नेकपा एमाले चितवनले आइतबार भरतपुर महानगरको मेयरमा वाग्मती प्रदेश सांसद विजयी सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगरको मेयर पदमा उम्मेदवार बनेका सुवेदीले एमाले चितवनको तीन पटक नेतृत्व हाँकिसकेका छन् । वाग्मती प्रदेशका पूर्वमन्त्री सुवेदी अहिले एमाले वाग्मती प्रदेश कमिटीका सचिव हुन् । चितवनको राजनीति, स्वास्थ्य, शिक्षा र समग्र विकासमा सुवेदीले योगदान दिएका छन् ।
प्रस्तुत छ, चार दशक राजनीतिमा बिताएका सुवेदीसँग आगामी स्थानीय चुनाव र उनको उम्मेदवारीबारे कायाकैरनले गरेको कुराकानी :
भरतपुरको मेयर पदमा नेकपा एमालेको तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवारको रुपमा उठ्ने निश्चित भइसक्यो । कस्तो महसुस गर्दै हुनुहुन्छ ?
मेरो एउटा सपना छ । आफू बसेको ठाउँ संसारभर जाँदा नेपाल र नेपाली भनेपछि गौरव गर्ने बनोस् । नेपालीहरुको संसारभर इज्जत प्रतिष्ठा होस् । त्यसको लागि ७५३ वटा स्थानीय पालिका राम्रो हुनुपर्छ । तीमध्ये ६ वटा महानगपालिकामध्ये भरतपुर महानगरपालिकालाई एउटा समृद्ध, स्वच्छ र हरियाली वातावरणको प्राकृतिक सौन्दर्यको महानगर बनाउन सक्यौँ भने संसारभर जाँदा हाम्रो सम्मान हुन्छ । आज जुन प्रकारको विकास भइरहेको छ, त्यसबाट म त्यति धेरै सन्तुष्ट छैन । जुन ढङ्गबाट विकास हुनुपर्ने हो त्यस किसिमले भएको छैन । आधुनिक र व्यवस्थित सिटी बनाउन मेरो परिकल्पना छ । त्यो पूरा गर्न महानगरवासी जनतासँग आफ्नो एजेन्डा राख्नेछु । स्वच्छ, सफा, समृद्ध महानगरको सपना पूरा गर्नेछु ।
अघिल्लो स्थानीय चुनावमा एमाले एक्लै थियो । काँग्रेस र माओवादीको गठबन्धन थियो । अहिले पनि पाँचदलीय गठबन्धनको चर्चा छ । जित कठिन छ जस्तो लाग्दैन ?
जति गठबन्धन भए पनि मुख्यरुपमा यहाँ नेकपा एमाले र नेपाली काँग्रेस नै हुन् । त्यसपछि एउटा शक्तिको रुपमा नेकपा माओवादी रहेको छ । मुख्यरुपमा तीनवटा शक्ति देखिन्छ । अरु शक्तिहरु पनि केही रुपमा छन् । नेकपा समाजवादी अथवा विभिन्न पार्टीहरु छन् । विचार र सिद्धान्त अथवा कार्यक्रम र एजेन्डाको आधारमा सबै पार्टीहरु प्रतिस्पर्धामा गए राम्रो हुन्थ्यो जस्तो लाग्छ । कसैको पक्ष वा विपक्षमा गठबन्धन गर्नु राम्रो होइन जस्तो लाग्छ मलाई । उहाँहरुको कुरा हो, यसमा धेरै जान्न ।
एउटा कुरा के हो भने महानगरवासी जनता सार्वभौमसत्ता सम्पन्न हुनुहुन्छ । उहाँहरुले आफ्नो भाग्य आफ्नो महानगर कसरी बनाउने जान्नुभएको छ । त्यसैले गठबन्धन गर्दा या नगर्दा केही फरक पर्दैन । सबै नागरिक स्वतन्त्र हुनुहुन्छ । उहाँहरुले त्यहीँअनुसार मतदान गर्नुहुन्छ ।
अरु दलले जस्तै एमालेले पनि भरतपुर महानगरपालिकालाई किन प्रतिष्ठाको विषय बनाएको हो ?
एमालेले भरतपुर महागरपालिकालाई प्रतिष्ठाको विषय बनाएको छैन । यो प्रजातान्त्रिक पक्रिया हो । हामी स्वच्छ ढङ्गबाट निर्वाचनमा जान्छौँ । जनताले मलाई नगर प्रमुख बनाउनुहुन्छ, म त्यो जिम्मेवारी लिन्छु । जनताले हामीलाई प्रतिपक्षमा बस भन्नुहुन्छ भने पनि प्रतिपक्षमा बस्छौँ । हामी जनतामाझ एजेन्डा लैजान्छौँ । विषवस्तु लैजान्छौँ । जनमतबाट मेयरमा जान्छौँ । गइसकेपछि पनि जनताको साथ लिएर विकास गर्ने हो । हामी निर्वाचित भइसकेपछि छुट्टै मेयरले या प्रमुख या पदाधिकारीले शासन गर्ने होइन । जनताको हरेक एजेन्डामा सबै जनता र बौद्धिक समुदायको रायसल्लाह लिएर जतिसक्दो धेरैलाई समेटेर अगाडि बढ्छौँ ।
तपाईँलाई किन भोट दिने ? तपाईँको मुख्य पाँच प्राथमिकता के के हुन् ?
