विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२१ असोज।भरतपुरमा चितवन प्रर्दशनी केन्द्र निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । । ‘सरकारी निजी साझेदारी’ मा निर्माण भैरहेको प्रर्दशनी केन्द्र भरतपुर स्थित जिल्ला समन्वय समितिको कार्यालयको दक्षिणतर्फको घरेलु तथा साना उद्योग कार्यालय भरतपुरको स्वामित्वमा रहेको करिव २ विघा ७ कठ्ठा जग्गामा प्रर्दशनी केन्द्र निर्माण कार्य भैरहेको छ ।
३७ करोड लागतमा बन्न लागेको सो प्रर्दशनी केन्द्रको पहिलो चरणमा ‘ए’ ब्लक निर्माण कार्य भैरहेको छ । बाँकी ४ वटा ब्लक कार्तिक १५ गतेपछि बल्ल निर्माण प्रक्रिया सुरु हुने चितवन उद्योग संघले जनाएको छ । सरकारले घरेलु तथा साना उद्योग कार्यालय मार्फत संघकै खातमा १५ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । निर्माण सम्पन्न गर्न लाग्ने बाँकी रकम उद्योगी व्यवसायीको सहयोगबाट गर्ने लक्ष्य लिइएको छ । चितवन उद्योग संघका प्रोजेक्ट म्यानेजर रोचक अधिकारीले ‘ए’ ब्लकका तीन हलमा फलामे पील्लर तथा छाना राख्ने काम सुरु भएको बताए । “हलको बीच भागमा ३७ फिट अग्ला भर्टिकल पोष्ट १२ वटा, छेउमा ३० फिट अग्ला ६० वटा पील्लर जडानको काम सुरु भएको छ”, उनले भने, “एक हप्ताभित्र ‘ए’ ब्लकको भवनको संरचना तयार हुने छ ।” ए ब्लकको निर्माणको पुरै काम कार्तिक २० गतेबाट पुनः थालिने बताए । ए ब्लकमा ३ सय स्टल राख्न मिल्ने गरि बनाइदै छ । यो ब्लक प्रर्दशनी स्टलका रुपमा रहने छ । यसले ५७ हजार ७ सय ४१.५ वर्गफिट क्षेत्रफल आगटेको छ ।
चितवन उद्योग संघका प्रशासकिय अधिकृत गोविन्दप्रसाद पौडेलले ए ब्लकको डिपिसी तहको निर्माणको जिम्मा ओम सत्यसाई कन्ट्रक्सन र पील्लर तथा छाना छाउने कामको जिम्मा जलप नेपालले लिएको बताए । “ए ब्लक निर्माण कार्य अन्तिम चरणमा छ”, उनले भने, “तत्काल प्रर्दशनी गर्न मिल्ने गरि संरचना बन्दैछ, छिट्टै पूर्णता दिइने छ ।” उनले ए ब्लकको फिनिसिङको काम पनि तत्काल अघि बढाइने बताए । ए ब्लक निर्माणको काम असार देखि सुरु भएको थियो । प्रर्दशनी केन्द्रमा ४४.५ प्रतिशत क्षेत्रफलमा संरचना तयार हुनेछन् भने ५५.५ प्रतिशत क्षेत्र खाली क्षेत्र रहने छ । चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष तथा निर्माण समितिका संयोजक भेषराज दुवाडीले ए ब्लक निर्माणको प्रारम्भिक काम सकिए लगत्तै साना ठुला प्रर्दशनी गर्न मिल्ने बताए । “प्रर्दशनी केन्द्रको सुरुको लागत ३० करोड थियो, प्राविधिक अध्ययन अनुसार ३७ करोड हुने अनुमान गरिएको छ”, उनले भने, “सरकार र व्यवसायीबाट बराबरी साझेदारीमा निर्माण गर्ने भनिएको थियो, अब पुनः थप अनुदान ल्याउन पहल थालिने छ ।” उनले चितवन उद्योग संघसँग आवद्ध व्यवसायीबाट अनुदान सहयोग जुटाउने काम भैरहेको बताए । “वर्तमान कार्यसमिति, पूर्वअध्यक्ष, सल्लाहकार, सदस्यहरुबाट झण्डै ५ करोड बराबरको रकम प्रतिवद्धता भैसकेको छ”, उनले भने, “अन्य व्यवसायी, संघसंस्था, कार्यालयसँग पनि अनुदान प्राप्तीका लागि आग्रह गर्दै चिठि पठाइएको छ ।”
