भरतपुर, २७ फागुन ।
उद्योग वाणिज्य संघ चितवनको अधिवेशनमा वाणिज्यतर्फको सदस्य पदमा युवा व्यवसायी महादिप श्रेष्ठले उम्मेदवारी दिएका छन् । उद्योग वाणिज्य संघको नेतृत्वमा उम्मेदवारी दिएका श्रेष्ठ सबैभन्दा कान्छो उम्मेदवारका रुपमा देखा परेका छन् ।
माडी–१ बरुवाका स्थायी बासिन्दा श्रेष्ठ हाल भरतपुरलाई कार्यक्षेत्र बनाएर व्यवसायमा संलग्न छन् ।
३१ वर्षीय श्रेष्ठ १८ वर्षको उमेरदेखि व्यवसायमा जोडिएका हुन् । उनी पेयपदार्थ कोकाकोलाको १३ वर्षदेखि अधिकृत बिक्रेता, मारुती सुजुकीको क्षेत्रीय बिक्रेता, अप्टिकल फाइबर सम्बन्धि कारोबारमा स्थापित छन् । उनी ट्याक्टर डच फायरको बागमती प्रदेश र गण्डकीका लागि आयतकर्ता समेत हुन् ।
घरपरिवार नै व्यवसायमा स्थापित भएकाले श्रेष्ठ सानैदेखि व्यवसायमा रुचि राख्थे । उनका बुबा विश्वमित्र श्रेष्ठले माडीमा कपडा, हार्डवेयर, रेमिट्यान्स, एग्रोभेट, भाँडा पसलमा चर्चित व्यवसायी हुन् । विविए अध्ययन गरेका महादिप सामाजिक काममा पनि सक्रिय छन् । उनी लियो क्लब अफ नारायणगढ दियालोका पूर्वअध्यक्ष, रोट्र्याक्ट क्लब अफ नारायणी मिड टाउनका पूर्वअध्यक्ष, लियो जिल्ला परिषद ३२५ विटुका पूर्व एरिया कोअर्डिनेटर, जेसीज माडीका संस्थापक सदस्य हुन् ।
यस्तै श्रेष्ठ नारायणी कला मन्दिरका सदस्य हुन् । श्रेष्ठको किराना व्यवसायी, होटल तथा रेष्टुरेण्ट व्यवसायीसँग सम्बन्ध राम्रो छ । “युवाका आवाजहरु बुलन्द गर्न सबैको साथ पाउने विश्वास गरेको छु”, उनले भने, “व्यवसायिक हकहितका लागि सक्रिय बन्नेछु ।” उनले आफूलाई जिताउन अपील गरेका छन् । वाणिज्यतर्फ ६ जनाका लागि १० जना चुनावी मैदानमा हुनुहुन्छ । मतदान फागुन ३० गते उद्योग वाणिज्य संघ नारायणगढमा हुँदैछ ।