कावासोती, २ चैत ।
कावासोती नगरपालिका वडा नम्बर- १७ मा विद्यालय र समुदाय लक्षित आत्मरक्षा तालिम सञ्चालन गरिएको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी सशक्तीकरण कार्यक्रमअन्तर्गत नगर भित्रका ३५ जना किशोरीलाई आत्मरक्षाको तालिम दिएर यो अभियान सुरु गरिएको संस्थाका महासचिव दीपक शर्माले बताए ।
सोही क्रममा कावासोती नगरपालिका- ८ मा रहेको ज्ञानोदय माविमा आत्मरक्षा र उत्प्रेरणा तालिम सञ्चालन गरिएको थियो ।
विद्यालयका छात्राका लागि आफ्नै साथीहरूले आत्मरक्षा तालिम सिकाएको देख्दा खुसी लागेको र यसलाई निरन्तर रूपमा सञ्चालन गर्नको लागि विद्यालयको तर्फबाट सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले बताए ।
बालबालिकासँग सम्बन्धित समस्याहरू समाधान गर्नको लागि आफ्नै उमेर समूहका साथीहरूले गर्दा प्रभावकारी हुने र उनीहरूको क्षमता अभिवृद्धि समेत हुने भएकोले यस्ता खालका अभियानको नेतृत्व लिनुपर्नेमा उनले जोड दिए ।
तालिममा ५० जना विद्यार्थीको सहभागिता रहेको र उनीहरुलाई हिंसा, दुर्व्यवहार र शोषण विरुद्ध लड्नको लागि विभिन्न स्टेपहरु सिकाइएको थियो ।
आत्मरक्षाका सीपहरु अन्तिम अवस्थामा मात्र प्रयोग गर्नु पर्ने र आफू सुरक्षित हुनको लागि गरिने भएकोले यसले अरूलाई हानी पुर्याउन नहुनेमा सहजकर्ता आशिका पोख्रेलले बताइन् ।
धेरैले आत्मरक्षा तालिम भन्ने बितिकै शारीरिक अभ्यास बुझेको तर यो त मानसिक रूपमा समेत तयारी र अन्य विविध विषयहरु जस्तो हिंसा, दुर्व्यवहार, असमानता भनेको के हो ? कहाँ कहाँ हिंसा हुन्छ ? कसरी रोकथाम र अन्त्य गर्न सकिन्छ ? नेपालको संविधान र कानुनले गरेको व्यवस्थाहरूको बारेमा बताउने गरेको सहजकर्ता आशिका पोख्रेलले बताइन् । यसो गर्दा किशोरी र अन्य सरोकारवालाले चासो दिने गरेको उनले बताइन् ।
किशोरीहरु आफैले यसरी तालिमहरु लिने र दिने काम नियमितरूपमा सञ्चालन गर्न सकियो भने मात्र हिंसा विरुद्धको अभियान सफल हुनेमा शिक्षक एवम् साहित्यकार टीका सापकोटाले बताइन् । छोरीलाई हेर्ने नजर परिवर्तन गर्न आत्मविश्वास अभिवृद्धिको लागि यो तालिम आवश्यक रहेको सापकोटाले बताइन् ।
सो कार्यक्रम किशोरी अभियन्ता आशिका पोख्रेल र दिया लम्सालले सहजीकरण गरेका थिए भने र कार्यक्रममा ५० जना किशोरीको सहभागिता रहेको थियो ।