गोरखा, ५ जेठ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको गृहनगरमै उनको पार्टी जनता समाजवादी पार्टी पराजित भएको छ । गोरखाको पालुङटार नगरपालिकाको मेयर, उपमेयरमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार नवनिर्वाचित मेयर विवश चिन्तन ६ हजार ७२ मत प्राप्त गर्दै निर्वाचित बने ।
उपमेयरमा बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मत प्राप्त गर्दै विजयी भइन् । चिन्तनका प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत ल्याए ।
उपमेयरको निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाइन् ।
पालुङटार भट्टराईको निर्वाचन क्षेत्रमा पर्छ ।
पालुङटारमा जसपा र एमालेबीच मेयर, उपमेयरमा एकले अर्कालाई सघाउने गरी चुनावको अन्तिम समयमा तालमेल भएको थियो । चुनावअघि कांग्रेसले मेयरमा जसपा उमेदवारलाई सघाउन निर्देशन दिए पनि स्थानीय असन्तुष्टिका कारण कांग्रेस, जसपाबीचको गठबन्धन सफल हुन सकेन ।