२०७४ सालको स्थानीय निर्वाचनमा भरतपुरको मेयरमा विजयी भई पाँचवर्षे कार्यकाल सम्पन्न गरिसकेकी रेणु दाहाल आसन्न निर्वाचनमा पनि मेयरका लागि मैदानमा छिन् । सत्तारुढ गठबन्धनको उम्मेदवारको रूपमा रहेकी दाहालले अघिल्लो कार्यकालमा गरेको विकास निर्माणका कामले जनताको मन जितेको बताउँदै अहिले पनि आफूले जित्ने दाबी गर्दै आएकी छिन् । प्रस्तुत छ, दाहालसँग कायाकैरनले गरेको कुराकानी :
स्थानीय चुनाव पनि नजिकियो । तपाईं चुनावी घरदैलोमा हुनुहुन्छ । कस्तो प्रतिक्रिया पाइराख्नुभएको छ ?
जनतामा सकरात्मक प्रतिक्रिया छ । उत्साहजनक छ । सबैतिर विकासको लागि रेणु दाहाल भन्ने छ । हिजोको ठूलाठूला योजनाहरूलाई निरन्तरता दिन रेणु नै चाहिन्छ भन्ने छ । भरतपुर महानगरपालिकामा पूर्वाधारका योजनाहरू अगाडि बढेका छन् । समग्र योजनाहरू जसरी अगाडि बढेका छन्, ती सबै आयोजनाहरूलाई सम्पन्न गर्नका लागि पनि रेणु दाहालको विकल्प छैन । मैले बाहेक अरुले गर्न सक्दैन भन्ने आम भरतपुरवासीको बुझाई छ । उत्साहजनक माहाैल छ ।
पहिलो कार्यकालमा के गर्न सक्नुभएन र तपाईं फेरि मैदानमा हुनुहुन्छ ?
पहिलो कार्यकालमा गर्न नसकेको त्यस्तो केही होइन । अब भरतपुरलाई दीर्घकालीन सोचका साथ महानगरपालिकाको समग्र विकास समृद्धिको लागि हामीले जग तयार गरेका छौँ । यसलाई पूर्णता दिनका लागि थप एक कार्यकाल चाहेका हौँ । जसले बच्चा जन्माउँछ, उसलाई जति माया त अरुलाई हुँदैन । अब यहाँ जति पनि अन्तर्राष्टिय स्तरका ठूलाठूला गौरवका योजनाहरू अगाडि बढेका छन्, त्यसलाई सम्पन्न गर्नुपर्ने छ । जस्तो भरतपुर महानगरपालिकाको नारायणी तटबन्धनका योजना झण्डै पाँच अर्बको योजना छ, त्यसलाई सम्पन्न गर्नुपर्ने छ । त्यसलाई सुरुवात हामीले गर्याैँ । बजेटको सुनिश्चतता भएर टेण्डर भयो, शिलान्यास भयो । कामको सुरुवात हुँदैछ, यसलाई सम्पन्न गर्नुपर्ने छ।
भरतपुरवासी जनताको वर्षौंदेखिको एउटा टड्कारो आवश्यकता र एकदमै व्यग्र प्रतीक्षाको विषय थियो नारायणी तटबन्धनको योजना । बर्सेनि बाढीको जोखिम र जनधनको क्षति हुने पीडा धेरै थियो । यसको दूरगामी र दीर्घकालीन समाधानका लागि यो योजना अगाडि बढेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सम्पन्न गर्नुपर्ने छ । नारायणी किनारमा सि बीच मोडलको विकास भनेका छौँ । हामीले त्यसलाई पनि सम्पन्न गर्नुपर्ने छ । महानगरपालिकाको सिटी हल देशमै पहिलो अन्तर्राष्ट्रिय मापदण्ड सभागृह बनाउँदै छौँ, त्यसलाई सम्पन्न गर्नुपर्ने छ । मलाई व्यक्तिगत हिसाबले रहर त थिएन । तर, समग्र आवश्यकतालाई बुझेर भरतपुरको भविष्यलाई बुझेर मैले दोस्रोपटक पनि मेयरको रूपमा उम्मेदवारी दिएकी छु ।
तपाईंले बारम्बार आफ्नो मेयरमा उठ्ने व्यक्तिगत इच्छा नभएको बताइरहनुभएको छ । कसरी उम्मेदवारी दिने माहाैल बन्यो ?
