भरतपुर, ५ जेठ ।
चितवन जिल्लामा पछिल्लो मत परिणाम अनुसार बिहीबार राति ९ बजेसम्म ३५८ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । हालसम्म जिल्लाका ७ मध्ये ४ पालिकामा मतगणना कार्य सम्पन्न भइसकेको छ । ४ मध्ये ३ पालिकामा नेकपा एमालेले प्रमुख (वा अध्यक्ष) पद जितेको छ । यस्तै सत्ता गठबन्धनको ठूलो दल नेपाली काँग्रेसले भने हालसम्म एउटा पालिकामा मात्रै प्रमुख पद जित्न सफल भएको छ ।
उपप्रमुख पदतर्फ पनि नेकपा एमालेले नै बढी सिट जितेको छ । उसले ३ पालिकामा उपप्रमुख वा उपाध्यक्ष पद जित्दा नेपाली काँग्रेसले भने एउटा मात्रै पालिकामा उपप्रमुख पद जितेको छ ।
जिल्लाको माडी र खैरहनी नगरपालिकामा दुई फरक पार्टीले प्रमुख तथा उपप्रमुख पद जितेका छन् । जबकी कालिका नगरपालिकाको प्रमुख र उपप्रमुख तथा इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेले एकतर्फी नतिजा ल्याउन सफल भएको छ ।
हालसम्म जिल्लाका ९८ मध्ये ७० वडामा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको बिहीबार राति १० बजेसम्मको विवरण अनुसार जिल्लामा हालसम्म ३५० वटा पदको टुँगो लागिसकेको छ ।
७० वटा वडाको मतगणना सकिँदा २७ वडामा काँग्रेस विजयी, एमालेले जित्यो २६ वटा वडा अध्यक्ष
नतिजा सार्वजनिक भएका ७० मध्ये २७ वटा वडामा नेपाली काँग्रेसले वडा अध्यक्ष पद जितेको छ । त्यस्तै, नेकपा एमालेले २६ वटा वडामा जित हात पार्दै काँग्रेसलाई पछ्याइरहेको छ । तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ८ स्थानमा वडा अध्यक्ष पद जितेको छ भने गठबन्धनकै अर्काे दल नेकपा (एकीकृत समाजवादी)ले ५ ठाउँमा वडा अध्यक्ष पद जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का २ जना उम्मेद्वार वडा अध्यक्षमा निर्वाचित हुँदा दुई वटा वडामा स्वतन्त्र उम्मेद्वारले वडा अध्यक्ष पद हासिल गरेका छन् ।
हालसम्म निर्वाचित भएका ३१० जनप्रतिनिधिमध्ये सबैभन्दा बढी नेकपा एमालेका १६१ जना रहेका छन् । त्यस्तै नेपाली काँग्रेसका ११८, माओवादी केन्द्रका २१, राप्रपाका ७, नेकपा (एस)का २ तथा स्वतन्त्रतर्फ एक जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
प्रमुख तथा उपप्रमुखको नतिजाः
इच्छाकामना गाउँपालिका : अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित
कालिका नगरपालिका : प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित
खैरहनी नगरपालिका : प्रमुखमा काँग्रेस तथा उप्रप्रमुखमा एमालेका उम्मेद्वार निर्वाचित ।
माडी नगरपालिका : प्रमुखमा एमाले तथा उपप्रमुखमा काँग्रेसका उम्मेद्वार निर्वाचित ।
कुन दलले कुन वडामा जिते वडा अध्यक्षको पद ?
नेपाली काँग्रेस : भरतपुर महानगरपालिका वडा नं १, २, ४, ५, ६ र ८, कालिका नगरपालिकाका वडा नं १, ५, ६, ७ र १०, खैरहनी नगरपालिका वडा नं १, २, ३, ८, १० र १२, रत्ननगर नगरपालिका १, २, ३, ४, ५, ६ र ८, इच्छाकामना गाउँपालिका वडा नं ७ तथा राप्ती नगरपालिका वडा नं १२ ।
नेकपा एमाले : भरतपुर महानगरपालिका वडा नं ३, रत्ननगर नगरपालिका वडा नं ७ र ११, इच्छाकामना गाउँपालिका वडा नं २, ३, ४, ५ र ६, कालिका नगरपालिका २, ४, ९ र ११, खैरहनी नगरपालिका ४, ५, ६, ७, ९, ११ र १३, माडी नगरपालिका वडा नं ६ तथा राप्ती नगरपालिका वडा नं १, ४, ५, ६, ८ र ९ ।
माओवादी केन्द्र : रत्ननगर नगरपालिका वडा नं १२, इच्छाकामना गाउँपालिका वडा नं १, कालिका नगरपालिका वडा नं ३ र ८ तथा माडी नगरपालिका वडा नं २, ४, ५ र ९ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी : माडी नगरपालिका वडा नं १ र ८ ।
नेकपा (एकीकृत समाजवादी) : भरतपुर महानगरपालिका वडा नं ७ र ९, राप्ती नगरपालिका वडा नं ११ र माडी नगरपालिका वडा नं ३ र ७ ।
स्वतन्त्र : रत्ननगर नगरपालिका वडा नं ९ र राप्ती नगरपालिका वडा नं ७ ।