भरतपुर, १ पुस ।
राजधानीमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उप-सभापतिमा उम्मेदवारी दिएका विजयकुमार गच्छदार २ मतले पराजित भएका छन् ।
कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन् ।
अन्तिम मत परिणामअनुसार खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याएका छन् । खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका नेता हुन् ।
देउवा पक्षकै विजय गच्छदार जम्मा २ मतले तेस्रो स्थानमा परेका छन् । उनले १९०६ मत ल्याए ।
गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुन: गणनाको माग गरेका थिए । यसले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो ।
यसअघि कांग्रेस प्रदेश १ को सभापतिमा देउवा र कृष्ण सिटौला पक्षका उद्धव थापाले शेखर पक्षका गुरू घिमिरेलाई २ मतले हराएका थिए ।
नेपाली कांग्रेसमा फिर्ता भएपछि पहिलो पटक पदाधिकारीका लागि चुनाव लडेका गच्छदार धनराज गुरूङसँग २ मतले पछि पर्दै पराजित भएका हुन् ।