भरतपुर, ७ जेठ
स्थानीय तह निर्वाचनमा भरतपुर महानगर प्रमुखमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले १० हजार मत कटाएका छन् ।
जारी मतगणनामा तेस्राे नम्बरमा रहेका भुइँकटहर चुनाव चिह्नधारी पाैडेलले १६ नम्बर वडाकाे मत गनिरहँदा १० हजार मत कटाएका हुन् । पाैडेल नेपाली कांग्रेसबाट विद्राेह गरी मेयर लडेका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत माओवादीकी रेनु दाहाल साझा उम्मेदवार भए पनि पाैडेल समूहले नमानेपछि कांग्रेसलाई तनाव भएकाे थियाे ।
पार्टीको निर्देशन नमानेकाे भन्दै पूर्वसांसदसमेत रहेका पाैडेलसँग उनका कैयौं समर्थकलाई कांग्रेसले कारबाही गरिसकेको छ । उनले कांग्रेसको भाेट काटेर गठबन्धनको उम्मेदवारलाई अप्ठ्यारो पर्ने आँकलन गरिए पनि उनकाे मतले रेनुलाई खासै असर गरेकाे देखिन्न ।
कुल ७७ हजार ३८६ मत गन्दा रेनुले २९ हजार ९९४ मत पाएकी छन् । ५ हजार ९०२ मतले पछि परेका नेकपा एमालेका विजय सुवेदीले २४ हजार ९३ पाएका छन् । जगन्नाथकाे १० हजार ५१४ मत छ ।
भरतपुरमा २९ वडा छन् । वैशाख ३० गते भएकाे मतदानमा १ लाख २७ हजार ५६६ मत खसेकाे थियाे ।