मेरो पहिलो प्राथमिकता भरतपुर महानगरलाई स्वच्छ, हराभरा र मानवीयताको समृद्ध महानगर बनाउने हो । त्यसको लागि व्यवस्थित गुरुयोजना बनाउँछु । यसपछि सम्पूर्ण मानव संसाधन के कति छ, त्यसको डाटा संकलन गर्छौं । विकासको गुरुयोजना बनाउँदा पनि महानगरको एक ठाउँमा मात्रै होइन, महानगरभरि नै, चाहे हामीले कविलास, गोलाघाट, मेघौली होस् कि पटिहानी, गुन्जानगर होस्, हामीले सबै भूभागमा एकसाथ व्यवस्थित बस्नलायक शहर बनाउन योजना बनाउँछौ । त्यो योजनाअनुसार हामीले एकएक गरेर विभिन्न परियोजनाहरु बनाउँछौ । ती परियोजनाहरुलाई उठाएर व्यवस्थित महानगर बनाउँछौ । यो सबै गरिरहँदा भरतपुर महानगरलाई कस्तो बनाउने दीर्घकालीन रुपमा भन्ने कुरा एउटा हुन्छ भने तत्कालमा जनताका दैनिकीका समस्याहरुलाई समाधान गर्ने हो ।
गरिबीका रेखामुनि भएका जनतको काउन्ट गर्ने, उनीहरुको खाना, आवास, शिक्षा, स्वास्थ्य जस्ता कुराको प्रबन्ध राज्यले गर्नुपर्दछ । सक्नेले आफैँ उपचार गरे पनि नसक्नेलाई राज्यले व्यवस्था गर्नुपर्दछ । सबै मानिसले न्यूनतम आधारभूत आवश्यकता पूरा भएको बस्ती, सिटी व्यवस्थित रुपमा व्यवस्थापन गर्छौं । त्यही अनुसार योजना बनाएर अगाडि बढ्छौँ ।
जनतामा जाँदा के भनेर भोट माग्नुहुन्छ ?
हामीहरुले यत्रो क्रान्ति ग¥यौं । प्रगति गरेर यहाँसम्म आइपुगेका छौँ । तर अब हामी सुखी, समृद्ध भएर सबै आफ्नो खुट्टामा उभिएर बाँच्न चाहन्छौँ । सबै नागरिकहरु मिलेर हाम्रो महानगरलाई संसारका राम्रा सिटीहरुमध्ये एउटा शहर बनाउन सक्छौँ । त्यसको परिकल्पना गरौं । एकएक गरी अगाडि बढ्छौँ ।
लोककल्यणकारी राज्यमा सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ । त्यसअनुसार तीन सरकारमध्ये जनतासँग मुख्यरुपमा जोडिने स्थानीय सरकार नै हो । स्थानिय सरकारले नसके प्रदेश र केन्द्र सरकारसँग गुहार्नुपर्छ । तर सबै नागरिकको व्यवस्थापन गर्ने पहिलो निकाय स्थानीय सरकार नै हो । त्यो सरकार जस्तो भएर हामी जिम्मेवारी पूरा गर्छौं। सुशासन हुन्छ । नगरपालिका या कतै कार्यालय जाँदा घुस, भ्रष्टचारको कुनै पनि गुन्जायस हुँदैन । सबैले स्वाभिमानी नागरिक भएर सबै ठाउँबाट सेवा लिनसक्ने व्यवस्था हुन्छ ।
जति पनि उद्योग व्यवसायमा रोजगार सिर्जना गर्न सक्ने ज्ञान र शिक्षा, सीप र तालिम चाहिन्छ त्यो दिन्छौँ । कस्तो व्यवसाय गर्न चाहनुहुन्छ त्यो दिन्छौँ । त्यसलाई मार्केटसम्म पु¥याउने प्रबन्ध गराउनका लागि धारणा बनाउँछौं । त्यसको लागि हामीलाई मतदान गर्नुस् । निर्वाचनमा जितेपछि जो गयो ऊ हाबी हुने, उसको वरिपरिका नातापाता हाबी हुने, त्यसपछि उसको पार्टी मात्रै हाबी हुने, अरु पार्टीको गुन्जायस नहुने हुुँदैन । हामीले जितेपछि कुनै सोर्सफोर्स हुँदैन । हरेक नागरिकको अधिकार हुन्छ । निष्पक्ष सक्रियताको अभ्यास हुन्छ । त्यस किसिमको महानगर हामी बनाउँछौं ।
तपाईँ यहाँको रहनसहन बुझेको मान्छे, यहाँको विकासमा केके चुनौती देख्नुभएको छ ?
