हामीले सुनिरहेका छौँ कि सरकारले सार्वजनिक जमघटहरूमा एकपछि अर्को गरी प्रतिबन्धहरू घोषणा गरिरहेको छ । शिक्षण संस्थाहरूमा विद्यार्थीहरूको भौतिक उपस्थिति बन्द गरिनु र २५ जनाभन्दा बढी व्यक्ति एकैपटक एकै ठाउँमा भेला हुन निषेध गरिनु प्रतिबन्धका पछिल्ला स्वरूप हुन् । यसले स्पष्ट संकेत गर्छ कि विश्व महामारी कोभिडको फैलावट व्यापक बनिरहेको छ ।
महामारीको तेस्रो लहर समुदायस्तरमा कुन हदसम्म फैलिएको छ भन्ने जान्न पछिल्लो एक साताको संक्रमणदर हेरे पुग्छ ।
एक साताअघि २१ पुसमा नेपालको कोरोना संक्रमण दर ४.२४ प्रतिशत थियो । त्यस दिन १० हजार २६७ परीक्षण गरिएकामा ४३५ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । साता दिनपछि २७ पुसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा संक्रमण दर १६.२६ प्रतिशत पुगेको छ । यो मितिमा गरिएको १५ हजार ३३ परीक्षणमध्ये २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२६ पुसमै यो दर जम्मा १२.६५ प्रतिशत मात्रै थियो । संख्यामा हेर्दा २६ पुसमा ११ हजार ४२९ परीक्षणमा कोरोना संक्रमण १ हजार ४४६ जनामा देखिएको थियो । एकैदिनमा संक्रमितको संख्या १ हजार जनाले बढेको छ ।
२२ मंसिरमा ९ हजार ४५१ नमुना परीक्षण गर्दा २११ जनामा संक्रमण पुष्टि भएको थियो । जुन कुल परीक्षणमध्ये २.२३ प्रतिशत हो । मंसिरको अन्तिम साता संक्रमणदर २.५६ रहेकामा पुसको पहिलो साता २.३०, पुसको दोस्रो साता २.६५ र पुसको तेस्रो साता २.८३ प्रतिशत पुगेको थियो ।
पछिल्लो साताको तथ्यांक विश्लेषण गर्दा नेपालमा कोरोना भाइरसको संक्रमणदर ज्यामितीय आधारमा उकालो लागेको देखिन्छ । त्यसैले पनि सरकारले एकपछि अर्को प्रतिबन्धहरू लगाइरहेको हो । चितवनमा ठूला महोत्सवहरू एकपछि अर्को गरी बन्द गरिँदै छन् । यसले अब भीडभाड गर्नु हानिकारक छ भन्ने देखाउँछ ।
सन् २०१९ को अन्ततिर चीनको वुहान प्रान्तमा फेला परेको कोरोना भाइरस विभिन्न भेरियन्टमा पटक–पटक देखिइरहेका छन् । त्यसले पारेको विश्वव्यापी प्रभावका आधारमा हामीले त्यसलाई पहिलो र दोस्रो लहर भन्यौँ । अहिले फेरि एकपटक विश्वव्यापीरूपमै फैलिएको ओमिक्रोन भेरियन्टलाई तेस्रो लहर भनिरहेका छौँ ।
ओमिक्रोन २४ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट पत्ता लागेको कोभिडको म्युटेसन भएर देखिएको नयाँ भेरियन्ट हो । कुनै पनि भाइरसमा स्वरुप परिवर्तन अथवा म्युटेसन हुँदा यो बढी गम्भीर भएर जान सक्छ अथवा सामान्य भाइरस बनेर हराएर जान पनि सक्छ । कोभिडमा भएका अहिलेसम्मका म्युटेसन हेर्दा तुरुन्त हराउने प्रकृतिको नभई स्थिर पान्डेमिकको रुपमा बदलिएर दुःख दिइरहन सक्ने देखिन्छ ।
ओमिक्रोन सबैभन्दा धेरै म्युटेसन भएर देखिएकोले यसको सर्ने तरिका, गम्भीरता र भ्याक्सिनको प्रभाव फरक हुनसक्ने देखिएको छ ।
