भरतपुर, ५ जेठ ।
केन्द्रकै चासो बोकेको भरतपुर महानगरपालिकाको प्रमुखमा उठेका ठूला दलका उम्मेद्वारहरूसँगै एक युवा उम्मेद्वारको पनि चर्चा सर्वत्र भयो । गठबन्धनकी रेनु दाहाल, एमालेका विजय सुवेदी र स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलसँगै विवेकशील साझा पार्टीबाट मेयरको उम्मेद्वार बनेका २८ वर्षे इन्जिनियर प्रविण काफ्लेले पनि चर्चा बटुले ।
युवा उमेरका, आत्मविश्वासी र एजेन्डा बोकेका काफ्लेको उम्मेद्वारीको जुन स्तरमा चर्चा भयो, त्यसरी नै उनले मत भने बटुल्न नसकेको देखिएको छ । अन्य ठूला दलका उम्मेद्वारको तुलनामा उनको मत नगण्य मात्रामा छ ।
भरतपुरको वडा नम्बर ७ को मतपरिणाम आइसक्दा उनले १ सय ८ मत मात्र प्राप्त गर्न सकेका छन् । बुधवार मतगणनास्थलमा भेटिएका काफ्ले अहिलेको मतपरिणाम अनपेक्षित रहेको बताउँछन् ।
आफूहरुले धेरै आशा नराखेपनि न्यूनतम मत पनि नपाएको उनको ठम्याइ छ । चुनावी प्रचारप्रसारमा जाँदा हजारौँले भोट दिन्छु भनेर आश्वसन बाँडे पनि भोट नपाउँदा उनको मन पिरिएको छ ।
“अहिले पाएको मतपरिणाम देखेर छक्क परेको छु । सयदेखि दुई सयमै थन्किनुपर्ला जस्तो लागेको थिएन । धेरै नभएपनि हाम्रो अपेक्षा पाँच हजार भोट त पाउँछौं भन्ने थियो,” मतपरिणामबारे प्रतिक्रिया दिँर्द उनले भने, “मतदाताको घरघरमा पुग्दा सबैले आशीर्वाद र शुभेच्छा दिनुभयो । दूध र मही पनि खुवाउनुभो तर भोट भने दिनुभएनछ ।”
भरतपुरमा व्यक्ति एजेन्डा भन्दा दलको आन्तरिक प्रभाव हावि हुँदा मतपरिणाम अपेक्षित नआएको उनको दाबी छ । उनी भन्छन्, “मैले प्रचारप्रसारका क्रममा कम्तीमा पनि ४०-५० हजार जनालाई घोषणापत्र बाँडे हुँला । त्यो पढिदिएको भएपनि केही अर्थ लाग्थ्यो होला । मत भनेको विचार, व्यक्तिको एजेन्डा र इमानदारिताले निर्धारण नगर्ने रहेछ ।”
मतदाता बटुल्न अनेक जालझेल रच्ने उम्मेदवारहरूको परिपाटी बल्ल देख्न पुगेको उनले सुनाए । “यहाँ यतिधेरै राजनीतिक जालझेल होला जस्तो सोचेको थिइनँ । भित्री राजनीतिक सञ्जाल बुझ्दा कडा रहेछ । त्यो भरतपुरको लागि स्वस्थ छैन,” उनले अगाडि थपे, “अहिले गठबन्धनबाट १ भोट फुत्काउन मात्रै पनि हम्मेहम्मे छ । ”
आफूले पाएको भोटमा आफ्नै पार्टीभित्रकै असन्तुष्टि र आन्तरिक किचलोले पनि प्रभाव पारेको उनको बुझाइ छ । आगामी दिनमा एकताबद्ध भएर अगाडि बढ्न पार्टीलाई दबाब दिने र जिल्लामा सांगठनिक बिस्तारमा लागिरहने उनले बताए ।
हालको मतपरिणामले निराशा बनाएपनि महानगरपालिकामा निर्वाचित भई आउने जनप्रतिनिधिहरूलाई खबरदारी गर्दै आफ्नो उपस्थिति बढाएर लैजाने उनको योजना छ ।