भरतपुर, २८ पुस
कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेको भन्दै भौतिक उपस्थिति बन्द गरिएका विद्यालयहरूलाई माघ ७ गतेभित्र परीक्षा गर्न भरतपुर महानगरपालिकाले निर्देशन दिएको छ ।
भरतपुर महानगरपालिका नगर शिक्षा समितिको बुधबारको बैठकले कोभिड १९ का सुरक्षात्मक उपायको पूर्णरूपमा पालना गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि भरतपुरका अधिकांश सामुदायिक विद्यालयहरूमा आगामी माघ ५ गतेबाट दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्ने कार्यतालिका बनाइएको थियो । तर, देशव्यापीरूपमा विद्यालय बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेसँगै सबै विद्यार्थी अहिले घरै छन् । विद्यालयमा भौतिक उपस्थिति निषेध गरिएको हो ।
भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले बुधबार सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्र काटी ५ बुँदे निर्देशन दिएको छ । जसमा पहिलो बुँदामा सरकारले पुस २६ गते जारी गरेको सूचनाअनुसार माघ १५ सम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्नू भनिएको छ । तर, दोस्रो बुँदामा भने परीक्षा सञ्चालन भइरहेका र सञ्चालनको तयारी भइसकेका विद्यालयहरूलाई माघ ७ भित्रै परीक्षा सम्पन्न गरिसक्न भनिएको छ ।
भरतपुर महानगरभित्र १२३ सामुदायिक र ९७ संस्थागत विद्यालय छन् । त्यसमध्ये केही विद्यालयहरूमा अहिले पनि परीक्षा चालु छ ।
अधिकांशले भने अब माघ ७ भित्रै सक्ने गरी परीक्षा चलाउनुपर्ने हुन्छ । यी विद्यालयहरूमा करिब ८५ हजार विद्यार्थी अध्ययनरत छन् ।
नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले सर्वपक्षीय छलफल र विद्यालयहरूकै चाहना बुझ्दा तुरुन्तै परीक्षा गर्न पाए कोभिडका कारण भइरहेको शैक्षिक क्षति न्यूनीकरण गर्न सहज हुन्छ भन्ने भएपछि परीक्षा गर्ने निर्णय गरिएको बताए । “सुरक्षात्मक उपाय अपनाएर परीक्षा गरिहाल्दा शैक्षिक क्षति कम गर्न सकिन्छ भन्ने धारणा आयो”, उनले भने, “बीचमा केही अप्ठ्यारा आयो भने तुरुन्तै परीक्षा स्थगित गर्ने भनिएको छ ।”