भरतपुर, २३ पुस ।
कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमण दर बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बसेको छ । प्रधानमन्त्री संयोजक रहेको बैठक शुक्रबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको हो ।
छिमेकी भारतलगायत देशहरूमा ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दो रहेको र नेपालमा पनि संक्रमण बढिरहेकाले त्यसबारे छलफल गर्न बैठक बसेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाण, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, मुख्यसचिव, प्रधानसेनापतिलगायत सीसीएमसीका अधिकारीहरू सहभागी छन् । बैठकमा सिसिएमसिसीका तर्फबाट नेपालमा कोरोना संक्रमणको अहिलेको अवस्था र आउन सक्ने चुनौतीबारे प्रिजेन्टेसन प्रस्तुत गरिएको छ भने स्वास्थ्य मन्त्रालयले परीक्षण र खोप अभियानबारे प्रस्तुति दिइएको छ।
आजमात्रै थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएका सबै २४ वटा नमुनामा ओमिक्रोन पुष्टि भएको हो ।
पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
छिमेकी भारतमा बिहीबार एकैदिन १ लाख १६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा तीव्र भएसँगै नेपालका नाकाहरूमा पनि निगरानी बढाउनुका साथै मेला महोत्सव र राजनीतिक दलका सभा सम्मेलनलाई रोक्नुपर्ने आवाज उठ्न थालेको छ ।