२८ असोज ः नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान लेखनमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै पार्टीका सांसदहरुलाई बधाइ दिनुभएको छ ।
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले माओवादीको नेतृत्वमा नै संविधान निर्माण भएको र त्यसले मुलुकलाई एउटा राजनीतिक युगमा लगेको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “माओवादीले नेतृत्व नगरेको भए संविधान पनि बन्ने थिएन, समावेशी, समानुपातिक प्रतिनिधित्व पनि सुनिश्चित हुने थिएन, यसकारण तेस्रो शक्तिका रुपमा भए पनि आफ्नो पार्टी सफल भएको छ, यही सफलताको आलोकमा आगामी प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन सफल बनाउनमा लाग्नु जरुरी छ ।”
संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनका लागि प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन जरुरी र अत्यावश्यक रहेकाले सोही दिशामा मुलुक गएको उल्लेख गर्दै उहाँले आगामी मंसिर १० र २१ गते सो निर्वाचन सम्पन्न भएरै छाड्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले मुलुकको आवश्यकता र चाहनाले नै कम्युनिस्ट पार्टीका बीचमा एकता र सहकार्यको प्रक्रिया अगाडि बढेको भन्दै नेतृत्वले लिएको जोखिमलाई कार्यकर्ता र जनस्तरमा लगेर निर्वाचनको माहोल बनाउन सबैमा आग्रह गर्नुभयो ।
संविधान लेखन जस्तो महत्वपूर्ण कार्यभार पूरा गरेकोमा सबै सांसदलाई बधाई र धन्यवाद दिनुहुँदै उहाँले आगामी दिनमा पनि देश र जनताको सेवाका लागि तयार भएर रहनसमेत सांसदहरुलाई अनुरोध गर्नुभयो ।
माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहालले समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत परिवर्तनको एजेण्डा स्थापित गर्न महत्वपूर्ण काम गरेको सांसदलाई इतिहासले मूल्यांकन गर्नेसमेत उल्लेख गर्नुभयो ।
बैठकपछि माओवादी केन्द्रका सांसदको संयुक्त तस्वीरसमेत खिचिएको र सफल कार्यकालका लागि बधाई आदानप्रदानसमेत गरिएको थियो ।
–––