काठमाडौँ, २६ मंसिर ।
नेपाली कांग्रेसको चौधौँ महाधिवेशनका कारण आइतबार बिहानदेखि नै प्रदर्शनी मार्ग र भृकुटीमण्डप क्षेत्रमा पार्टीका प्रतिनिधिको भीड देखिन्थ्यो । काठमाडौँ शहरैभरि कांग्रेसको चार तारा र चुनाव चिह्न रुख अंकित झण्डा टाँगिएका थिए । उता प्रचारप्रसारजन्य सामग्रीले प्रदर्शनी मार्गको फुटपाथ छेउ पूरै ढाकिएको थियो ।
अघिल्लो दिन मात्रै महाधिवेशन अन्तर्गतको निर्वाचनका लागि मनोनयन दर्ता गरिएको थियो । समूहमा भेला भएका प्रतिनिधिहरू चिया पसलमा बसेर पत्रपत्रिका पढिरहेका देखिन्थे । पत्रपत्रिकाको आवरण पृष्ठमा छापिएको महाधिवेशन विशेष समाचार नै उनीहरूको रोजाइको विषय बनेको थियो । सभापति पदका लागि प्यानल नै बनाएर शेरबहादुर देउवा, डा. शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले उम्मेद्वारी दिएका थिए । पार्टीको नेतृत्व तहमा पुग्न यति धेरै हाँगा लागेको देखेर कतिपय प्रतिनिधि चिन्तित देखिन्थे । गुटलाई अन्त्य गरिनुपर्ने भाव उनीहरूले गरेको कुराकानीबाट सुन्न सकिन्थ्यो । कपितयले वरिष्ठ नेता रामचन्द्र पौडेलको बहिर्गमनको विषयलाई मुद्दा बनाएर गफ गरिरहेका देखिन्थे । कतिपय चुनाव दुई चरणमा मात्रै सकिने भयो भन्ने सम्झी दिक्दारी मनाइरहेका देखिन्थे । तैपनि जिल्लाजिल्लाबाट आएका प्रतिनिधिहरूले चुनावको प्रचारप्रसार भने रोकेका थिएनन् ।
प्रतिनिधिहरू आफूलाई मन पर्ने उम्मेद्वारहरूको प्रचारप्रसारमा तन, मन र धन लगाएर जुटिरहेका देखिन्थे । कतिपयले स्पीकरबाट गीत बजाएर आफ्ना प्रिय उमेद्वारलाई मतदान गर्न आग्रह गरिरहेका थिए । कोही भने बाजागाजा र झाँकीसहित नै प्रचारप्रसारमा उत्रिएका थिए । कतिपयले प्रचारप्रसारको सामग्रीलाई टाउकामा टोपी बनाइ लगाएका थिए भने कतिपयले छाती र ढाड नै छोपिने गरी प्रचारका सामग्री लगाएर हिँडेका थिए । केहीले प्रचारप्रसार स्वरूप सडकमा थुप्रिएका प्रचार सामग्री र फोहोर व्यवस्थापन गर्न लागेका देखिन्थे ।
महाधिवेशनमा भीडभाड देखेर बदाम व्यापारी पनि प्रदर्शनी मार्ग आई बसेका छन् । उनीहरूलाई महाधिवेशनमा कसले जित्ला भन्नेमा खासै वास्ता छैन । वास्ता छ त भीडले बदाम किनिदेओस् र थोरै भएपनि पैसा जुटाउन पाइयोस् । त्यस्तै आशा लिएर अरु कपडा तथा फलफूल व्यापारी पनि भृकुटीमण्डप नजिकै आई बसेका छन् ।
तस्बिर : शिव गौतम