हालसम्मको तथ्यांकले यो धेरै छिटो फैलन सक्ने, श्वासप्रस्वासको माथिल्लो अङ्ग नाक र श्वासनलीमा बढी रहने देखिएको छ । तर, फोक्सोको भित्री भागसम्म कम पुग्ने हुनाले गम्भीर निमोनिया कम हुने भएकोलले अस्पताल भर्ना धेरै हुनु नपर्ने देखिएको छ । तैपनि धेरै जनालाई एकैचोटि संक्रमित गर्नसक्ने अनि खोपले काम गर्ने भाइरसको प्रोटिनमा म्युटेसन भएकोले यसअघि लगाइएका खोपले कम सुरक्षा दिन सक्ने खतरा देखिन्छ । यो भेरियन्टको सर्ने अवधि औसत ३ दिन देखिएको छ, जुन पहिलेका भेरियन्टभन्दा चाँडो हो ।
ओमिक्रोनका मुख्य लक्षणहरू :
–ज्वरो, नाकबाट हल्का पानी बग्ने, घाँटी घसखसाउने, सुख्खा खोकी लाग्ने, ज्यान बेसरी दुख्ने, थाक्ने र राति पसिना आउने देखिन्छ । मौसमी फ्लू जस्तो मानेर मानिसहरू परीक्षण नगरी आफ्नो दैनिकी गरिरहने हुनाले धेरैलाई सार्न सक्छन् ।
–अहिलेसम्मको अध्ययनले अस्पताल भर्ना र गम्भीर समस्या हुनेचाहिँ एकदम कम देखिएको छ । तर, खोप नलगाएको समुदायमा यसको खतरा बढी छ ।
–शरीरको प्रतिरोधक क्षमता र दीर्घ असर अथवा पोस्टकोभिड (कोभिडोत्तर) असरबारे नतिजा आइसकेको छैन ।
याद गर्नुहोस् :
–छिमेकी देश भारतमा दैनिक १ लाखभन्दा बढी नयाँ दैनिक संक्रमित फेला परिरहेका छन् । त्यसमध्ये २ हजारभन्दा बढी ओमिक्रोन संक्रमित छन् । नेपालमा दैनिक डेढ हजार दैनिक नयाँ संक्रमित पुग्दैमा २५ भन्दा बढी संक्रमण ओमिक्रोन देखिएका छन् । तर, यो भेरियन्ट स्पेसिफिक पीसीआर नभई पहिलेदेखि नै गरिआएका पीसीआर परीक्षणले ओमिक्रोन नदेखाएर वास्तविक संख्या छुटाउन सक्छ ।
–हुन त एन्टिजेन परीक्षण पनि गरिँदै आइएको छ । एन्टिजेन छिट्टै हुने र तुरुन्त पोजिटिभ केसलाई आइसोलेसनमा राख्न सजिलो हुने हुनाले रोग फैलन नदिन यो एउटा उत्तम स्क्रिनिङ हो । तर, द्रुत परीक्षणहरू ओमिक्रोन छुट्याउन कम प्रभावकारी देखिन्छन् ।
सावधान रहनुहोस् :
–कोभिडबाट बच्नका लागि अपनाइने सबै होशियारी एकै हुन् । तर, मास्कको उचित प्रयोग र भौतिक दूरी नै उत्तम हुन् ।
–भौतिक कार्यक्रमहरूमा जमघट हुँदा राम्रै मास्क लगाउनेले पनि बोल्ने बेला चिउडो मुनि ल्याउने, चिया र पानी पिउन मास्क खोल्ने गरेको बढी पाइएको छ । कार्यक्रम जति सक्यो छोटो, चियापानी एक्लै हुँदा पिएरै आउँदा उत्तम देखियो । नत्र नियम कानून बनाउन र अनुगमन गर्न भनेर बसिएको बैठकमा नै धेरै पोजिटिभ भएर आइसोलेसनमा जाने र सम्पर्कमा आउनेहरू क्वारेन्टिनमा जाने खतरा देखियो ।
– छिट्टै खोपको दायरा बढाएर जोखिम समुदाय पहिचान गरी उनीहरूलाई बूस्टर डोजमार्फत सुरक्षित गर्न जरुरी छ ।
– भेला, मेला, सभा सम्मेलन, भौतिक रूपमा विद्यालय र भीडभाड हुने ठाउँहरूलाई स्मार्ट लकडाउनमार्फत व्यवस्थित गर्न जरुरी छ ।
– परीक्षण सजिलो, दायरा फराकिलो र द्रुत रिपोर्टिङको संयन्त्र बनाऊँ ।
–अस्पतालहरूमा तेस्रो लहर सामना गर्न व्यापक तयारी गरी विगतमा भएका कमजोरी सच्याउन मृत्युको अडिट गरी भौतिक र मानव संशाधनको दक्ष तालिमसहितको व्यवस्थापनमा जुटौँ । (फिजिसियन डा. अधिकारी भरतपुर अस्पतालका अध्यक्ष हुन्)