चितवन औद्योगीकरणतर्फ उन्मुख बन्दै गएको छ । चितवनमा प्रर्दशनी केन्द्रको अभावमा मेला–महोत्सव अस्थाई संरचना तयार गर्दै नदी किनारमा गर्नुपर्ने अवस्था थियो । “स्थानीय उद्योग व्यवसायको प्रवद्र्धन, स्थानीय स्रोत साधन, कच्चापदार्थलाई अन्तराष्ट्रियस्तरमा जानकारि गराउने माध्यमका रुपमा प्रर्दशनी केन्द्र विकास हुने बताए । यो प्रर्दशनी केन्द्र चितवनकै गौरवका रुपमा रहने उनले बताए । उत्पादित वस्तुलाई बजारीकरण गर्न चितवन आउने संस्कार क्रमश बढ्ने बताए । चितवन उद्योग संघले परिकल्पना गरेको गुरुयोजना अनुसार बन्न लागेको सो प्रर्दशनी केन्द्र अन्तराष्ट्रियस्तरको बन्ने छ । आगामी वर्ष सबै संरचनाको निर्माण पुरा गर्ने लक्ष्य छ ।
बि ब्लकमा ३ सय ५० जना अट्ने क्षमताको सभाहल र प्रयाप्त शौचालय, सि ब्लकमा फुडकोर्ट, डि ब्लकमा बाल उद्यान, ई ब्लकमा प्रशासनिक तथा सचिवालयका संरचना तयार हुनेछन् । प्रत्येक एक्सपो हलमा ८ वटा सानाठूला ढोका हुनेछन् । प्रदर्शनीकेन्द्र स्थलसम्म पुग्न दुई लेनको कालोपत्रे बाटोसमेत बनाइने छ । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुदान रकम दिने घोषणा गरेका थिए । झण्डै तीन वर्ष अघि मन्त्रीस्तरीय निणर्य मार्फत २९ वर्षसम्मलाई सरकारी जग्गा भोगचलनका लागि संघलाई उपलब्ध गराइएको थियो । चितवन उद्योग संघले गत असार ३१ गते सम्झौता गरेको थियो ।
निर्माणाधिन ब्लकमा पोल्ट्री एक्स्पो
नेपाल पोल्ट्री महासंघको अगुवाईमा चितवनमा अन्तराष्ट्रियस्तरको पोल्ट्री एक्स्पो गरिने भएको छ । भरतपुरमा निर्माणाधिन चितवन प्रर्दशनी केन्द्रको ‘ए’ ब्लकमा सो एक्स्पो गर्न लागिएको हो । महासंघका उपाध्यक्ष टिकराम पोखरेलले कात्र्तिक १७ गतेदेखि १९ गतेसम्म पोल्ट्री क्षेत्रको प्रवद्र्धनका लागि अन्तराष्ट्रियस्तरको प्रर्दशनी गर्न लागिएको बताए । “हालसम्म १ सय वटा अन्तराष्ट्रिय संस्था इच्छुक देखिएका छन्”, उनले भने, “पोल्ट्री क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र अनुभव साटासाट गर्ने माध्यमका रुपमा एक्स्पो गर्न लागेका हौँ ।” उनले हरेक दुई वर्षको फरकमा अन्तराष्ट्रियस्तरको पोल्ट्री एक्स्पो गर्ने कार्यलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताए । निर्माणाधिन प्रर्दशनी केन्द्रमै एक्स्पो गर्दा अन्तराष्ट्रियस्तरमा प्रचारप्रसार गर्न समेत सजिलो हुने बताए । “तीन हल मध्य एउटामा स्वदेशी र दुई वटामा विदेशी संस्थाका स्टल रहनेछन्”, उनले भने, “पोल्ट्रीको राजधानिका रुपमा चिनिएको चितवनलाई यो ठुलो अवसर हो ।” विगतमा उद्योग वाणिज्य संघहरुसँग मिलेर गर्दै आएका पोल्ट्री मेला भन्दा यो बृहत हुने बताए । उनका अनुसार पोल्ट्री क्षेत्रको सम्भावना र चूनौतीबारे अन्तराष्ट्रियस्तरको सेमिनार समेत गरिने बताए ।
भरतपुरमा देशकै ठुलो चितवन प्रर्दशनी केन्द्र
भरतपुरमा देशकै ठुलो चितवन प्रर्दशनी केन्द्र
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस