राप्ती, ६ माघ ।
कोरोना भाइरसको तेस्रो लहर चलेसँगै संक्रमणदर उच्च भइरहेको बेला राप्ती नगरपालिकास्थित भण्डारा अस्पतालमा खोप लगाउन आउनेहरूको भीड लागेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी जम्मा नगर्नु भन्ने आदेश छ, तर सयौँ मानिसहरु खचाखच लाइनमा उभिरहेका छन् । न कसैले जनस्वास्थ्यको मापदण्ड अपनाएका छन्, न त प्रशासनको यसमा ध्यान नै गएको छ । बिहीबारसम्म राप्तीमा ५२ जना सक्रिय संक्रमित रहेका छन् । यस अवस्थामा यो भीडले कोरोनाको संक्रमण पक्कै बढाउन सक्छ । यदी संक्रमण बढेमा जवाफदेही को हुने ? स्थानीय सरकार र प्रशासन यस विषयमा जिम्मेवार हुनु आवश्यक छ ।
राप्ती नगरपालिकाले खोप कार्यक्रम हरेक बिहीबार बिहान ११ बजेबाट सञ्चालन गर्दै आएको छ । बिहीबार बिहान ८ बजे देखिनै मानिसहरु लाइनमा खडा हुन थाले । भीड बढ्दै गयो । लाइनमा अटसमटस भएर बस्न उनीहरु बाध्य भए । नगरले हरेक बिहीबार खोप लगाए पनि मानिसहरु त्यति उपस्थित हुँदैनथे । तर सरकारले नै माघ ७ देखि सार्वजनिक स्थल तथा सवारी साधनको प्रयोगमा खोप कार्ड अनिवार्य हुनुपर्ने नियम जारी गरेपछि मानिसहरुको भीड बाक्लिएको थियो । गत हप्ता पनि यस्तै भीड भएको उपस्थित व्यक्तिहरुले बताए । सो हप्ता पालो नपाएर अहिले फेरि लाइनमा कुर्नुपरेको पनि उनीहरुले बताए ।
नगर स्वास्थ शाखाले गत हप्ताको बिहीबार धेरै भीड भएपछि पिप्ले, वीरेन्द्रनगर र भण्डारामा गरि तीनवटा सेन्टरबाट खोप दिने निर्णय गरेको स्वास्थ शाखा प्रमुख सुरेश न्यौपानेले बताए । “खोप कार्ड अनिवार्य भएपछि भीड बाक्लिएको हो । गत हप्ताको बिहीबार धेरै नै भीड भएर खोप पुर्याउन पनि सकिएन । त्यहि भीडलाई नियन्त्रण गर्न नगर भित्रका तीनवटा स्वास्थ्य चौकीबाट खोप अभियान चलाएका हौँ ।”
जतिबेला पनि खोप अभियान चलाउन पर्याप्त जनशक्ति नभएको पनि उनले बताए । भीडको अवस्थालाई हेरेर बार अनुसार दिन बढाउन सकिने पनि उनले बताएका छन् । “भीड कम भयो भने बिहीबार मात्रै अभियान चलाउने छौँ तर अझ पनि बढ्दै गयो भने त्यही अनुसार निर्णय गर्नुपर्ला” उनले भने । भीड नियन्त्रणमा नागरिक आफू पनि सजग हुनुपर्ने र प्रहरी प्रशासन तथा सशस्त्र प्रहरी बल तयार हुनुपर्ने उनले बताए ।
राप्ती नगरले १८ वर्ष भन्दा माथिका ३५ हजार नगरबासीलाई खोप लगाउने लक्ष्य लिएको थियो । जसमध्ये पुस २२ गतेसम्म २३ हजार ४ सय ४६ जनालाई खोप लगाइ सकेको शाखा प्रमुख न्यौपानेले जानकारी दिएका छन् ।