भरतपुर, १२ फागुन ।
रुस समर्थित युक्रेनका पृथकतावादीहरूद्वारा नियन्त्रित क्षेत्रका एक नेताले युक्रेनी सेनाले आफ्ना हतियार लिएर यी पृथकतावादी क्षेत्रहरूबाट फिर्ता हुनुपर्ने बताएका छन् ।
पृथकतावादी नेता दाेनेत्स्क जनवादी गणतन्त्रका प्रमुख डेनिस पुशिलिनले रुसको सरकारी सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा युक्रेनी सेनाले पृथकतावादी क्षेत्रबाट फिर्ता हुनुपर्ने बताएका हुन् ।
डेनिस पुशिलिनले भनेका छन्, ‘यस्तो अवस्था सिर्जना भएको अवस्थामा युक्रेनी सेनाका लागि यी क्षेत्रहरू छोड्नु नै उत्तम विकल्प हो ।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा युक्रेनको पृथकतावादीले नियन्त्रणमा लिएका स्वघोषित जनगणतन्त्र दोनेत्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिएका थिए । सम्बोधन पछि, पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति कायम गर्न भूमिका निर्वाह गर्ने उल्लेख छ ।
त्यसयता युक्रेन संकटले नयाँ मोड लिएको छ । यद्यपि, पृथकतावादीहरूले युक्रेनको हाल आफ्नो नियन्त्रणमा रहेको क्षेत्रभन्दा धेरै ठूलो क्षेत्र दाबी गरेका छन् । यी पृथकतावादीहरूलाई रुसको समर्थन छ ।