२७ असोज । व्यवस्थापिका संसद आज अन्त्य हुँदैछ । कार्यसूची र विजनेशका हिसावले संसद आज अन्त्य भए पनि विघटन भने कात्तिक ४ मा हुनेछ ।
सभामुख ओनसरी घर्ती मगरले आज व्यवस्थापिका संसदको बैठक चलाएर संसद विघटन गर्ने तयारी गरेकी छन् । आजको बैठकमा महत्वपूर्ण तीनवटा विधेयक पारित गर्ने तयारी भएको छ । भाषा आयोग विधेयक आज पारित गर्न व्यवस्थापिका संसद्ले संसद्को कार्यसञ्चालन नियमावलीको नियम निलम्बन गरेको छ ।
संसद्को आज बस्ने बैठकबाटै आयोग गठन विधेयक पारित गर्ने तयारी अनुसार नियम निलम्बन गरिएको हो । प्रदेश प्रमुखको सेवा सुविधा सम्बन्धि विधेयक पनि पारित हुनेछ । संविधान जारी भएपछि ३ असोज २०७२ मा संविधानसभाबाट व्यवस्थापिका–संसदमा परिणत भएको संसदले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने अधिकांश विधेयक पारित गरेको छ ।
आजकोे बैठकमा छलफल गरेर सकेजति विधेयक पारित गर्ने कार्यसूची रहेको संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । भोलि विदाको दिन परेकाले आजको बैठकमा विगतको झै संसद् बैठक सञ्चालन हुनेछ ।
निर्वाचन आयोगले समानुपातिक सूची २९ गते र प्रत्यक्षतर्फ ५ कात्तिकमा मनोनयनको तालिका सार्वजनिक गरिसकेको छ । संसदको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।