व्यक्तिगत इच्छा छैन, अहिले पनि म भन्दैछु । मेरो रहर होइन यो । समय परिस्थिति परिवेश सबैको र भरतपुरको भविष्यलाई पनि हेरेर मैले अन्तिमपटक एकचोटी दुःख गर्नुपर्छ भन्ने ठानेकी छु । किनकि सबै योजनाहरू अलपत्र पर्लान् कि ? अरुले अपनत्व लिएर अगाडि नबढाउला कि भन्ने हिसाबले पनि भरतपुरको भविष्यलाई हेरेर पनि एक कार्यकाल दु:खै गर्नुपर्छ । विकास गरेको हो भने जनताले महसुस गरेको खण्डमा भोट दिनुहुन्छ भन्ने ठानेर मैले एक्लै भए पनि लड्नुपर्छ कि भनेर सोचेकी थिए ।
परिस्थितिले पाँचदलीय गठबन्धन बनेको छ । गठबन्धनको उम्मेदवारको रूपमा म छु । यो पनि राम्रै हो । यदि यो हुन्नथ्यो भने पनि मैले पहिल्यै महसुस गरेकी थिएँ, मन बनाएकी थिएँ, सिंगल नै भए पनि भरतपुरको विकासलाई हेरेर एकचोटि दुःख गर्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने मैले सोच बनाइसकेकी थिएँ ।
भरतपुरमा सत्ता गठबन्धनकै एक दल नेपाली कांग्रेसको असन्तुष्ट समूहको तर्फबाट जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनुभएको छ । यसले मत परिणाममा कत्तिको प्रभाव पार्ला ? तपाईंको आकलन के छ ?
त्यसले खास्सै प्रभाव पार्ला जस्तो मलाई लाग्दैन । किनकि गठबन्धनको उम्मेदवारको रूपमा आधिकारिक उम्मेदवार म नै छु । नेपाली कांग्रेसको तर्फबाट पनि उहाँलाई केन्द्रीय सभापतिदेखि शीर्षस्थ नेताहरू सबैले फिर्ताको लागि आग्रह गर्नुभयो । पार्टीले गरेको आग्रहलाई पनि जगन्नाथ पौडेलजीले स्वीकार गर्नुभएन । उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । हिजो स्वतन्त्र उम्मेदवारी दिँदाको अवस्था र देशैभरि स्वतन्त्र उम्मेदवारी हुँदा कस्तो अवस्था रह्यो भन्ने कुरा विगतका इतिहासले पनि पुष्टि गर्छ भन्ने लाग्छ । स्वतन्त्र उम्मेदवारी दिएर सबै मत सर्लक्कै पाउनुहुन्छ जस्तो लागेको छैन ।
दोस्रो कुरा फेरि यो गठबन्धन कुनै एउटा पार्टी विशेष होइन । देशको भविष्यलाई हेरेर आवश्यकतालाई बुझेर शान्ति र संविधानका पक्षधरहरू, समग्र गणतन्त्र, संघीयता, परिवर्तनका जो उपलब्धिहरू छन् ती उपलब्धिका मुख्य पक्षधरहरूको गठबन्धन यो बनेको छ । खास गरेर २०६२/६३ को आन्दोलनको शान्ति प्रक्रियापछि विस्तृत शान्ति सम्झौताहुँदै १२ बुँदे सम्झौता गरेर आएका हामी सहयात्री पार्टीहरू विशेष गरेर तत्कालीन राज्यपक्षबाट नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो भने विद्रोही पक्षबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो । विस्तृत शान्ति सम्झौता गरेर यहाँसम्म आएका छौँ । शान्ति र संविधानको मन्त्र सुरुदेखि अहिलेसम्म त्यसलाई पूरा गरेका छौँ । नेपालको नयाँ संविधान २०७२ जारी गरेका छौँ । सबै परिवर्तनका हामी नै हौँ हिमायतीहरू । परिवर्तनका विरोधीहरू पनि छन् । हलो बोकेर नेकपा एमाले हिँडिराखेको छ । गणतन्त्रका विरोधीहरू, गठबन्धनका विरोधीहरू, संघीयताका विरोधीहरू अर्को खेमामा छन् । हामी अग्रगामी परिवर्तनका पक्षधरहरू शान्ति, संविधान, लोकतन्त्रका पक्षहरू यता छौँ ।
यसले गर्दा मलाई कस्तो लाग्छ भने जगन्नाथ पौडेलजीले समग्र विषयवस्तु र देशको आवश्यकतालाई बझ्न सक्नुभएन । यो खालको दूरगामी महत्वलाई बुझेर पाँचदलीय गठबन्धनबाट साझा दृष्टिकोण राखेर देश अगाडि बढेको छ, त्यस कुरालाई उहाँले बुझ्न सक्नुभएन कि भन्ने मलाई लाग्छ । पार्टीगत हिसाबले उहाँलाई कारबाही भइसकेको छ । उहाँ पार्टीको आधिकारिक उम्मेदवार पनि होइन । एउटा स्वतन्त्र उम्मेदवारको रूपमा रहँदै गर्दा त्यति धेरै असर हुन्छ जस्तो लाग्दैन ।
भरतपुरमा गठबन्धन दलकोविरुद्धमा एमाले र राप्रपाको तालमेल भएको छ । भरतपुरका मेयरका उम्मेदवार विजय सुवेदीलाई बलियो उम्मेदवार भनेर पनि चर्चा गरेको सुनिन्छ । कत्तिको भारी पर्ला जित्न तपाईंलाई ?
