भरतपुर, ९ जेठ ।
धरान उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् । उनले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४७६२ मतले पराजित गरेका हुन् ।
स्थानीय चुनाव हुनुअघिसम्म धरानकाे मेयरमा एमालेकी मञ्जु भण्डारी र गठबन्धनका तर्फबाट कांग्रेसका किशाेर राईबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान थियाे । त्यसैले यी दुई उम्मेदवार बाहेकको चर्चा त्यत्रो विघ्न भएन, धरानमा ।
न त मिडियाले नै उल्लेख्य कभरेज गरे । तर, निर्वाचनको परिणामले भने धरानको राजनीतिक विश्लेषण नै उलटफेर गरिदिएकाे छ । धराने मतदाताले पहिलो पटक स्वतन्त्र उमेदवार हर्क साम्पाङलाई आफ्नाे शहरकाे मेयर चुनेका छन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बा मेयर बने । उनकाे २०७५ साउनमा निधन भयो । त्यसपछि भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राई मेयर निर्वाचित भए ।
वामपन्थी उमेदवारहरूलाई मात्र मेयर बनाउने धराने मतदाताले पहिलोपटक गैरवामपन्थी उम्मेदवार राईलाई मेयर बनाएका थिए । राजनीतिक क्रमभङ्ग भएको उपनिर्वाचनमा अहिले मेयरमा निर्वाचित हर्क साम्पाङको समेत सम्बन्ध जोडिन्छ ।
तीन वर्षअगाडि भएको उपनिर्वाचनमा समेत साम्पाङ सहभागी भएका थिए– स्वतन्त्र रूपमा । तिलक राईले जितेको त्यो चुनावमा साम्पाङ पाचाैँ भएका थिए । उपनिर्वाचनमा साम्पाङले ४२२ मत मात्र ल्याए ।
हुन त हर्क साम्पाङ विगत एक दशकदेखि धरानमा देखिरहेका सामाजिक अभियन्ता हुन् । ४-५ वर्ष अफगानिस्तान वारजोनमा समेत काम गरेका साम्पाङ अहिले यातायात व्यवसायी हुन् ।
पेसासँगै सामाजिक आन्दोलनमा समेत समय दिँदै आएका साम्पाङ सुरुवाती दिनमा सर्दु जलाधार क्षेत्र संरक्षण अभियानबाट सामाजिक काममा लागेका थिए ।
धरानका अगुवा कृष्णनारायण पालिखे नेतृत्वमा बनेको ‘जनसरोकार मञ्च’ मा रहेर साम्पाङले अभियानमा योगदान दिएका थिए । सर्दु जलाधार क्षेत्रमा मुआब्जा पाइसकेका मानिसहरूले पनि भू–माफियासँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि धरानमा त्यसको विरुद्धमा अभियान चलेको थियो ।