भरतपुरमा व्यवस्थित विकास प्रारम्भ भएकै छैन, हामी प्रारम्भ गर्छौं । अहिले त पुरानै रुपमा जे विकास हुँदै आएको छ, त्यसमा थपथाप मात्रै हो । अलिकति एक सय किमी पिच थियो भने अरु सय किलोमिटर पिच थपिएला । केही घरहरु थिए भने केही घर, भवन थपिए । त्यस्तो कुरा होइन ।
विकास भनेको जनताको जीवनमा परिवर्तन ल्याउनु हो । जनताको जीवनमा परिवर्तन ल्याउनका लागि आर्थिक क्रियाकलापहरु हुनुपर्दछ । मानिसलाई त्यसप्रकारको मापन हुनुप¥यो, तालिमको अवसर दिनुप¥यो । ऋण अनुदान दिनुप¥यो । उत्पादित वस्तु बजारसम्म पु¥याउने व्यवस्था गर्नुप¥यो । सबै नागरिकलाई उद्यमशील बनाउनु प¥यो । त्यो कुराको प्रारम्भ हामी गर्छौं ।
गएको स्थानीय निर्वाचनबाट जनप्रतिनिधि आउँदै गर्दा केही राम्रा काम पनि भएका होलान् । केके देख्नुहुन्छ त्यस्ता कामहरु ?
मैले कसैलाई पनि केही भन्दिन, जसले गर्नुभयो । जसले गर्नुभयो, राम्रै चिताएर गर्नुभएको होला । जसको जे जति क्षमता छ, उहाँले त्यति नै काम गर्नु भएको छ । मैले भनेँ नि, विकासमा केही पिच बाटोहरु बने, भवनहरु बनेका छन् । केही विद्यालयमा सुधारहरु भएका छन् । यतिमा रमाउन हुँदैन । बृहत् उद्देश्य लिएर समष्टिगत रुपमा परिवर्तन गर्नुपर्छ ।
उसो भए गर्न नसकेका विषयहरु के के हुन् ?
म बुद्ध दर्शन अध्ययन गर्ने मान्छे हुँ । मैले कुनै कुरा बोल्दा अर्कालाई दुःख हुन्छ कि, अप्ठ्यारो पर्छ कि भनेर सोच्छु । जसले जुन हिसाबले गर्नुभयो, धन्यवाद छ । म के सोच्छु भने यस्तै हिसाबले विकास भयो भने काठमाडौँ जस्तो हुन्छ । त्यस्तो भयो भने भोलि बनाउन सकिँदैन । त्यसैले काठमाडौँ जस्तो नबन्दै सम्पूर्ण नागरिक सहज ढङ्गले बस्न सक्ने बनाउनुपर्छ भरतपुरलाई ।
भरतपुर महानगरमा अहिले धेरै राम्रो विकास भयो भनेर वर्तमान मेयर रेनु दाहाललाई पुनः उठ्नुपर्छ भन्ने कुरा पनि आइरहेको छ । यसमा तपाईँको विचार के छ ?
सबैको आआफ्नो वैयक्तिक कुरा होला । सबैप्रति मेरो सद्भाव छ । जो आउनुहुन्छ आउनुस् । अलगअलग कसैको विरोधमा किन गठबन्धन गर्ने ? कोही मिलेर किन मोर्चाबन्दी गर्ने ? सबै आऊन् अलगअलग, स्वस्थ हिसाबले प्रतिस्पर्धा गरुन् ।
जनता कसैको पेवा होइन । नागरिकहरु सबैले बुझ्नुभएको छ, आफ्नो ढङ्गले मतदान गर्नुहुन्छ । त्यसैले गठबन्धन गरे मत दिने नभए नदिने भन्ने हुँदैन । व्यक्ति हेर्नुहुन्छ, काम हेर्नुहुन्छ । सबै कुरा छर्लङ्गै छ । त्यसको आधारमा मतदान गर्नुहुन्छ । किन गठबन्धन गर्नुप¥यो ?
हामीले बनाउन खोजेको त देशै त होला, महानगर नै त होला । देशकै प्रगति, उन्नति गर्ने हो भने जनताले जिम्मेवारी नदिँदा जबर्जस्ती कोकोसँग किन मिलेर बस्नुप¥यो ? कोकोसँग मिलेर बस्नुभन्दा स्वच्छ हिसाबले आआफ्नो कुरा लिएर जनताकोमा जाऔँ । स्वच्छ हिसाबले प्रजातान्त्रिक प्रक्रियाबाट जाऔँ । मेरो सबैसँग सद्भाव छ ।
अघिल्लो स्थानीय चुनावमा झिनो मतान्तरले एमाले पराजित भयो । अहिलेको चुनावमा कति मतान्तरले तपाईँले जित्नुहोला ? के छ तपाईँको प्रारम्भिक अनुमान ?
अहिले के कति मतान्तर भन्दा पनि हामी अत्याधिक मतका साथ हामी विजयी हुन्छौँ । किनभने हिजोकै मतका आधारमा आज हुँदैन । सार्वभौमसत्ता प्राप्त जनताले आफ्नो विवेकले निर्णय गरेर मत दिनुहुन्छ । त्यस हिसाबले भारी मतका साथ विजयी हुन्छौँ ।