मैले अघि पनि भनेँ, एमाले र राप्रपा भनेको अप्राकृतिक खालको एउटा वाम पार्टी र अर्को त्यो पनि गैरवाम परिवर्तनको विरोधी, हिन्दुराष्ट्रवादी, गणतन्त्रको विरोधी, धर्मनिरपेक्ष विरोधी शक्तिसँग नेकपा एमालेले गठबन्धन गरेको छ । उहाँहरूको गतिविधिको हिसाबले जनताबाट निर्वाचित सम्मानित संसद दुई/दुईचोटि विघटन गर्ने पटकपटक संसदको गला रेट्ने काम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो । हामीले हासिल गरेका उपलब्धिहरूलाई जबर्जस्ती खोस्ने काम केपी ओलीबाट भयो ।
एकलौटी ढंगबाट तानाशाही प्रवृति र निरंकुश ढङ्गबाट उहाँ अगाडि बढ्न खोज्नुभयो । जसले गर्दा स्थिर सरकार बनाउने र देशको विकास र समृद्धिलाई अगाडि बढाउने स्थायित्व दिने भनेर निर्माण भएकाे पार्टी छिनभरमै टुक्राटुक्रा भयो । दुईतिहाईको सरकार र ठूलो पार्टी क्षतविक्षत, कमजोर भयो । नेकपा विभाजन भयो ।तत्कालीन एमाले पनि विभाजन भएर त्यहाँभित्रका शीर्षस्थ आदरणीय नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरू अहिले नेकपा एमालेमा रहन सक्ने अवस्था भएन । केपी ओलीको स्वेच्छाचारी, दम्भ र निरङ्कुशताले गर्दा सबै कुरा गुम्यो । सरकार गुम्यो, प्रदेश सरकार गुम्यो । र पनि अझै यस्तो खालको गठजोड गरेर उहाँ अगाडि बढ्न खोज्नुभएको छ । त्यसैले मैले यसलाई अप्राकृतिक गठजोड भनेको छु । त्यसैले पनि उहाँ बलियो हुनुहुन्न । किनकि यो परिवर्तनको पक्षधर उहाँ हुनुभएन ।
हामी परिवर्तनका पक्षधर हौँ । शान्ति र परिवर्तनका पक्षधरहरू हौँ । त्यसले गर्दा हामी बलियो छौँ । एमाले र राप्रपाको तालमेलले खासै अर्थ राख्छ जस्तो लागेको छैन । गएको २०७४ को निर्वाचनमा माओवादी केन्द्र र नेपाली कांग्रेसको तर्फबाट भरतपुर महानगरपालिकामा गठबन्धन भएको थियो । अहिले त झन् हामी पाँचवटा पार्टी छौँ । हामी बलियो छौँ । समग्र परिस्थितिले पनि अहिलेको पटकपटकका प्रतिगमन र यसको लडाईंबाट हामी विजय प्राप्त गरेर यहाँसम्म आएका छौँ । अब जनताको अभिमतबाट पनि त्यो प्रवृत्तिलाई परास्त गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो । हामीलाई हार्ने छुट छैन र हामी हार्दैनौँ ।
तपाईंले सडक कालोपत्रे त गर्नुभयो तर, अरु विकास गर्नुभएन भन्ने आरोप छ नि । यसमा तपाईंको भनाइ के छ ?
