भरतपुर, ८ जेठ ।
अघिल्लोपटक २०७४ को स्थानीय चुनावमा धाँधली भएको भरतपुर–१९ को वडाध्यक्षमा नेकपा एमालेका प्रकाश तामाङ विजयी भएका छन् । मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल निरन्तर अगाडि बढिरहँदा यो वडामा गठबन्धनका वडाध्यक्षका उम्मेदवार भने पछि परेका छन् ।
नेपाली कांग्रेसका द्रोणबहादुर गुरुङलाई हराउँदै नेकपा एमालेका तामाङ विजयी भएका हुन् । जबकि यो वडालाई कांग्रेसको पकड क्षेत्र मानिन्छ । यो वडामा अहिले ३ हजार ४ सय ८८ मत खसेको थियो ।
अघिल्लो स्थानीय चुनावमा यो वडाको मतगणना गर्दैगर्दा मतपत्र च्यातिएपछि पुनः चुनाव गरेर मतपरिणाम आउँदा नेपाली कांग्रेसका कर्णबहादुर गुरुङ १ हजार ४ सय ७८ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला एमालेकै प्रकाश तामाङले १ हजार ९७ मत ल्याएर हारेका थिए ।
भरतपुर महानगरकाे वडा नम्बर १९ को मतगणनाका क्रममा जेठ १४ गते मध्यरातमा माओवादीका गणक प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए ।