भरतपुर, ५ जेठ
स्थानीय तह निर्वाचन २०७९ को मतगणना जारी छ । निर्वाचन आयोगले करिब ८० प्रतिशत मतगणना सकिएको जनाएको छ । देशभर गणना कार्य निकै सुस्त गतिमा अघि बढिरहेको छ ।
मतदान सकिएको ६ दिन बितिसक्दा पनि मतगणना सकिएको छैन । हालसम्म नतिजा आएका पालिकाहरूमा सबैभन्दा बढी नेपाली कांग्रेसले जित हात पारेको छ । यसअघिको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले यसपालि पहिलो दल बन्ने स्पष्ट संकेत गरेको छ ।
बेलुकी ८ बजेसम्मको नतिजा हेर्दा देशभरका ५९१ स्थानीय तहको मतपरिणाम आइसकेको छ । यसमा नेपाली कांग्रेसले २६२ स्थानमा प्रमुख पद जितिसकेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले अहिलेसम्म १६८ स्थानमा प्रमुख जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले १०६ स्थानमा प्रमुख जितेको छ ।
मतगणना गर्न बाँकी १६२ स्थानीय तहमध्ये कांग्रेसले ६० स्थानमा अग्रता कायम गरेको छ भने ३१ स्थानमा मात्रै नेकपा एमाले अगाडि छ । यसरी हेर्दा पनि कांग्रेसलाई उछिनेर पहिलो दल बन्ने एमालेको सम्भावना देखिन्न । त्यस्तै मतगणना जारी रहेका १४ पालिका प्रमुखमा माओवादी उम्मेदवारको अग्रता देखिन्छ ।
यसबाहेक मुलुकका १६ स्थानमा जनता समाजवादी पार्टी नेपालले प्रमुख जितेको छ भने नेकपा एकीकृत समाजवादीले १४ प्रमुख जितेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ४ स्थानीय तह जितेको छ ।