ।
अघिल्लो स्थानीय चुनावमा एमालेका देवी ज्ञवालीलाई दाहालले २०३ को झिनो मतान्तरले मात्रै हराउँदा अहिलेको परिस्थिति भने फरक छ ।
अहिले दाहालले सुवेदीलाई १२ हजार ४४९ को भारी मतान्तरले पछि पारिन् ।
रेनु दाहालको राजनीतिक करिअर
२०७४ को स्थानीय चुनावमा निर्वाचित भएर पाँच वर्ष भरतपुरको मेयर भएर काम गरिसकेकी रेनु दाहाल भरतपुर -१४ शिवनगरको भीमसेन नगरमा विक्रम सम्वत् २०३३ साल असार २३ गते जन्मिएकी हुन् । रेनु दाहाल पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालकी दाेस्राे सन्तान हुन् । युद्धकालीन समयमा बुवा प्रचण्ड र आमा सीतासँगै देशभित्रै तथा प्रवासमा विभिन्न स्थानमा पुगेकी उनले जनयुद्धको कारण घर छाड्नुपर्दा एसएलसी भन्दा माथिल्लो अध्ययन गर्ने अवसर भने पाईनन् ।
हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेकी दाहालले वि.सं. २०५१ सालमा पार्टी सदस्यता लिएकी थिइन् । दाहाल २०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भएकी थिइन् ।जनयुद्धको भूमिगत कालमा प्रवास (भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी र महिलाको जिम्मेवारी वहन गरेको) तथा देशको विकट ग्रामिण क्षेत्रमा संगठनात्मक काममा सक्रिय रहेकि थिइन् । नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला सह-ईन्चार्जको रूपमा कार्य सम्पादन समेत उनले गरेकी थिइन् ।
दाहाल पहिलो संविधानसभा २०६४ मा समानुपातिकबाट सभासद् भएकी थिइन् भने दोस्रो संविधानसभाको निर्वाचन २०७० मा भने नेपाली काँग्रेसका नेता प्रकाशमान सिहसँग पराजित भएकी थिइन् ।
प्रवासमा अखिल महिला समाजकी केन्द्रीय समिति अध्यक्ष, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव रहेकी दाहाल काठमाडौँकी जिल्ला सचिव हुँदै हाल चितवन जिल्ला इन्जार्ज छन् ।
२०७४ सालकाे स्थानीय तह निर्वाचनमा एमालेका देवी ज्ञवालीलाई हराउँदै भरतपुर महानगरकाे मेयर बनेकि थिईन् ।
गएकाे पाँच वर्ष भरतपुरकाे भाैतिक विकासमा महत्त्वपूर्ण काम गरेकी दाहाल २०७९ काे स्थानीय निर्वाचनमा एमालेकै विजय सुवेदीलाई भारि मतान्तरले पराजित गरि दाेस्राेपटक महानगरकाे कुर्सीमा पुग्न सफल भएकी छन् ।