हैन नि, भरतपुर महानगरले कालोपत्रे मात्रै गर्यो र ? हाम्रो घोषणापत्रमा पनि आउँदैछ यो पाँच वर्षमा महानगरपालिकाको बजेट कति र संघीय सरकार, प्रदेश सरकारबाट हाम्रो सक्रिय पहलबाट कति बजेट आयो भन्ने कुराहरू प्रतिबद्धतापत्रमा पनि स्पष्ट डाटासहित उल्लेख गर्दैछौँ । थुप्रै योजनाहरू अगाडि बढेका छन् । हो, हाम्रो सडकमा उल्लेखनीय प्रगति छ । ६ सय २२ किलोमिटर सडक पिच भएको छ पाँच वर्षको अवधिमा । खानेपानीमा भन्ने हो भने चौकीडाँडादेखि गोलाघाटसम्मका जनतालाई खानेपानीको सुनिश्चतता भएको छ । झण्डै पौने चार अर्बको खानेपानी योजनाहरू यो पाँच वर्षमा हामीले अगाडि बढाएका छौँ ।
शिक्षाको क्षेत्रमा हामीले यो पाँच वर्षमा ७ हजार विद्यार्थीहरूको संख्या सामुदायिक विद्यालयमा बढाउन सफल भएका छौँ । विद्यालयको गुणस्तर विकास गरेका छौँ । भौतिक पूर्वाधारको विकास गरेका छौँ । हामीले पर्यटनको त्यसरी नै विकास गरेका छौँ । नगरस्तरीय पार्कहरू ठाउँठाउँमा हामीले बनाएका छौँ ।
कृषिको हिसाबले पशुपालक किसानलाई प्रतिलिटर ३ रूपैँयाको दरले हामीले अनुदान दिएका छौँ । आजसम्म कुनै पनि सरकारले गरेको छैन । हामी पहिलो हौँ भरतपुर महानगरपालिका सुरुवात र सबैभन्दा बढी प्रतिलिटर ३ रूपैँया दिने हामी नै हौँ । कृषिमा थुप्रै अनुदानका कार्यक्रमहरू छन् । विदेश पलायन हुने युवाहरूलाई स्वदेशमै उद्यमशीलताका लागि भनेर युवा कृषकका लागि ब्याज अनुदानका कार्यक्रम हामीले अगाडि बढाएका छौँ । कृषिजन्य विभिन्न ढुवानीका साधनहरू औजारहरू अनुदानको रूपमा दिएका छौँ । सडक मात्रै होइन, भरतपुरको समानुपातिक र दिगो र सन्तुलित विकासको मोडलअनुसार अगाडि बढेका छौँ ।
प्रचण्डको छोरी भएको कारणले तपाईंले अवसर पटकपटक पाउनुभयो भन्ने आरोप सुनिन्छ नि । यसमा के भन्न चाहनुहुन्छ ?
प्रचण्डको छोरी भएर मैले केही अवसर पाएको छैन । मैले दुःख मात्रै गरेको छु । मेरा आफ्नो व्यतिगत इच्छा चाहना छोडेर हिजो पनि १० कक्षा पढ्दापढ्दै कापीकिताब फालेर मुलुक परिवर्तनका लागि संर्घषमा होमिएको हो । त्यहाँदेखि आजसम्म लगभग २७ वर्ष भयो । २७ वर्षदेखि म निरन्तर जनताको सेवामा छु । कहिल्यै पनि म अरु काममा अलमलिएको छैन । निरन्तर छु । जनयुद्धको बेलामा कालबाट बाँचेर आइयो, मर्न पनि सकिन्थ्यो । त्यतिबेलाको कहालीलाग्दो अवस्थामा पनि हामी खट्यौँ । त्यसपछि पनि कहिले रोल्पामा पार्टीको जिम्मेवारी लिएँ, कहिले प्रवास भारतमा आफ्नो भूमिका लिएर जिम्मेवारी निभाएँ ।
२०७४ सालको चुनाव लड्न आउनुअगाडि देशको राजधानी काठमाडौं जिल्लाको पार्टी सेक्रेटरीको भूमिकामा थिएँ । अब यहाँ आएर पनि म पार्टीको जिल्ला इन्चार्ज छु । मेयरको हिसाबले पनि भूमिका निर्वाह गरेँ । मेयरको रूपमा म परीक्षण भइसकेँ । मैले जनताको पक्षमा कति काम गरेँ वा गरिनँ भन्ने कुरा त मेरा कर्मले छर्लङ्ग देखिएको छ नि । गर्वले शीर ठाडो गर्ने गरी जनताको अगाडि हरेक सवालका जवाफ दिने गरी मेरो पहिलो कार्यकाल मैले व्यतीत गरेको छु । यसमा मलाई गर्व छ । यसकारण प्रचण्डको छोरी भएर मैले लाभ लिएकी छैन । जनता र राष्ट्रको लागि योगदान मात्रै दिएको छु । मेलै लाभ लिएर ऐसआरामको जिन्दगी जिएको छैन ।