भरतपुर, ८ जेठ ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मतगणना धेरै ठाउँमा सम्पन्न भइसके पनि भरतपुरमा जारी छ । भरतपुरमा मुख्य गरेर तीन उम्मेदवारले धेरैको ध्यान खिचे । तीमध्ये एक थिए, नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल । सत्ता गठबन्धनले भरतपुरको मेयर माओवादी केन्द्रकी रेनु दाहाललाई दिने निर्णय गरेपछि चर्को असन्तुष्टि जनाउँदै उनी पनि मैदानमा स्वतन्त्र उम्मेदवारको रूपमा देखिए ।
तामझामका साथ उम्मेदवारी दर्ता गरेपछि फिर्ताका लागि राज्यको ठूलो शक्ति भरतपुरमा खटाइयो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवादेखि केन्द्र तहका वरिष्ठ नेताहरूले हरप्रयास गरे । यद्यपि जगन्नाथले आफ्नो चट्टानी अडानलाई कायम राख्दै चुनावमा भुइँकटहर चुनाव चिह्नका साथ होमिए ।
उनै जगन्नाथ पौडेलले जारी मतगणनामा भरतपुरको झण्डै ९२ हजारभन्दा बढी मतगणना सकिइसक्दा उनले १२ हजारभन्दा बढी मत पाइसकेका छन् । पौडेल भने यो मत आफूले अपेक्षा गरेभन्दा कम रहेको बताउँछन् । २६ वैशाखसम्म माहौल आफ्नो पक्षमा भए पनि मौन अवधिमा गठबन्धनले अनैतिक चलखेल गरेकाले आफ्नो पक्षको जनमत बिथोलिएको उनको बुझाइ छ । ‘निर्वाचनको मौन अवधिमा गर्नै नहुने कुकृत्य भएकाले त्यसकै कारण हाम्रो जनमत बिथोलिएको छ ।
तथापि १५/१८ हजारको संख्यामा साथीहरूले मलाई मतदान गर्ने देखिरहेको छु,’ आइतबार मतगणनास्थलमा भेटिएका पौडेलले पछिल्लो मतको विश्लेषण गर्दै भने, ‘मलाई मतदान गर्ने व्यक्तिहरू पार्टी जोगाउन मरिमेट्ने, कसैको डरधाक, धम्की प्रलोभनमा नआउने मान्छे हुन् । नेपाली कांग्रेसको उनीहरू नै ब्याक बोन हुन्, यिनीहरूकै नैतिक साहसमा कांग्रेस पार्टी अब अगाडि बढ्नेछ ।’
कांग्रेस पार्टीको जोगाउन र गठबन्धनविरुद्धमा आफ्नो उम्मेदवारी रहेको बताउँदै आएका पौडेल मेयर पद जित्न नसके पनि आफ्नो मुद्दाले जितिसकेको दाबी गर्छन् ।
‘चुनाव जित्नु हार्नु प्राविधिक कुरा हो । अहिले हाम्रो मत अढाइ तीन हजार त बदर भएको छ । त्यो हिसाबले हाम्रो मत २० हजारभन्दा बढी हुन्थ्यो तर निश्चित रूपमा त्यो मत चुनाव जित्नलाई पर्याप्त छैन । मलाई आएको मत विशुद्ध निष्ठाको राजनीति गर्नेको हो । त्यसैले मेरो मुद्दाले जितिसकेको मैले मानेको छु,’ उनले भने ।
कांग्रेसले पार्टीको विरुद्धमा उभिनेलाई कारबाही गर्ने निर्णय गरे पनि आफूसँग सूचना नआइनसकेको जगन्नाथको भनाइ छ । ‘कारबाहीको पत्र सार्वजनिक भए पनि मलाई आएको छैन । त्यतिले कारबाहीका लागि पर्याप्त हुँदैन । कारबाही गर्नुपर्ने मैले कुनै त्यस्तो अपराध गरेको छैन । मलाई किन कारबाही गर्ने रु म पार्टीको बफादार कार्यकर्ता हुँ । मेरो कदम ठीक छ भन्ने मतले पनि देखाइरहेको छ,’ उनले भने ।
पछिल्लो मतपरिणामलेआफ्ना समर्थकबाट उत्साहपूर्ण प्रतिक्रिया पाइराखेको उनको भनाइ छ । पार्टी शुद्धिकरणका लागि आफ्नो अभियान निरन्तर जारी राख्नेबारेमा समेत छलफल भइराखेको उनले जानकारी गराए । निर्वाचन सर्वसाधरणको पहुँचबाट टाढा गइराखेकाले यो विषयमा समेत आफूहरू छलफलमा रहेको उनी बताउँछन् ।
‘निर्वाचनमा पैसाको अन्धाधुन्ध चलखेलले मान्छेहरू उम्मेदवार हुन हिचकिचाउने अवस्था देखिएको छ । उम्मेदवार भइहाले पनि चुनाव नजित्ने अवस्था छ । यो विषयमा पनि हामी गम्भीर छलफल गरिराखेका छौँ,’ उनले भने । निर्वाचनको परिणाम आएपछि आमसभा गरे भावी योजना सार्वजनिक गर्ने उनको भनाइ छ ।
भरतपुरको पछिल्लो मतपरिणामअनुसार सत्ता गठबन्धनकी रेनु दाहाल विजयोन्मुख छिन् । यता उनका निकटतमा प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विजय सुवेदी उनीभन्दा झण्डै ८ हजार मतले पछाडि छन् । जगन्नाथको विश्लेषणमा एमालेलाई आफ्नैले अन्तर्घात गरे पनि कांग्रेसीले भने निर्ममतातापूर्वक आफैँमाथि आक्रमण गरेको उनको दाबी छ ।
उनी भन्छन, ‘भोटको प्याट्रन हेर्दा एमालेको सम्पूर्ण शक्तिको समर्थन विजयजीले पाउनुभएजस्तो देखिएन । अनि कांग्रेस पार्टीका कार्यकर्ताले त निर्ममतापूर्वक आक्रमण गरेको ममाथि नै हो । उनीहरूले मात्रै मलाई सहयोग गरेको भए मेरो मत ४० हजारभन्दा माथि हुन्थ्यो । तर, मलाई जिताउनुभन्दा रेनुलाई जिताउनु नै श्रेयस्कर लागे पनि केही दिनमै त्यसको पश्चात्ताप उनीहरूलाई हुनेछ,’ उनले भने ।