काठमाडौँ, २७ मंसिर ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा राती साढे १० बजेसम्म मतदानको समय थप गरिएको छ । यसअघि राती ९ बजेसम्म थप गरिएको समयमा पनि मतदान नसकिएपछि फेरि डेढ घण्टा थप गरिएको हो ।
९ : ३० बजेसम्म झण्डै चार हजार २ सय जनाले मतदान गरेका जनाइएको छ । ४ हजार ७ सय प्रतिनिधिमध्ये अझै केही बाँकी रहेकाले साढे १० बजेसम्म मतदान समय थप गरिएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि बिहान ८ बजे नै मतदान सुरु हुने भनिएपनि चार घण्टा ढिलो गरि १२ बजे मात्रै मतदान सुरु भएको थियो । सोही कारण मतदानको समय थप गर्नुपरेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सदस्य अधिवक्ता तेजबहादुर रावल मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मतदान सकिएको डेढ घण्टापछि मतगणना सुरु हुने पनि उनको भनाइ छ ।
कांग्रेसको नेतृत्वसहितको कार्यसमिति चयनका लागि भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदानस्थल बनाइएको छ । महाधिवेशनमा चार हजार ४७३ जना प्रतिनिधि छन् । कांग्रेसमा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसको सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन् ।