भरतपुर, २७ मंसिर ।
नशा तथा हाडजोर्नी सम्बन्धि अध्ययन र अध्यापनका लागि लक्षित गरी लेखिएको पुस्तक सार्वजनिक भएको छ । वरिष्ठ नशा तथा हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक सुरेश पाण्डेद्वारा लिखित Text Book Of Orthopaedics (टेक्स्ट बुक अफ अर्थोपेडिक्स) नामक पुस्तक विमोचन गरिएको हो ।
सोमबार भरतपुरमा आयोजित कार्यक्रममा आर्थोस्कोपिक सोसाइटी अफ नेपालका केन्द्रीय अध्यक्ष डा सुदिप मान बैद्य, नेपाल अर्थोपेडिक एशोसियसन चितवन शाखाका संस्थापक अध्यक्ष प्राडा आनन्दप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघ चितवन शाखा उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, वरिष्ठ क्यान्सर सर्जन प्राडा भक्तमान श्रेष्ठ, वरिष्ठ मृगाैला रोग विशेषज्ञ प्राडा माधव घिमिरे, डा प्रमोद लामिछाने, डा गोपेन्द्र देवलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
लेखक डाक्टर पाण्डेका अनुसार यो टेक्स्ट बुक नेपाली चिकित्सकबाट लेखिएको पहिलो पुस्तक हो । यस टेक्स्ट बुक एमबिबिएस तथा अर्थोपेडिक सर्जरीमा अध्ययनरत विद्यार्थीलाई अध्ययन र अध्यापन दुबै कार्यका लागि उपयोगी हुने उनले बताए । करिब ६ वर्षको निरन्तर प्रयासपछि मात्र पुस्तक प्रकाशनमा ल्याउन सफल भएको लेखक प्राडा पाण्डेले जानकारी दिए ।
लेखक प्राध्यापक पाण्डे राजधानी बाहिर चितवनलाई आफ्नो कर्मथलो बनाई करिब १५ वर्षदेखि अध्यापन र बिरामीको सेवामा तल्लीन छन् ।उनी हाल चितवनमा रहेको कलेज अफ मेडिकल साइन्सेस भरतपुरको अर्थोपेडिक विभागमा कार्यरत छन् । त्यस्तै डाक्टर पाण्डे नेपाल अर्थोपेडिक एशोसियसन चितवन शाखाको अध्यक्ष समेत हुन् ।
समीक्षा पब्लिकेसन्स काठमाडौंबाट प्रकाशित पुस्तकको मूल्य रू. १४५०/- छ ।