भरतपुर, ७ असोज ।
नारायणगढ़ रोटरी क्लबले भरतपुर–१३, पटिहानी, गंगानगर निवासी १८ वर्षीय रमेश पौडेललाई व्हीलचेयर प्रदान गरेको छ ।
शनिबार गंगानगरमा आयोजित कार्यक्रममा जन्मजात दुवै खुट्टा नचल्ने पौडेललाई क्लबका अध्यक्ष नारायण प्रधानले व्हीलचेयर प्रदान गरेका हुन् । ‘हाम्रो पटिहानी राम्रो पटिहानी’ नामको फेसबुक पेजमा पौडेलको पुरानो व्हीलचेयर बिग्रेको समाचार आएपछि क्लबका पूर्वअध्यक्ष विज्ञानलाल श्रेष्ठ र स्थानीय सुरेश बास्तोलाको संयोजनमा नयाँ व्हीलचेयर पौडेललाई प्रदान गरिएको हो ।
सो अवसरमा बोल्दै स्थानीय शिक्षक थानप्रसाद सुवेदीले रोटरी क्लब नारायणगढ़ले विपन्न पौडेललाई सहयोग गरेर प्रशंसनीय कार्य गरेको बताए । व्हीलचेयर प्राप्त गरेपछि पौडेलले खुसी व्यक्त गर्दै क्लबले अपाङ्गता भएकालाई सीपमूलक तालिम दिनसमेत आग्रह गरे ।
क्लबका अध्यक्ष नारायण प्रधानले क्लबले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आइरहेको र छिट्टै उनीहरुको लागि सीपमूलक तालिमको व्यवस्था गर्न लागेको जानकारी दिए । यसअघि क्लबले गएको साता नवलपरासीस्थित केलादीका पूर्णबहादुर गुरुङलाई व्हीलचेयर प्रदान गरेको थियो ।