विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२५ असोज ।शिलाको छोरा दुव्र्यसनको लतमा परे । तीव्रगतिमा मोटरसाइकल चलाउँदा उनी दुर्घटनामा परे । बुहारी वर्षा निकै चिन्तित बनिन् । दाइजो धेरै नल्याएको र घरमा अप्रिय घटना हुनुको कारण बुहारी नै भएको आरोप उनका सासूससुराले लगाउन थाले ।
दुर्घटनामा परेका छोरा निको भएपनि बुहारी दैनिक घरको किचलो सुन्न बाध्य भइन् । श्रीमान्ले पनि साथ नदिएपछि उनको दैनिकी फेरियो । बर्बराउने, हाँस्ने, रुने जस्ता लक्षण देखा परे । तर, उनको परिवारले उनलाई कोठामा थुनेर राख्न थाल्यो । झाँक्री बोलाउन थाल्यो । घरबाहिर निस्कन छाडेपछि छिमेकमा चर्चा चल्न थाल्यो । महिला स्वयंसेविकाले शिलाको परिवारलाई वर्षाको उपचार गर्न छिटो अस्पताल लैजान सुझाव दिइन् ।
सुरुमा आनाकानी गरेको सो परिवार अन्ततः अस्पताल जान राजी भयो । कडा खालको मनोरोग लागेको चिकित्सकले बताए । अस्पतालको उपचार पाएपछि वर्षा पहिलेकै अवस्थामा पुगिन् । परिवारले पनि माया गर्न थाले । पारिवारिक विमेलको अन्त्य भयो । समयमै उपचार पाए मनोरोग निको हुन्छ भन्ने सन्देश सहितको यो कथावस्तु ‘बुहारीको व्यथा’ नाटकको हो । चितवन मेडीकल कलेज भरतपुरमा विएनएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसमा देखाएको नाटक देखाएका थिए । नर्सको भूमिकामा नाटकमा देखिएकी विद्यार्थी अस्मिता पाठक भन्छिन्, “मनोरोग लागेर घरमै लुकाउन खोज्ने अवस्था धेरै छ, बेलैमा उपचार भए मनोरोग निको हुन्छ ।”
चितवन मेडीकल कलेजमा दिवसको अवसरमा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै मनोरोग विशेषज्ञ डा. खगेन्द्र काफ्लेले धेरै मनोरोग अन्धविश्वासका कारण थप जटिल अवस्थामा पुग्ने गरेको बताउँछन् । “अनौठो व्यवहार देखाउन थाल्ने, डराउने, निराशा छाउने, जिद्धिपन बढ्ने, धेरै अंगका लक्ष्यण देखा पर्न थालेपछि मनोरोगीलाई अस्पतालसम्म ल्याउन नचाहने परिवार पनि छन्”, उनी भन्छन्, “अन्तिम अवस्थामा अस्पताल ल्याउँदा बिरामीको अवस्था झनै जटिल बनेको हुन्छ, मनोरागबारे व्यापक जनचेतनाको जरुरत छ ।”
डिप्रेसन, मेनिया, सिजोफोर्निया, दुव्र्यसनी, डिमेन्सिया मनोरोगका प्रकार हुन् । मनोरोग विशेषज्ञ डा. शैलेन्द्रराज अधिकारी मनोरोगी बेलैमा उपचार पाए निको हुने बताउँछन् । “सामान्य तथा जटिल खालका रोग हुन्छन्”, उनले भने, “नियमित उपचार गराएमा रोग निको हुन्छ, पारिवारिक मायाको जरुरत पर्छ ।”
अभिमुखिकरण कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले मनोरोगीलाई अस्पतालको पहुँचसम्म ल्याउन पहल थालिनुपर्ने बताउँछन् । “स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट मध्य मानसिक स्वास्थ्यका लागि करिव १ प्रतिशत मात्र बजेट विनियोजन हुन्छ”, उनले भने, “यो ज्यादै कम हो, ९० प्रतिशत मानसिक रोगी अझै पनि उपचार गराउन अस्पताल जादैनन्, लुकाउन खोज्ने अवस्था कायमै छ ।”
मानसिक स्वास्थ्यका लागि बनेको सरकारी निती पूर्ण कार्यान्वयनमा आउन नसकेको दुखेसो गरे । सो अवसरमा चितवन मेडीकल कलेजका सहप्राध्यापक ममता शर्मा, कार्यकारी निर्देशक दयाराम लम्साल लागयतले मन्तव्य राखेका थिए । कार्यक्रम चितवन मेडीकल कलेजका प्रमुख डा. हरिशचन्द्र न्यौपानेको अध्यक्षतामा भएको हो ।
चितवनमा मनोरोगीको संख्या बढ्दै